काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लले आफू नै सधैंभर राष्ट्रिय टोलीको कप्तान बन्नुपर्छ भन्ने नभएको प्रतिक्रिया दिएका छन् । मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आफ्नो प्रशिक्षणको पहिलो दिन सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफू सधैंलाई कप्तान हुन पनि नआएको, पहिला पनि खेलिरहेको र अहिले देश, आफू र परिवारका लागि खेल्नु नै आफ्नो लक्ष्य रहेको बताएका हुन् ।
गत २९ मंसिरमा नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्रलाई अनुशासन बाहिर गएको भन्दै उनलाई कप्तानबाट हटाउँदै र उनीसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमै नराख्ने निर्णय गरेको थियो । २०२१ को अन्तिम ६ महिना ग्रेडलाई लिएर एक मिडियामा असन्तुष्टि जनाएपछि खेलाडी र क्यानबीचको विवादले चर्काे रूप लिएको थियो । सोही कारण क्रिकेट टोलीको बन्द प्रशिक्षण नै प्रभावित बन्न पुगेको थियो । आइतबार क्यान र खेलाडीबीच सहमति भएपछि बन्द प्रशिक्षण सुरु भएको थियो ।
क्यानले ज्ञानेन्द्रलाई हटाउँदै सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त गरेको थियो । ‘पहिला त कप्तानबाट हटाएको सुन्दा अलिक दुःख लाग्यो । यत्रो वर्ष क्रिकेटलाई दिए, विनाकारण मुद्दा निकालेर यस्तो गरे । बिना कारण निकालेर त्यसो गर्दा व्यक्तिगत रूपमा केही समय गाह्रो भएको थियो ।’ पूर्वकप्तान ज्ञानेन्द्रले भने, ‘कहिले पनि बोर्डविरुद्ध जाने सोचेर गरेको होइन । त्यो गर्ने भए अरू बाटो अपनाइन्थ्यो होला, खेल्दैनथ्यौं होला । यत्रो वर्ष केही नहुँदा खेलेका थियौं ।
अहिले त सम्मानजनक स्थिति छ । त्यो हुँदा अझ थप्नु प¥यो भन्दा आरोप लाग्यो । त्यो नै एउटा आत्मासम्मानको कारण मलाई अलि अप्ठ्यारो प¥यो ।’ ‘जीवनमा सधैं अघि बढ्नुपर्छ । म सधैंभरिलाई कप्तान हुन पनि आएको होइन । र हुनुपर्छ भन्ने पनि होइन’ उनले थपे । ‘हामी बाहिरभन्दा पनि यो समस्याभित्र बसेर सुल्झाउन चाहिरहेका थियौं । सबै कुरा बाहिर राखेर नेपाली क्रिकेटका लागि र भविष्यका लागि हामी सबै एक ठाउँ बसेर अघि बढ्नुपर्छ । महत्वपूर्ण प्रतियोगिता आएको छ ।
त्यसका लागि भए पनि सबै एकजुट हुनुपर्छ, विवादभन्दा पनि एउटा असन्तुष्टि हो । हाम्रो मुख्य लक्ष्य विश्वकप खेल्ने हो । त्यसैले खेलमा ध्यान केन्द्रित हुनुपर्छ जस्तो लाग्छ’ ज्ञानेन्द्रले भने । ‘मलाई एक अर्कासँग अथवा बोर्डसँग दुस्मनीे लिएको छैन । हामी सबै विगत १०–१२ वर्षदेखि सँगै र घरेलु क्रिकेटमा खेल्दै आएका छौं । त्यस्तो मनमुटाव कसैसँग छैन । हुने भएको भए यहाँ कोही पनि हुने थिएन’ उनले भने । क्यानले स्पष्टीकरण सोधेपछि ज्ञानेन्द्रसहित १९ खेलाडीले क्यानलाई ११ बुँदे मागसहितको पत्र पठाएका थिए ।
त्यो माग के थियो भन्ने प्रश्नमा उनले भने, ‘हामीले पहिलादेखि नै भत्ता कम भयो भनिरहेका थियौं । वर्गीकरण भयो । तर, हामीलाई जानकारी नै गराइएन । खेलाडीलाई वर्गीकरण’bout कुनै पनि कागज दिएको थिएन, बिमाको कुरा थियो । खेलाडीको रिह्याबको कुरा थियो । कतिपय खेलाडीले पूरा रिह्याब पनि पाएका थिएनन् ।’ ‘त्रिकोणात्मक सिरिज विजेता भयौं । मलाई जहाँसम्म लाग्छ सरकारलाई पहल गर्नुपर्नेमा ढिलो चाँडो के भयो ।
नेपाल टेलिकमको यसअघिको प्रायोजनमा २० प्रतिशत छुट्याएको थियो । अहिले केही छ कि छैन भन्ने कुरा राखेका थियौं ।’ ‘हाम्रो सेवासुविधा बढाउने भनिएको छ । सेवा सुविधा हामीलाई भन्दा पनि राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीलाई थप्दा हुन्छ । ग्रेडिङ तलब एउटा सम्मान पनि हो । खेलाडीका लागि समावेश गरौं । मुख्यतः हामीले ओमान भ्रमणमा गएका तीन खेलाडी वर्गीकरणमा छुटेको छ भनेका थियौं । उनीहरूले बोर्डबाट पारित गर्ने भनेका छन्, हेरौं राम्रो नै हुनेछ ।






