काठमाडौं । १७ वर्षीया नाबालिग एक गायिकाले आफ्ना अभिभावकसहित बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर अभिनेता शाह (पूर्णविक्रम शाह)विरुद्ध जबर्जस्ती करणी मुद्दामा उजुरी दिएकी छन् । उनी प्रहरीमा उजुरी दिन दिदी र भिनाजुको साथमा गएकी थिइन् ।
उनले आफू नाबालिक भएको र आफूमाथि करणी भएको किटानीसहित अभिनेता शाहलाई उचित सजायको माग गर्दै सो उजुरी दिएकी छन् ।
अभिनेता पल शाहविरुद्ध उजुरी पर्दै गर्दा शाह आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को प्रचारमा बुधबार व्यस्त थिए । पलविरुद्ध उजुरी परेपछि अब उनको खोजी गर्ने प्रहरीले जनाएको छ ।
पल शाह र उनलाई आरोप लगाउने गायिकाबीचको वार्ताको टेप सोमबार मात्र एक मिडियामार्फत सार्वजनिक भएको थियो । त्यो टेपमा भएको आवाज आफ्नो नभएको दाबी पलले गर्दै आएका थिए । अब त्यो टेपको आवाज पनि अनुसन्धानका लागि परीक्षण गरिने भएको छ ।
यसअघि पनि ती नाबालिक गायिकाले पलविरुद्ध उजुरी दिन खोजकी थिइन् । तर, त्यतिबेला पल र केही व्यक्तिले उनलाई फकाएर उजुरी दिनबाट रोकेको सो टेपमा भएको वार्तामा उल्लेख छ । तर, सोमबार सो अडियो रेकर्ड बाहिर आएपछि मंगलबार तनहुँ गएकी उनले बुधबार उजुरी दिएकी हुन् । यो मुद्दामा गायिका अधिकारीलाई महिला अधिकारकर्मी जस्मिन ओझाले न्यायका लागि सघाएकी छन् ।






