सप्तरी, राजविराज । राजविराज नगरपालिका ५ का शम्भुप्रसाद उपाध्याय पुस १७ गते शनिबार बिहान ७ बजेतिर बजारबाट आउछु भन्दै घरबाट निस्के । तर, बिहीबारसम्म फर्केका छैनन् ।
उनी वेपत्ता भएकै दिन साँझ श्रीमती बिमलाले पतिको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दिइन् । तर, आजसम्म उनको अवस्था पत्ता लागेको छैन् ।
उक्त दिन नयाँ अंग्रेजी वर्ष समेत परेकाले कतै पिकनिक मनाउन गएको अनुमान गरेका परिवारजनले राती अबेरसम्म उनी फर्केर नआउदा आफ्नो स्तरबाट पनि खोजतलास सुरु गरे ।
तर, अहिलसम्म उनको पत्तो नलागेको श्रीमती बिमलाले सुनाइन् । उनले पतिको अवस्था पत्ता लगाउने कार्यमा सहयोग गरिदिन संचारकर्मी र अधिकारकर्मीलाई पनि आग्रह गरेकी छिन् ।
वडा सदस्य गंगासागर गुप्ताले उनको केही दिनयता मानसिक अवस्था ठिक नरहेको जानकारी आफूहरुलाई प्राप्त भएको बताउँदै यतिका दिन बितिसक्दा पनि उनको अवस्था पत्ता नलाग्नु चिन्ताको विषय भएको बताए ।
उपाध्यायको अवस्था पत्ता लगाउन मातहतका सबै प्रहरी कार्यालयमा निजको हुलिया विवरण पठाई खोजतलास तिब्र बनाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






