११४ जना लोपसा छाडेर तमलोपा प्रवेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का कार्यकारिणी सदस्यसमेत रहेका पूर्वराष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लाल र पूर्व सांसद विजयकुमार सिंह आफ्नो टिमसहित आजदेखि औपचारिक रूपमा तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।

मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी नेता लाल र डा. सिंह नवगठित तमलोपामा प्रवेश गरेका हुन् ।

नेता लाल र सिंहसहित लोसपामा आबद्ध ११४ जना नेता कार्यकर्ता आजदेखि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएका छन् । लोसपा नेपाल परित्याग गरेका नेता लाल र सिंह तमलोपा पुनः दर्ता गरेर सोही पार्टीमार्फत राजनीतिक गतिविधि गर्ने भएका हुन् । तमलोपा प्रवेश गर्नेमा मो. असगर अलि, धीरेन्द्र सिंह, विन्दु ठाकुर सहितका रहेका छन ।

पत्रकार सम्मेलनमा बोल्दै नेता लालले वर्तमान स्थितिमा मधेसको जनताको चाहनाअनुसार स्वच्छ क्षेत्रिय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन एवं संघीयताको अभ्यासलाई अगाडि बढाउन नयाँ यात्रा सुरु गरेको बताए । लोकतन्त्रवादी, मधेस एजेण्डाप्रति प्रतिवद्ध राजनीतिक दल आजको आवश्यकता भएकोले आफूहरू आवद्ध रहेको आ–आफ्ना दलहरू आजैदेखि परित्याग गर्दै ‘तराई–मधेश लोकतान्त्रिक पार्टी’ मा समावेश भएको बताए ।

मधेस आन्दोलनको मर्म र भावनाविपरीत मधेसका नेताहरू सत्ता र कुर्सीका लागि ज्यान फाल्न थालेपछि आन्दोलनकारीको भावनालाई सम्बोधन गर्न लोसपा परित्याग गरेको उनले बताए ।

‘मधेसको यो एजेण्डा देशकै बहुआयामिक रुपान्तरण, विविधतापूर्ण साझा राष्ट्रियता र समतापूर्ण विधिको शासन निर्माणको निमित्त ऐतिहासक एजेण्डा हो,’ उनले भने, ‘यसै एजेण्डाको सम्बोधनका लागि मधेसले प्रतिनिधि राजनीतिक दलहरूमा सहभागी भएर, यीनलाई समर्थन गरेर सिन्चियौँ । आन्दोलनबाट प्राप्त सम्पूर्ण ऊर्जा प्रदान गर्यो । तर मधेशका राजनीतिक दलका नेतृत्वपंक्ति जनता, जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेण्डालाई थाम्न सक्ने, गन्तव्यको दिशामा बोकेर आगाडि बढाउन सक्ने सामर्थ्य देखाउन सकेनन् ।’

संविधान सभा सदस्य डा. सिंहले नेताहरूले जनताले दिएको अभिमत, समर्थनलाई सत्ता र सरकारमा सहभागिताको स्वार्थमा शक्तिको हाटमा सुम्पिने काम गरेको बताए ।

उनले वर्तमान अवस्थामा मधेसको प्रतिनिधित्व गर्ने कुनै राजनीतिक दल नभएको बताए । बृहत् राजनीतिक शक्तिको निर्माणको नाममा सरकारहरू बनाउन भएका एकीकरण वा विभाजनले मधेस केन्द्रित दलहरूको अस्तित्व नरहेको उनको भनाइ छ ।

‘नेतृत्व–पंक्ति मधेश केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेका छन् । स्वभावतः लोकतन्त्रवादी मधेशी, जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको छ । भूमि, इतिहास, भाषा, संस्कृति, जीवनशैली बोकेको मधेश ‘राष्ट्र’लाई जात र सम्बन्धवादमा विभाजित गरी सिमित गर्न खोजिएको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 728 times, 1 visits today)

epaper

ताजा समाचार

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने