सप्तरी, राजविराज । प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संसारभर त्रास फैलाएको कोरोना भाईरसको संक्रमणबाट जोगाउन गृह जिल्लामा भईरहेको तयारी प्रति चासो लिएका छन् ।
गृह जिल्ला समेत रहेको सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा विहिबार पुगेका मन्त्री साहले कोरोना भाईरसको संक्रमणबाट जोगिन र जोगाउन भई रहेको सुरक्षा प्रयास र तयारीबारे चासो लिएका हुन ।
आईसोलेसन वार्ड देखि ¥याल र रगतको नमुना परिक्षण कक्ष लगायतको निरक्षण गरेका मन्त्री साहले तयारी कमजोर देखिएकोमा चिन्ता समेत व्यक्त गर्दै निमिति मेडिकल सुप्रिन्टेन्डेट डा. दिलिप साहलाई सुझाव दिदै सुरक्षाका लागि गम्भिरता पुर्वक पहल गर्न निर्देशन पनि दिए ।
निमित मेडिकल सुप्रिटेन्डेन्ट डा. साहले कोरोना भाईरसको संक्रमणबाट सर्व साधारणलाई जोगाउन आवश्यक दक्ष जनशक्ति र सामाग्रीको अभाव रहेको जानकारी गराएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खासै सहयोग र समन्वय हुन सकेको छैन, तालिम प्राप्त दक्ष जनशक्ति र सामग्रीको अभाव पनि उतिकै छ, डा. साहले लाचारी व्यक्त गरेका थिए ।
सप्तरी सदरमुकाम राजविराज हुँदै भारतीय नाका छिर्ने प्रमुख मार्ग हो । यो नाकाबाट दैनिक ५ सय भन्दा बढी व्यक्तिको आवत जावत हुन्छ । सप्तरीमा कोरोना भाईरसको संक्रमण नफैलोस भन्ने उदेश्यले राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका लगायत विभिन्न स्थानिय तह र संस्थाबाट राजविराज बिमान स्थल तथा नाका क्षेत्रहरुमा गरी ६ स्थानमा हेल्पडेक्सको स्थापना गरि बहिरबाट आउने व्यक्तिहरुको स्वास्थय जाच्ने काम भई रहेको छ । तर तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीको अभावमा त्यति प्रभावकारी नदेखिएको स्थानियको गुनासो पनि छ ।
मन्त्री साहले आफनो मन्त्रालय नपरेपनि एउटा जिल्लाबासी, प्रदेशबासी तथा मन्त्रीको हैसियतले यसमा चासो लिएको बताए । उनले कोरोना भाईरस संक्रमण विरुद्घ गर्नुपर्ने तयारीमा देखिएको कमी कमजोरी हटाउन र व्यवस्थित गर्न आफुले केही दिनमै बस्ने प्रदेश २ को मन्त्री परिषदको बैठकमा प्राथमिकताका साथ यो विषय राख्ने र समस्या सामाधानको पहल गर्ने प्रतिबद्घता समेत व्यक्त गरे ।
माहामारीका रुपमा फैल्न सक्ने कोरोना भाईरस फैल्न नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रदेश सरकार कुनै कसरबाँकी राख्दैन, उनले भने, साधन श्रोतले भ्याएसम्म प्रदेश सरकारले यसका लागि काम गर्दैछ ।