काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती थपिएको छ ।
१९ पद, ४३ उम्मेदवार
२० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेकातर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ । तर, गठबन्धनसहित अघि बढेका सत्तारूढ दललाई राष्ट्रिय सभा निर्वाचनमा थप नाफा हुने देखिँदा एमालेलाई भने चुनौती थपिएको हो ।
निर्वाचन आयोगले सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य विभिन्न समूह गरी १९ सिटका लागि १२ माघमा निर्वाचन गराउन लागेको छ । सोही प्रयोजनका लागि मंगलबार आयोगले उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेकोमा सातै प्रदेशमा गरी ४३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट पाँच जना, नेकपा (एकीकृत समाजवादी) बाट पाँच जना, जनता समाजवादी पार्टी नेपालबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना, नेपाल मजदुर किसान पार्टीबाट दुई जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाको उममेदवारी परेको हो ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेकातर्फबाट रिक्त हुने सिटमासमेत भागबन्डा गरेर जाने निर्णय गरेपछि एमाले भने एक्लै अघि बढेको छ ।
गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका आठ सिटमा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक सिट पाउने गरी सहमति भएको हो । १९ पद रिक्त हुँदा भएको भागबन्डामा कांग्रेसको भागमा ६ सिट, माओवादी केन्द्र र नेकपा एसले पाँच÷पाँच सिट तथा जसपालाई दुई र जनमोर्चालाई एक सिट परेको हो ।
गठबन्धनमा रहेका दलबीच भएको सहमति कार्यान्वयन भए कांग्रेसले पुरानो सिटलाई आफ्नो पक्षमा कायम राख्दै थप तीन सिट नाफामा हुनेछ । यस्तै, माओवादी केन्द्र र नेकपा एस एक÷एक सिट नाफामा हुनेछन् भने जसपा र राष्ट्रिय जनमोर्चा सबैभन्दा बढी नाफामा पर्नेछन् ।
कुल ५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४, उपाध्यक्षसहित माओवादीका १४, कांग्रेसका सात, एकीकृत समाजवादीका सात, जसपाका दुई, लोकतान्त्रिक समाजवादीबाट एक, स्वतन्त्र एक र मनोनीत तीन जना सदस्य छन् ।
१२ माघमा हुने निर्वाचनमा स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता कायम भएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
कुन प्रदेशमा कति जना उम्मेदवार ?
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा महिलातर्फको रिक्त हुने एक सिटका लागि तीन जनाको उम्मेदवारी परेको छ । यस्तै, सो प्रदेशमा अपांगता भएका वा अल्पसंख्यकतर्फ दुई जनाको उम्मेदवारी परेको छ भने अन्य समूहतर्फ तीन जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश १ मा रिक्त हुने तीन पदमा सबै गरी आठ जनाको उम्मेदवारी परेको हो । जसमा तीनै समूहबाट गरी एक÷एक जना अर्थात् कुल तीन जना निर्वाचित हुनेछन् ।
यसैगरी, प्रदेश २ मा महिला समूहतर्फ तीन जना तथा अन्यतर्फ दुई जनाको गरी पाँच जनाको उम्मेदवारी परेको छ । प्रदेश २ मा दुवै समूहबाट गरी दुई जना निर्वाचित हुनेछन् ।
यसैगरी, बाग्मती प्रदेशमा महिलातर्फ तीन र अन्यतर्फ समेत ३ गरी ६ जनाको उम्मेदवारी दर्ता भएको छ । बाग्मतीमा दुई पद रिक्त हुँदै छ ।
यसैगरी, गण्डकी प्रदेशमा महिला समूहतर्फ दुई जना, दलिततर्फ दुई जना र अन्य समूहतर्फ दुई जना गरी ६ जनाको उम्मेदवारी दर्ता भएको छ । यी सबै समूहबाट एक÷एक जना गरी तीन जना यो समूहबाट निर्वाचित हुनेछन् ।
लुम्बिनीमा पनि महिलातर्फ दुई, दलिततर्फ दुई र अन्यतर्फ दुई जना गरी जम्मा ६ जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा यी तीनै समूहबाट एक÷एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।
यसैगरी, कर्णाली प्रदेशमा महिलातर्फ दुई जना, अपांगता भएका वा अल्पसंख्यकतर्फ दुई जना र महिलातर्फसमेत दुई जनाकै उम्मेदवारी परेको छ । यी तीनै समूहबाट एक÷एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा महिलातर्फ दुई, दलिततर्फ दुई र अन्य समूहतर्फ दुई जना गरी ६ जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा तीनै समूहबाट एक÷एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।
कुन प्रदेशमा कति छ मतभार ?
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ९२ जना प्रदेश सभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख गरेर २७२ जना मतदाता छन् । सो प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ४ सय १६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुखको मतभार ४ हजार ८ सय ९६ छ । यी दुवैतर्फ गरेर प्रदेश १ मा कुल मतभार ९ हजार ३ सय १२ हुन्छ ।
यसैगरी, प्रदेश २ मा जम्मा ९ हजार ८ सय १६ मतभार छ । प्रदेश २ मा प्रदेश सभा सदस्य १ सय ४ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन् । प्रदेश सभाका सदस्यको कुल मतभार ४ हजार ९ सय ९२ हुन्छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जनाको मतभार ४ हजार ८ सय २४ हुन्छ ।
यस्तै, बाग्मतीमा प्रदेशमा प्रदेश सभा सदस्य १ सय ९ जना छन्, । उनीहरूको मतभार ५ हजार २ सय ३२ हुन्छ । यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन् । उनीहरूको मतभार ४ हजार २ सय ६६ हुन्छ । दुवैतर्फका गरी बाग्मती प्रदेशमा कुल मतभार ९ हजार ४ सय ९८ रहेको छ ।
यसैगरी, गण्डकीमा प्रदेशमा ५ हजार ८ सय ९२ कुल मतभार छ । जसमा प्रदेश सभा सदस्य ५९ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७० जना छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा ७ हजार ७ कुल सय ५८ मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ८१ जना तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना रहेको निर्वाचन आयोगले जनाएको हो ।
कर्णाली प्रदेशमा ४ हजार ४ सय ८८ कुल मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ३५ जनाको मतभार १ हजार ६ सय ८० तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ५६ जनाको मतभार २ हजार ८ सय ८ छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा कुल मतभार ५ हजार ६ सय ४६ छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ५२ जनाको मतभार २ हजार ४ सय ९६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७५ जनाको मतभार ३ हजार १ सय ५० छ ।
सातै प्रदेशमा उम्मेदवारी दर्ता
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न गरेको छ ।
आयोगले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बाग्मती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता कार्यक्रम तय गरेको थियो ।
दर्ता भएका उम्मेदवारविरुद्ध आयोगले बुधबार उजुरी दिन सकिने जनाएको छ । यस्तै, २२ देखि २३ पुससम्ममा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने र २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगको निर्वाचन तालिका छ ।
कुन दलबाट कहाँ कोको उम्मेदवार ?
नेपाली कांग्रेस
प्रदेश १ ः गोपालकुमार बस्नेत
बाग्मती प्रदेश ः कृष्णप्रसाद पौडेल
गण्डकी प्रदेश ः कमला पन्त
लुम्बिनी प्रदेश ः युवराज शर्मा
कर्णाली प्रदेश ः दुर्गाकुमारी गुरुङ
सुदूरपश्चिम प्रदेश ः नारायण मिश्र
माओवादी केन्द्र
प्रदेश २ ः उर्मिला अर्याल
गण्डकी प्रदेश ः सुरेश आलेमगर र भुवनबहादुर सुनार
कर्णाली प्रदेश ः नरबहादुर विष्ट
सुदूरपश्चिम प्रदेश ः जगतबहादुर पार्की
नेकपा एकीकृत समाजवादी
प्रदेश १ ः जयन्ती राई,
बाग्मती प्रदेश ः गोमादेवी तिमिल्सिना
लुम्बिनी प्रदेश ः राजेन्द्रलक्ष्मी गैरे
कर्णाली प्रदेश ः उदय बोहरा
सुदूरपश्चिम प्रदेश ः मदनकुमारी साह (गरिमा)
जनता समाजवादी पार्टी (जसपा)
प्रदेश १ ः हेमराज राई
प्रदेश २ ः महमद खालिद
राष्ट्रिय जनमोर्चा
लुम्बिनी प्रदेश ः तुलप्रसाद विश्वकर्मा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
प्रदेश २ ः रूपाकुमारी यादव
एमालेबाट १९ सिटमै उम्मेदवार
प्रदेश १ ः अन्यतर्फ गुरुप्रसाद बराल, महिलाबाट सुमित्रा सुवेदी भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पा
प्रदेश २ ः अन्यतर्फ उसमान अन्सारी, महिलाबतर्फ बिना देवी
बाग्मती प्रदेश ः अन्यतर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर
गण्डकी प्रदेश ः अन्यतर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल थनेत, दलिततर्फ अर्जुनकुमार सुनाम
लुम्बिनी प्रदेश ः अन्यतर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार
कर्णाली प्रदेश ः अन्यतर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी
सुदूरपश्चिम प्रदेश ः अन्यतर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलिततर्फ नरेशकुमार विश्वकर्मा
राप्रपा
प्रदेश १ ः रञ्जु प्याकुरेल र अमरबहादुर विष्ट
नेमकिपा
बाग्मती प्रदेश ः गीता काफ्ले र कृष्णबहादुर तामाङ
क-कसको पदावधि सकिँदै छ
प्रदेश १
अगमप्रसाद बान्तवा राई
नैनकला ओझा
परशुराम मेघी गुरुङ
प्रदेश २
शशिकला दाहाल
सुमनराज प्याकुरेल
बाग्मती प्रदेश
राधेश्याम अधिकारी
उदया शर्मा पौडेल
रामनारायण बिडारी (राष्ट्रपतिबाट मनोनीत)
गण्डकी प्रदेश
खिमबहादुर विक
दीनानाथ शर्मा
शान्तिकुमारी अधिकारी जिसी
लुम्बिनी प्रदेश
दृगनारायण पाण्डे
रामलखन चमार
कोमल वली
कर्णाली प्रदेश
कविता बोगटी
जीवन बुढा
ठगेन्द्रप्रकाश पुरी
सुदूरपश्चिम प्रदेश
चक्र स्नेही
तारादेवी भट्ट
शेरबहादुर कुँवर
कुल मतदाता २०२५
मतभार
प्रदेश सांसद ४८
पालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष १८÷१८
कुन प्रदेशमा कसका सांसद कति ?
