युवा संघमा समानान्तर कमिटी गठन गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद चर्किएको छ । संघभित्र विवाद चर्किएपछि असन्तुष्ट पक्ष समानान्तर कमिटी गठन गर्ने आन्तरिक तयारीमा जुटेका छन् ।

गत २८ र २९ पुसमा पोखरामा बसेको सचिवालय बैठकबाट संघको नवौं महाधिवेशन आयोजक कमिटीको घोषणा भएको थियो । एमाले पोलिटब्युरो सदस्य एवं संघका इन्चार्ज महेश बस्नेतले एकलौटी रूपमा आयोजक कमिटी घोषणा गरेको भन्दै चर्काे विरोधसमेत भएको थियो ।

किरण पौडेलको संयोजकत्वमा घोषणा गरिएको आयोजक कमिटीको सहसंयोजक सञ्जीव झा, क्रान्ति बुर्लाकोटी कार्यालय सदस्यमा कृष्णहरि केसीलगायतको नाम इन्चार्ज बस्नेतले घोषणा गरेपछि असन्तुष्ट नेताहरू बैठक बहिष्कार गरेर पोखराबाट हिडेका थिए ।

९ वर्षअघि बुटवलमा युवा संघको आठौं महाधिवेशन भएको थियो । सो महाधिवेशनबाट बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । निरज आचार्यलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका बस्नेतमाथि त्यसयता संघमा एकलौटी गर्दै आएको आरोप लाग्दै आएको छ ।

संघको अध्यक्ष हुँदै अहिले इन्चार्जको जिम्मेवारीमा रहेका बस्नेतमाथि युवा संघलाई संघको विधानअनुसार कहिल्यै चलाउन नचाहेको आरोप लाग्दै आएको छ । यसबीचमा संघको विधानअनुसार महाधिवेशन नै नभई ९ जना अध्यक्ष बनाउने काम भएको छ ।

इन्चार्ज बस्नेतको एकलौटी रूपमा आयोजक कमिटी गठन, सचिवालय गठनलगायतका निर्णयप्रति आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका संघका असन्तुष्ट नेताले पार्टीका शीर्ष नेतालाई भेटेरै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा संगठन प्रमुख भानुभक्त ढकाललगायतका शीर्ष नेतालाई भेटेर उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका हुन् । आफूहरूको माग सुनुवाई नभएपछि संगठनलाई बचाउन बाध्य भएर समानान्तर कमिटी गठन गर्न लागिएको उनीहरूको भनाइ छ ।

‘हामीले पार्टी अध्यक्ष, महासचिव, संगठन विभाग प्रमुख, मोर्चा संगठनका प्रमुखलगायतका शीर्ष नेतालाई भेटेरै ध्यानाकर्षण गराइसकेका छौं, कतिपय नेताहरू कोरोना संक्रमित समेत भएकाले उहाँहरूले पर्खिन आग्रहसमेत गर्नुभएको छ,’ संघका उपाध्यक्ष रोशन बस्नेतले भने ।

पोखरा बैठकको मनोमानी निर्णय नसच्याए इन्चार्ज बस्नेतविरुद्ध नै समानान्तर आयोजक कमिटी बनाउने उनीहरूको तयारी छ । संघका उपाध्यक्ष अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे (उज्वल), रवीन थापा, कुमार हुमागार्इं, उपमहासचिव प्रकाश गौतम, राजन थापा, शिवचन्द्र सिंह, सुमित्रा बोगटी, बेगबहादुर पाण्डे, मिलन सिंह, राकेश लामालगायतका नेताले पोखरामा भएको बैठक बहिष्कार गरेका थिए । बैठक बहिष्कारपश्चात् उनीहरूले पार्टी शीर्ष नेतालाई लिखित रूपमै उजुरी दिँदै निर्णय सच्याउन माग गरेका छन् ।

‘पोखरामा भएको सचिवालय बैठकमा कोरम नै पुगेको थिएन, त्यहाँ संगठनको विधि पद्धति र निर्णय प्रक्रिया’bout कुरा उठेपछि हामीलाई छलेर बैठक सकिएको र निर्णय भएको कुरा सुनाइयो, जो बैठकबाट निर्णय भएको थिएन, कुनै एउटा होटलमा बसेर दुई–तीन जनाले निर्णय गरेका थिए,’ उपाध्यक्ष बस्नेतले भने ।

आगामी ११ फागुनमा संघको नवौं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेर आयोजक कमिटी बनाउने बेलामा संघका इन्चार्ज बस्नेत आफूअनुकूल गर्न खोजेको आरोप उनीहरूको छ ।

शीर्ष नेतालाई बुझाइएको पत्रमा समेत उनीहरूले वस्नेतको मनोमानी’bout उल्लेख गरेका छन् । ‘संगठनमा फरक मत, फरक विचार राख्ने व्यक्तिलाई पूर्णतः निषेध गर्दै संगठन व्यक्ति केन्द्रित समूहमा रूपान्तरित हुने स्पष्ट देखिएको छ,’ पत्रमा उल्लेख गरिएको छ ।

बस्नेत नेतृत्वमा आएदेखि मनोमानी
युवा संघको बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि लहानमा भएको सातौं महाधिवेशनमा बस्नेत पहिलो कार्यकालका लागि इन्द्रलाल सापकोटालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए । युथ फोर्सको अध्यक्ष र संघको कोषाध्यक्ष भएपछि चर्चामा आएका बस्नेत संघको अध्यक्ष (हाल इन्चार्ज) भएपछि मनोमानी गर्दै आएको आरोप संघकै नेताले लगाएका छन् ।

दोस्रो कार्यकालका लागि अध्यक्ष भएयता संघको महाधिवेशन नै हुन सकेको छैन । विगत ९ वर्षदेखि महाधिवेशन नै नगरी टिके प्रथाद्वारा अध्यक्ष चयन गर्ने र संघमा पदाधिकारी तथा सदस्य मनोनित गर्ने काम हुँदै आएको छ । ९ वर्षमा ८ जना नेतालाई टीका लगाउँदै अध्यक्ष बनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 844 times, 1 visits today)

epaper

ताजा समाचार

यसरी गरौ फोहोरमैलाको दिगो व्यवस्थापन