पोखरा । अंग्रेजी नयाँ वर्षको पहिलो दिन घरेलु मैदानमा मनाङ मस्र्याङ्दी भाग्यमानी ठहरिएको छ । ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० गोेलअन्तरले हराउँदै मनाङले एएएफसी कप छनोटको सम्भावना कायम गरेको हो ।
पोखरा रंगशालामा शनिबारको प्रतिस्पर्धामा बीबीसीको जितको सम्भावना टार्दै मनाङका कप्तान अन्जन विष्टले गरेको एकमात्र गोल विजयीका लागि काफी बन्यो । प्रतियोगितामा बीबीसीले पहिलो हाफमा पेनाल्टी चुकाउँदा दोस्रो हाफको प्रहार विपक्षी पोस्टको क्रसबारमा लागेर फर्किनु उसको लागि दुर्भाग्य ठहरिँदा, त्यसको फाइदा मनाङलाई भयो ।
मनाङले घरेलु मैदान पोखरा रंगशालाको यो जीतसँगै लिगमा पाँचौं जीत दर्ता गरेको छ । दुई साताअघि पनि मनाङले विभागीय नेपाल पुलिसको चुनौती ३–१ ले पन्छाएको थियो । शनिबारको यो जितसँगै १६ अंकका साथ मनाङ लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । न्यून दर्शकबीच भएको प्रतियोगितामा पहिलो हाफको इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान अञ्जनले हेड गोल गर्दै अग्रता दिलाएका थिए । दयानन्द सिंहको फ्रिकिकलाई उनले हेडमार्फत जाली चुमाउँदै महत्वपुर्ण ३ अंक दिलाए । त्यसअघि शिशिर लेखीले १७औं मिनेटमा पेनाल्टी चुकाएका थिए । मनाङका डिफेन्डर आदित्य चौधरीले बीबीसीका शिशिर लेखीलाई फल गरेपछि रेफ्रीले पेनाल्टीको अवसर दिएकोमा लेखीको प्रहार पोस्टमाथिबाट आकासिएको थियो ।
घरेलु मैदानमा मनाङले आफ्नो स्वभाविक खेल प्रस्तुत गर्न नसक्दा खेल अवधिभर दबाबमा परेको थियो । बीबीसीले दोस्रो हाफमा पनि गोलका सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेको थिएन । मनाङलाई बीबीसीसँगको खेल जित्नै पर्ने दबाबमा थियो । एएफसी कपमा सहभागिता जनाउने आफ्नो गणितीय सम्भावना कामयै राख्नसमेत मनाङलाई दिनको खेल जित्नैपर्ने दबाब थियो । मनाङका प्रशिक्षक राजेन्द्र तामाङले टिमले स्वाभाविक खेल खेल्न नसेकेको स्विकारे । टोलीलाई भाग्यले ठूलो साथ दिएको बताए । बीबीसीका प्रशिक्षक सनोज श्रेष्ठले पहिलो र दोस्रो हाफमा दुवैमा राम्रो खेलेर गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न नसकेको बताए । पेनाल्टी सदुपयोग गर्न नसक्नु र बल पोलमा लाग्नु टोलीका लागि दुर्भाग्य भएको उनको भनाइ थियो । मनाङले आठौं चरणको खेल च्यासल युथ क्लबसँग २४ पुसमा पोखरा रंगशालामै खेल्ने छ । जितपछि मनाङको १६ अंक पुगेको छ । मछिन्द्रको १४ अंक छ । एएफसी कप छनोटमा पुग्नका लागि मछिन्द्रले आइतबार हुने खेलमा नेपाल पुलिस क्लबलाई हराउनै पर्ने हुन्छ । मछिन्द्र पराजित भए वा बराबरीमा रोकिएको खण्डमा मनाङले एएफसी कपमा देशको प्रतिनिधित्व गर्नेछ । सातौं चरणको समाप्तिमा एएफसी क्लब लाइसेन्स प्राप्त क्लबमध्ये लिगको माथिल्लो स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसअघि नै सार्वजनिक गरेको थियो ।
थ्री स्टारको जित
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै थ्री स्टार अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । अघिल्लो चार खेलमा बराबरी खेलेको थ्री स्टारको जितमा आयुष घलान र ऋतिककुमार खड्काले गोल गरे । जावलाखेलका निकोलस फर्नान्डेसले एक गोल फर्काए । थ्री स्टारले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । सातौं मिनेटमा आयुषले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाए । २६औं मिनेटमा ऋषिकले गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारे । ५५औं मिनेटमा निकोलसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि थ्री स्टारले आफ्नो अग्रता जोगाउँदै ३ अंक जोड्न सफल भयो । जारी लिगमा मध्यम सुरुवात गरेको थ्री स्टारको यो दोस्रो जित हो । जितसँगै थ्री स्टार १० अंकका साथ पाँचौं स्थानमा उक्लेको छ । जावलाखेल ७ अंकसहित नवौं स्थानमा यथावत् छ ।
यस्तै संकटा क्लब र च्यासल युथ क्लबले दशरथ रंगशालामा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । च्यासलले संकटाविरुद्ध सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सय गोलको आँकडा पूरा गरेका फरवार्ड सन्तोष साहुखललाई उतारे पनि जित निकाल्न सकेन । उनी बिहीबार लिगकै लागि जापानबाट काठमाडौं आएका थिए । उनी बिहीबारदेखि नै टोलीको प्रशिक्षणमा सामेल भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलका दुवै टोलीले केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगियो । ७५औं मिनेटमा निरज बस्नेतले गोलरक्षक प्रदीप भण्डारीर्ला बिट गर्दै गरेको प्रहार सागर थापाले गोललाइनबाट क्लियर गर्दै च्यासलको संकट टारे । दोस्रो हाफको अन्त्यतिर संकटाले च्यासलाई दवावमा राखेपनि गोल गर्न सकेन । च्यासलको रक्षापङ्ति निकै व्यस्त बनेका थिए । बराबरीसँगै संकटा ७ खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा रहँदा दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । च्यासल ७ खेलबाट ५ अंक जोडेर रेलिगेसन जोनको १३औं स्थानमा रहेको छ ।
अंक तालिका
क्रस टिम खेल जित बराबर हार गोल अन्तर अंक
१ मनाङ ७ ५ १ १ १०–४ (+६) १६
२ मछिन्द्र ६ ४ २ ० ८–१ (+७) १४
३ संकटा ७ ३ ४ ० ९–४ (+५) १३
४ आर्मी ७ २ ५ ० ६–३ (+३) ११
५ थ्री स्टार ७ २ ४ १ ६–३ (+३) १०
६ एनआरटी ७ २ ४ १ ९–८ (+१) १०
७ सातदोबाटो ६ २ २ १ ६–५ (+१) ८
८ शेर्पा ६ २ २ २ ८–८ (०) ८
९ जावलाखेल ७ २ १ ५ ४–६ (–२) ७
१० पुलिस ६ १ ३ २ ४–६ (–२) ६
११ एपीएफ ७ १ ३ ३ १०–१३ (–३) ६
१२ बीबीसी ७ १ २ ४ ४–१० (–६) ५
१३ च्यासल ७ १ २ ४ ३–१० (–७) ५
१४ फ्रेन्ड्स ७ ० ३ ४ ५–११ (–६) ३