प्रदेश १
नेकपा (एकीकृत समाजवादी) १०
नेकपा माओवादी केन्द्र १५
नेपाली कांग्रेस २१
नेकपा एमाले ४१
जसपा ३
राप्रपा १
संघीय समाजवादी फोरम १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १
कुल प्रदेशसभा सदस्य ९३
(प्रदेश सभा सदस्यको संख्या हेर्दा प्रदेश १ मा गठबन्धन र एमालेबीचको मतभार ३ सय ८४ मात्रै ।
प्रदेश २
जसपा ३९
लोसपा १६
नेकपा (एकीकृत समाजवादी) १३
नेकपा माओवादी केन्द्र ८
नेपाली कांग्रेस १९
नेकपा एमाले ८
नेपाल संघीय समाजवादी पार्टी १
कुल प्रदेशसभा सदस्य १०४
बाग्मती प्रदेश
नेकपा (एकीकृत समाजवादी) १४
नेकपा माओवादी केन्द्र २३
नेपाली कांग्रेस २२
नेकपा एमाले ४३
विवेकशील साझा ३
राप्रपा २
नेमकिपा २
कुल प्रदेशसभा सदस्य १०९
(बाग्मतीका प्रदेश सभा सदस्यको संख्याअनुसार एमालेभन्दा गठबन्धन ७ सय ६८ मतभारले अगाडि)
गण्डकी प्रदेश
नेकपा माओवादी केन्द्र १२
नेपाली कांग्रेस १५
नेकपा एमाले २७
जसपा २
जनमोर्चा २
स्वतन्त्र १
कुल प्रदेशसभा सदस्य ५९
प्रदेशसभा सदस्यको संख्याअनुसार गण्डकीमा एमालेभन्दा गठबन्धनको मतभार १ सय ९२ ले अगाडि । यहाँ स्वतन्त्र सासंद दीपक मनाङेले गठबन्धनलाई सघाए ४८ मतभार थप हुनेछ ।)
लुम्बिनी प्रदेश
कुल प्रदेशसभा सदस्य ८१
नेकपा (एकीकृत समाजवादी) १
नेकपा माओवादी केन्द्र १९
नेपाली कांग्रेस १९
नेकपा एमाले ३७
जसपा ४
जनमोर्चा १
(प्रदेश सभा सदस्यको संख्याअनुसार लुम्बिनीमा एमालेभन्दा गठबन्धन ३ सय ९६ मतभारले अगाडि)
कर्णाली
नेकपा (एकीकृत समाजवादी) ३
नेकपा माओवादी केन्द्र १२
नेपाली कांग्रेस ६
नेकपा एमाले १३
राप्रपा १
कुल प्रदेशसभा सदस्य ३५
कर्णालीमा प्रदेश सभा सदस्यको संख्यालाई आधार मान्दा एमालेभन्दा गठबन्धन ३ सय ८४ मतभारले अगाडि ।
सुदूरपश्चिम
नेकपा (एकीकृत समाजवादी) १४
नेकपा माओवादी केन्द्र १३
नेपाली कांग्रेस १२
नेकपा एमाले ११
जनता समाजवादी पार्टी (जसपा) १
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १
कुल प्रदेशसभा सदस्य ५२
(सुदूरपश्चिममा प्रदेश सभा सदस्यहरूको संख्यालाई आधार मान्दा एमालेभन्दा गठबन्धन १ हजार ३ सय ९२ मतभारले अगाडि)
मतदाता र मतभारको अवस्था यस्तो छ
प्रदेश १
कुल प्रदेश सभा सदस्य ९३ (एक जना फरार)
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २७२
जम्मा मतभार ९३१२
प्रदेश २
कुल प्रदेश सभा सदस्य १०४
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २६८
जम्मा मतभार ९८१६
बाग्मती
कुल प्रदेश सभा सदस्य १०९
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २३७
जम्मा मतभार ९४९८
गण्डकी
कुल प्रदेश सभा सदस्य ५९
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १७०
जम्मा मतभार ५८९२
लुम्बिनी
कुल प्रदेश सभा सदस्य ८१
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २१५
जम्मा मतभार ७७५८
कर्णाली
कुल प्रदेश सभा सदस्य ३५
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १५६
जम्मा मतभार ४४८८
सुदूरपश्चिम प्रदेश
कुल प्रदेश सभा सदस्य ५२
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १७५
जम्मा मतभार ५६४६






