काठमाडौं । घरेलु फुटबलको मेरुदण्ड यस वर्षको शहीद स्मारक ‘ए’ डिभिजन लिगले ११औं चरणमा च्याम्पियन तथा १२औं चरणमा रेलिगेसनमा पर्ने दुई टोलीको टुंगो लगाइसकेको छ । साबिक विजेता मछिन्द्र फुटबल क्लबले लिगको दुई चरणको खेल बाँकी रहँदै उपाधि रक्षा गर्न सफल हुँदा यसपटक नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालिसकेका पूर्व कप्तान अनिल गुरुङले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र अर्का पूर्वकप्तान विराज महर्जनले च्यासल युथ क्लबलाई रेलिगेसनबाट बचाउन सकेनन् ।
यो अर्थमा अब लिगको अन्तिम राउन्डमा उपाधि र रेलिगेसनको ब्याटल हुनेछैन । अर्थात् लिगमा दोस्रो देखि शीर्ष ६ सम्म रोमाञ्चक ब्याटल हुनेछ । दोस्रो स्थानका लागि विभागीय त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ–मस्र्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा रहेको छ । तेस्रो स्थानका लागि आर्मी, मनाङ, एनआरटीसँगै सातदोबाटो र थ्री स्टारको चर्काे प्रतिस्पर्धा छ ।
आर्मी र मनाङको खेलको प्रतीक्षा
अब अन्तिम चरणमा आर्मीले मनाङसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । लिग चरणको अन्तिम खेलमा आर्मीले मनाङलाई हराएको खण्डमा आर्मी लगातार दोस्रो सिजन दोस्रो हुनेछ । बराबरीको नतिजामा आर्मीलाई दोस्रो हुन एनआरटीले पनि अंक गुमाउनुपर्नेछ । एनआरटीले लिगको अन्तिम खेलमा पुलिससँग खेल्दै छ । आर्मी र मनाङले बराबरी खेल्दा अर्काे खेलमा एनआरटी पनि रोकिए हेड टु हेडमा आर्मी नै दोस्रो हुनेछ । आर्मीले हारेको खण्डमा एनआरटी जित निकाल्दै दोस्रो तथा मनाङ तेस्रो हुँदा आर्मी चौथो हुनेछ । मनाङले २०६७–६८ पछि लिगमा पहिलोपटक लगातार दुई खेल हा¥यो । सोही कारण मनाङलाई योपटक दोस्रो हुन कठिन छ ।
आर्मी, एनआरटी र मनाङमध्येबाटै कुनै क्लब दोस्रो र तेस्रो रहनेछन् । यी तीन क्लबको नतिजा खराब भएमा मात्र सातदोबाटो र थ्रीस्टारको तेस्रो बन्ने सम्भावना कायम रहन्छ । सातदोबाटो तेस्रो हुन एनआरटी पुलिससँग र मनाङ आर्मीसँग हार्नुपर्नेछ । अनि सातदोबाटोले अन्तिम खेलमा च्यासललाई हराउनुपर्नेछ । यस्तै, थ्रीस्टार तेस्रो बन्न आपूmले जित निकाल्दा एनआरटी पुलिससँग र मनाङ आर्मीसँग हार्नुपर्नेछ भने सातदोबाटोले च्यासलसँग अंक गुमाउनुपर्नेछ ।
एनआरटी र मनाङले हार बेहोर्दा सातदोबाटोले बराबरी खेलेको अवस्थामा थ्री स्टार आपूm विजयी भए शीर्ष चारमा लिग टुंग्याउनेछ । आपूmले आफ्नो अनुकूल नतिजा निकाले पनि अन्य टोलीले आपूm प्रतिकूल नतिजा निकाले थ्री स्टार लिग इतिहासमै पहिलोपटक शीर्ष चारबाट बाहिरिनेछ । थ्री स्टारले लिगको अन्तिम खेलमा रेलिगेसनमा परिसकेको बिबिसीसँग तथा सातदोबाटोले पनि रेलिगेसनमा परिसकेको च्यासलसँग खेल्दै छ । कम्तीमा दोस्रो र तेस्रो बन्नका लागि भए पनि अन्तिम चरणका खेल रोमाञ्चक हुनेछ ।
अपराजित रहँदै च्याम्पियन मछिन्द्रको दाउ
दुई खेल बाँकी छँदै च्याम्पियन बनिसकेको मछिन्द्र अपराजित रहँदै यो सिजनको लिग च्याम्पियन बन्ने दाउमा रहेको छ । मछिन्द्रले लिगको अन्तिम खेलमा पछिल्लो समय लयमा रहेको नेपाल एपीएफ फुटबल क्लबसँग खेल्दै छ । पाँचौं राउन्डमा संकटासँगको गोलरहित बराबरीपछि लगातार ७ जित हात पारेको मछिन्द्रले यस सिजन १० जित र २ बराबरीबाट ३२ अंक जोडेको छ । तर, १२ मध्ये पछिल्लो ९ खेलमा अपराजित रहेको एपीएफविरुद्ध मछिन्द्रलाई जित निकाल्न भने सहज हुने छैन । एपीएफ मछिन्द्रलाई हार चखाउने लक्ष्यमा रहनेछ । सुरुवाती तीन खेलमा हार बेहोरेको एपीएफले त्यसपछि अपराजित छ ।
मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले एपीएफ राम्रो टोली रहे पनि आफ्नो टोली जित निकाल्दै लिगमा अपराजित रहँदै च्याम्पियन बन्ने लक्ष्यमा रहेको बताएका छन् । ‘अन्तिम खेल जितेर ट्रफी उचाल्ने धोको छ । त्यो हामी पूरा गर्नेछौं,’ प्रशिक्षक कटवालले भने । एपीएफका सहायक प्रशिक्षक रत्न काजी महर्जनले च्याम्पियन बनिसकेको मछिन्द्रलाई हराउँदै लिगमा सुखद अन्त्य गर्ने योजनामा रहेको बताएका छन् ।
१३औं राउन्डको तालिका
च्यासलविरुद्ध सातदोबाटो (बिहीबार, एन्फा कम्प्लेक्स)
शेर्पाविरुद्ध फ्रेन्ड्स दशरथ (बिहीबार, दशरथ रंगशाला)
जावलाखेलविरुद्ध संकटा (शुक्रबार, दशरथ रंगशाला)
बिबिसीविरुद्ध थ्री स्टार (शुक्रबार, एन्फा कम्प्लेक्स)
एनआरटीविरुद्ध पुलिस (शनिबार, एन्फा कम्प्लेक्स)
आर्मीविरुद्ध मनाङ (शनिबार, दशरथ रंगशाला)
मछिन्द्रविरुद्ध एपीएफ (शनिबार, दशरथ रंगशाला)