काठमाडौं । मुलुकभर कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन र डेल्टाको सँक्रमण बढेसँगै अत्यबस्यक काम बाहेक अन्य कार्यका लागि २५ जना भन्दा बढी भेला हुन नपाउने निर्देशन सरकारले यो महिनाको सुरु बाटै जारी गरेको छ । सो नियम आएसँगै देशभर मेला महोत्सब बन्द भएपछि स्टेजमा गीत प्रस्तुत गर्ने कलाकारहरुको आम्दानी पूर्ण रुपमा रोकिएको छ ।
यस्तै स्टेज कार्यक्रममा निर्भर भएर जिविकोपार्जन गर्दै आएका गायक तथा संगीतकार रमेशराज भट्टराईले स्टेज कार्यक्रम रोकिएसँगै आफुलाई मासिक कम्तिमा पाँच लाख घाटा भएको बताएका छन् ।
बेहुला बनाउँछु भन्थि बोहुला बनाएर गई गीतका कारण बोहुला गायकको रुपमा चिनिएका रमेशराजका चार ओटा गीतले युट्युवमा करोड भन्दा बढी दर्शक भ्युज पाएको छ । तथापि आफ्नो मुख्य आयश्रोत भनेकै स्टेज कार्यक्रम भएको उनको कथन छ ।
‘माघ देखि फागुनको पहिलो सातासम्म मेरो नेपालमै १३ वटा कार्यक्रम तय भएको थियो । प्रति कार्यक्रम ५० देखि ७० हजारसम्म पारिश्रमिक पाउने भएपनि कोरोना बढेसँगै अहिले सबै कार्यक्रम रद्ध भएका छन् ।’ उनले राजधानीसँग भने,‘दुई वर्ष पछि गत मँसिरबाट मेला महोत्सब सुरु भएपछि पुषसम्म दुई महिनामा महोत्सबको १५ वटा स्टेज कार्यक्रममा करिब १० लाख कमाई भयो । त्यो कमाईले दुई वर्षको ऋण तिरे पनि फेरी महोत्सब बन्द भएपछि कमाई सुन्य भएको छ ।’
दुई दशकदेखि गायनमा सक्रिय रहँदै आएका रमेश राजको भनाईमा सुरुका दिनमा उनले क्यासेट र सिडी बिक्रीबाट राम्रो पैसा कमाए । त्यसपछि सिआरबिटी पिआरबिटीबाट पनि राम्रो कमाई भयो । त्यसपछि भने स्टेज कार्यक्रममै निर्भर हुनुपर्ने अबस्था आएको यी गायकको गुनासो छ,‘मैले अहिलेसम्म आफ्नो स्वर र सँगीतमा करिब ३०० गीत ल्याएको छु र ४ वटा गीतको करोड माथि तथा दर्जनौ गीतको मिलियन भ्युज युट्युवमा छन् । गीतले करोड भ्युज पाउँदा पनि रेकर्डिङ र भिडियोका लागत उठाउन हम्मे हम्मे पर्दो रहेछ ।’ उनले अगाडि थपे,‘त्यसैले मेरो कमाईको मुख्य श्रोत भनेकै देशमा मँसिरदेखि फागुन अन्तिमसम्म हुने मेला महोत्सबका स्टेज कार्यक्रम नै हुन् ।’ पैसा कमाई हुने सिजनमा यसपटक कोरोनाको महामारी सुरु भएका कारण खानेबेलाम मुखमा झिगा पसेको जस्तै भएको छ ।’
विश्वका अढाई दर्जन मुलुकमा कन्सर्ट गरिसकेका रमेशराजको गत यसै महिनाको अँग्रेजी नयाँ वर्षमा तेश्रो पटक बेलायत कन्सर्ट र दोश्रो पटक युरोप टुर थियो । त्यही बेलामा युरोपियन मुलुकहरुमा पनि कोरोनाको महामारी बढेपछि सबै कन्सर्टहरु रद्ध भएको उनले बताएका छन्,‘बेलायतको कन्सर्टको लागि त भिसा लागेर टिकट समेट लिईसकिएको थियो । त्यहाँ पनि कोरोनाका महामारीका कारण कन्सर्टहरुमा रोक लगाएपछि ती मेरा कन्सर्टहरु रद्ध भएका छन् ।’ उनले भने ।
नेपाली नयाँ वर्षको लागि उनको अष्टेलियामा पनि कन्सर्ट तय भएको छ । तर यसपटक अष्टेलियामा कोरोनाको महमारी बढिरहेको छ । सोही कारण अष्टेलिया र त्यसपछि जापानको कन्सर्ट पनि हुनेकी नहुने भन्ने चिन्ता उनलाई छ ।
बिदेशमा बसेका नेपालीहरुको पीडामा आधारित उनको पछिल्लो गीत भन साईले अहिले निकै रुचाईएको छ । करिब एक करोड भ्युज पुग्न लागेको यो सहित राजा गीतका तीन वटै सिरिज, बहुला गीतका सबै सिरिज सहित उनले डेढ दर्जन गीत एउटा कन्सर्टमा सालाखाला प्रस्तुत गर्दै आएका रहेछन् । भन साईला गीत सफल भएपछि उनलाई बिदेशबाट बढी प्रस्ताव आइको रहेछ । तर अहिलेको माहौलले फेरी आफुलाई निराश बनाएको गायक रमेशराज भट्टराईले राजधानीलाई बताए ।






