हत्या भएको ६ महिनापछि शव भेटियो

सांकेतिक तस्वीर

रोल्पा । वेपत्ता भएको ६ महिनापछि स्थानीय ठाकुर नेपालीको कंकाल फेला परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४५ वर्षिय ठाकुर नेपाली गत असार २३ गते बेलुकी देखि वेपत्ता भएका थिए । छिमेकीको घरमा रक्सी लिन गएका ठाकुर वेपत्ता भएपछि छिमेकी लोकेन्द्र खड्काले यसअघि नै हत्या गरेको स्वीकोरे तापनि शव अझैसम्म पनि भेटिएको थिएन ।

माघ २ गते बिहान ७ बजे रोल्पा त्रिवेणी गा.पा.वडा नं. ६ निम्टेखोला स्थित लौटे भिर देखि तलको पाखोमा रुखमुनी मानवको कंकाल (हड्डी) फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात इलाका प्रहरी चौकी जुगारबाट चौकी इन्चार्ज सइ नन्दकुमार पोख्रेल नेतृत्वको टोलीले घटना स्थलमा पुगेको थियो । लगत्तै इलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट प्रहरी निरीक्षक जिवराज थापा क्षेत्री सहितको अनुसन्धान टोली खटिएको टोलीले घटनास्थलमा मानवको जस्तो देखिने हड्डीहरु नजिकै हाफपाईन्ट, टि–सर्ट, लाभा कम्पनिको मोबाईल सेट र टर्च लाईट फेला परेको थियो । उक्त टर्च लाईट, मोवाइल सेट, कपडाहरू आफ्नो श्रीमान ठाकुर नेपालीको रहेको भन्दै ठाकुर नेपालीकी श्रीमती हिमा नेपालीले सनाखत गरेकी थिइन । घटनास्थलको मुचुल्का पश्चात मानव कंकाल (हड्डि) परीक्षणको लागि संकलन गरी त्रि.वि. शिक्षण अस्पताल महाराजगंज पठाउने कार्य भई रहेको र अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव निरीक्षक पोखे्रलले बताए ।

ठाकुर नेपाली गएको असार २३ गते साँझ ६ बजे तिर आफ्नै छिमेकी लोकेन्द्र खड्काको घरमा गएकोमा उक्त दिन देखि ठाकुर नेपाली आफ्नो घरमा नआई हराई वेपत्ता भएका थिए । आफ्नो श्रीमान वेपत्ता भएपछि श्रीमती हिमा नेपालीले प्रहरी चौकी जुगारमा खोजतलास गरी पाउँ भनी असार २८ गते हुलिया निवेदन दिएकी थिइन । प्रहरीमा निवेदन प्राप्त भए पश्चात हराएका ठाकुर नेपालीको अवस्थाको सम्बन्धमा प्रहरी, स्थानीय वासिन्दा र आफन्तले खोजतलास सुरु गरेका थिए । श्रीमती हिमा नेपालीको जाहेरी अनुसार र अनुसन्धानको क्रममा ठाकुर नेपालीलाई रोल्पा त्रिवेणी गा.पा. वडा नं. ६ वस्ने ३५ वर्षीय लोकेन्द्र खड्का उनको श्रीमती ४५ वर्षीया गौमाया घर्ति (खड्का)को संलग्नतामा वेपत्ता वनाएको देखिएको भन्दै व्यक्ति वेपत्ता सम्बन्धी कसूरमा मुद्दा चलाईएको थियो । रोल्पा जिल्ला अदालतमा उक्त मुद्दा पेस गर्दा अदालतको साउन २९ गतेको आदेशले लोकेन्द्र खड्का पुर्पक्षको लािग कारागार कार्यालय रोल्पामा थुनामा रहेका छन् भने श्रीमती गौमाया घर्ति (खड्का) ७५ हजार रुपैयाँ धरौटिमा छुटेकी थिइन् ।

आरोपित खड्काले हत्या गरेर शव गाडेको ठाउँ कहिले कता कहिले कता देखाए पनि ती ठाउँमा खोज्दा कतै फेला परेको थिएन । आरोपितले भनेको ठाउँमा तालिमप्राप्त कुकुरसहित खोजविन गर्दा पनि शव फेला परेको थिएन । विपन्न दलित परिवारमा रुपमा रहेको उनको परिवारमा ठाकुर वेपत्ता भएपछि परिवारमा जटिल समस्या सिर्जना भएको छ । उनको घरमा सानी छोरी र विरामी एक आमा रहेको ठाकुरका बुवा झुप्पल दमाइले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 450 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग