दैलेख । गएको कार्तिक महिनादेखी पेट्रोलियम पर्दाथको अन्वेषण गर्ने दैलेख आएको टोली पहिलो चरणको साईस्मिक सर्भे गरेर विहिवार फर्किएको छ । चीनको प्राविधिक टोली र नेपाल सरकारको खानी तथा भूगर्भ विभागको टोली अन्वेषणको पहिलो चरणको साईस्मिक सर्भेको काम सम्पन्न गरेर फर्किएको हो ।
अन्वेषण टोलीले दैलेखको धार्मिक एवं एतिहासिक मानिने श्रीस्थान, नाभिस्थान, पादुका लगायत विभिन्न क्षेत्रमा साईस्मिक कामको सर्भे गरि फर्किएको हो । दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको श्रीस्थान, नाभीस्थान पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेखमा रहेको चिनियाँ प्राविधिक टोली पहिलो चरणको अन्वेषणका लागि पाँच महिना अघि देखी खटिएको थियो ।
चिनियाँ प्राविधिक सहित नेपाल सरकारको खानी तथा भूगर्भ विभागका भूर्गविद डा. गणेश त्रिपाठीले पेट्रोलियम पदार्थको अन्वेषणका लागि खटिएको चारवटा टोलीले काम सम्पन्न गरेर फर्किएको बताए । दैलेखमा आएको चार वटा टोली मध्ये पहिलो टोलीले सर्भे गरेर नक्सा निर्माण, दोस्रो टोलीले जीओलोजिकल सर्भे गरी जमिनको सतहमुनिको अवस्थाका विषयमा अनुसन्धान, तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरु मगाउने र चौथो टोलीले साईस्मिक सर्भे सकुशल गरि फर्किको छ त्रिपाठीले भने ।
दैलेखको क्षेत्र नम्बर –१ को डुङ्गेश्वर गाउँपालिका – १ को चुप्रामा बसेको टोलीले र क्षेत्र २ को दुल्लु नगरपालिका –५ दुल्लू अस्पतालमा नजिकै बेस क्याम्प निर्माण गरी पाँच महिना दैलेख बसेको टोलीले दुल्लू नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डाबिन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भू–भाग समेटेर दशवटा साईस्मिक सर्भे लाइनहरुमा जम्मा दुईसय लाईन किलोमिटर सर्भे गर्न चारसय वर्ग किलोमिटर भूभाग समेटेर सर्भे गरेको थियो ।
अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरि महत्वपूर्ण मानिएको साईस्मिक सर्भे हो । डा. त्रिपाठीका भने, यो कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पिय तरङ्गहरु जमिनको सतहमुनिको धेरै गहिराईसम्म पठाएर सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गहरुलाई सतहमा गाडिएका सेन्सरहरुमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराईबाट परावर्तन भई आएका तरङ्गहरुको प्रशोधन गर्ने र त्यसबाट तयार भएका तरङ्गहरुहरुको सुक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुन सक्ने भौगर्भिक संरचना पहिचान गर्ने काम सम्पन्न गरेर टोली फर्किएको हो ।
अन्वेषणमा खटिएको टोलीले फागुनको दोस्रो सातामा सम्पन्न गरि फर्किएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटे्लले औपचारिक रुपमा विदाई गरेका छन् । पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा सुरक्षा प्रबन्ध मिलाएर सहयोेग गरेको भन्दै चीनको प्राविधिक टोलीले प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद समेत दिएका थिए । प्रजिअ कटेलले चीनबाट एक सय ४० जनाको प्राविधिक टोली आएको भए पनि सात जनाको टोली बाहेक अरु सबै फर्किएको बताए । कटेलले भने,चुप्रामा रहेको बेस क्याम्प व्यवस्थापन गर्न सात जनाको टोली जिल्लामै बसेको छ ।

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता बमोजिम दैलेख जिल्लामा सञ्चालित पेट्रोलियम पदार्थको अन्वेषण परियोजना अन्तर्गत साईस्मिक सर्भे टोलीलाई विहिवार विदाई सँगै कदरपत्र आदान प्रदान गर्दे ।
तस्वीर सौजन्य : जिल्ला प्रशासन कार्यालय,दैलेख






