पोखरा ।  साविक उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले १८औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबसँगको भेट पक्का गरेको छ । आहा राराको चारपटकको समेत उपविजेता रहेको आर्मीले मंगलबार अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन लिग प्रतिद्धन्द्धी संकटा क्लबमाथि ३–० को सानदार जित निकाल्दै सेमिफाइनलमा मनाङसँगको भेट पक्का गरेको हो । पाँच पटकको च्याम्पियन मनाङले आइतबार झापा–११ फुटबल क्लबलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो । यि दुई टोलीबीचको सेमिफाइनल खेल बिहीबार हुनेछ ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा आर्मीको जितमा सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले गोल गरे । पहिलो हाफमा बल पोजेसनमा संकटासँग दवावमा खेलेको आर्मीले १६औं मिनेटमा पहिलो पोस्ट आक्रमण बुन्दै गोल गर्न सफल भएको थियो । १६औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले डिफेन्डर अमित तामाङलाई छलाउँदै दिएको पासमा सुदिलले वान टचमा उत्कृष्ट फिनिस गर्दा संकटाका गोलरक्षक राजाबाबु थापाको बचाउने प्रयास सफल हुन सकेन । त्यसअघि १५औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिक दोस्रो बारबाट थोरै बाहिरिदा संकटा अग्रता लिनबाट चुकेको थियो ।

३०औं मिनेटमा सेसेहाङ आङदेम्वेको पासमा अनमार्क रहेका नवयुग श्रेष्ठले अवसर पाएपनि उनको प्रहार आकासिदा आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो । ४१औं मिनेटमा ड्याडी जुनियर वाम्वाको पेनाल्टी बक्स बाहिरको प्रहार आकासिदा संकटा बराबरीबाट चुक्यो । पहिलो हाफमा १–० को अग्रता लिएको पाँच राष्ट्रिय खेलाडीले सुसज्जित आर्मीले दोस्रो हाफमा पनि सोहि लयलाई निरन्तरता दिँदै दुई गोल थप्यो ।

दोस्रो हाफको मध्यसम्म खेल बराबरी ल्याउने प्रयास गरेपनि संकटामाथि पुनः गोल थपिएपछि संकटा संकटमा प¥यो । ५९औं मिनेटमा जर्जप्रिन्स कार्कीको क्रसलाई रोमन लिम्बुले ब्लक गरिदिए । लगत्तै ड्याडी जुनियर वाम्वाको क्रसलाई दीपक गुरुङले पेनाल्टी बक्समा हेडमार्फत क्लियर गर्न सफल भए ।

६०औं मिनेटमा मेसुउके इटिग्नेको प्रहरलाई आर्मीका गोलरक्षक विवश चौधरीले सहजै नियन्त्रणमा लिए । ६२औं मिनेटमा नवयुगको पासमा सन्तोष तामाङको पेनाल्टी बक्स बाहिरको प्रहार आकासिदा आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो । ६५औं मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहार पोस्टबाट बाहिरियो । ७०औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे ।

विवेक बस्नेतको कर्नरमा भरत खवासको हेडरलाई गोलरक्षक राजाबाबुले बचाएपनि डिफेन्डरले राम्ररी क्लियर गर्न नसक्दा हुलमुलमा नवयुगले जाली चुमाएका थिए । ७३औं मिनेटमा सन्तोष तामाङको सशक्त प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट पञ्च गर्दै बचाए । ६५औं मिनेटमा सुदिल राईको स्थानमा मैदान छिरेका विवेक बस्नेतले ७५ औ मिनेटमा अर्को गोल गर्दै आर्मीको जित पक्का गरे ।

पेनाल्टी बक्सबाट गरेको सशक्त प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाको हातबाट फ्लिक हुदै गोलमा परिणत भएको थियो । त्यसपछि पनि आर्मीले गोलका केही अवसर खेर फालेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा आर्मीले ३–० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । आर्मीका नवयुग श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया हात पारे ।

जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले लिगपछि एकैपटक पहिलो रोजाईका खेलाडीले खेल्दा केही तालमेल नमिल्दा केही गाह्रो भएको र दोस्रो हाफमा तालमेल मिल्दा जित निकाल्न सफल भएको बताए । ‘शुरुमा तालमेल मिलाउन गाह्रो हुदा पहिलो हाफमा स्कोर निस्किएपनि हामी कमजोर देखियौं । दोस्रो हाफमा सुधार गर्दै खेल पस्कदा जित निकाल्न सहज भयौं । विशेषगरी खेलाडी सब्सिच्युटमा हामी सफल भयौं । दोस्रो गोल निस्किएपछि हामीलाई थप सहज भयो ।’ खेलपछि प्रशिक्षक न्यौपानेले भने, ‘हामीले अहिलेसम्म आहा रारा र ‘ए’ डिभिजन लिग जित्न सकेका छैनौं । सम्भवत यो नै यो वर्षको अन्तिम प्रतियोगिता हुन सक्दछ ।

त्यसैले हामी आहा राराको नयाँ च्याम्पियन बन्दै वर्षको सुखद अन्त्य गर्नेछौं ।’ आर्मी आहा रारा गोल्डकपमा चारपटक फाइनल पुगेर पनि उपाधिबाट वञ्चित छ । यता, यो सिजन संकटालाई पहिलोपटक हेरिरहेका सल्यान खड्गीले पहिलो गोल नै हारको टर्निङ प्वाइन्ट भएको बताए । ‘हामीले शुरुमै केही राम्रो अवसर चुकायौं । उनीहरुको पहिलो आक्रमण नै गोल भएपछि हामीलाई दवाव भयो । खेलमा पछि परिसकेपछि आक्रमक रणनीतिमा खेलेपनि हामीले नतिजा आफ्नो पक्षमा पार्न सकेनौं । हामी फिनिसिङमा कमजोर देखियौं ।’ प्रशिक्षक खड्गीले भने ।

बुधबार पहिलो सेमिफाइनलमा डिफेण्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । थ्री स्टारले पाहुना टोली गान्तोक सिटी एफसीलाई तथा पुलिसले आयोजक सहारा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३