जनकपुरधाम । प्रदेश २ को नाम मधेश प्रदेश राखिएको विरोधमा जनकपुरधामका युवाहरुले प्रदेशसभा सदस्यहरुको पुतला दहन गरेका छन् । ८ जिल्लाको प्रदेशलाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै युवाले विरोध गरेका हुन् ।
युवा नेता सुशील कर्णको अगुवाईमा युवाहरुले ८ जिल्लाको प्रदेशलाई मधेश प्रदेश नमान्ने चेतावनी दिएका हुन् । जनकपुरधामस्थित जानकी चोकमा पुतला दहन गरिरहँदा युवाहरुले प्रदेश सांसद मुर्दावाद, ८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौँ, पहिचानसहितको मिथिला भोजपुरा प्रदेश नामाकरण गर लगायतका नाराहरु लगाएका थिए ।
युवा नेता कर्णले यो ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले नामाकरण पनि सोही पहिचानको आधारमा हुनुपर्ने माग गरे । ‘यो ८ जिल्ला मात्रै मधेश होइन,’ कर्णले भने, ‘२२ जिल्लासहित मधेश प्रदेश नामाकरण गरे हामीलाई स्वीकार छ, नभए यहाँको पहिचान सहित मिथिला भोजपुरा नामाकरण हुनुपर्छ ।’ ८ जिल्लाको प्रदेशलाई मात्रै मधेश प्रदेश नामाकरण गरेर प्रदेशसभा सदस्यहरुले अदूरदर्शिता देखाएको उनले आरोप लगाए । प्रदेशको नामाकरणको सवालमा पुनर्विचार नभए यो संघर्ष निरन्तर जारी रहने उनको भनाइ थियो ।






