जब समाजमा मेलमिलाप , भाइचारा , सहयोग, स्थिरता र एकता हुन्छ, समाज स्वतःसंगठित हुन्छ । जुनबेला स्थिर राज्यप्रणाली, सुदृढ सरकार, सफा र स्वच्छ राजनीति, सदाचारी र नैतिकवान् राजनीतिक नेतृत्व हुन्छ । त्यस बखतमा समाजले राज्य र सरकारप्रति भरोसा र विश्वास गर्दछ । यस्तो अवस्थामा व्यक्तिले आफ्नो जीवन र भविष्य सुरक्षित ठान्दछ । जब व्यक्तिले वर्तमान र भविष्य सुरक्षित ठान्दछ । तब उसमा समाज र राष्ट्रका लागि काम गर्ने उच्च नैतिक बल प्राप्त हुन्छ । व्यक्ति व्यक्तिगत स्वार्थभन्दा माथि उठ्दछ । व्यक्तिमा समाज र राज्यका लागि काम गर्न पाउँदा गौरवको अनुभूति हुन थाल्छ ।
अस्थिरता, अविश्वास, बेरोजगारी, महँगी र अनाचार फैलिएका बखत समाज विघटनतिर उन्मुख हुन थाल्छ । जर्मन समाजशास्त्री फ्रान्ज ओपनहाइमर भन्दछन, ‘जब आर्थिक उद्देश्य पूरा गर्न राजनीतिक र राजनीतिक उद्देश्य पूरा गर्न आर्थिक साधन प्रयोग गरिन्छ, राजनीतिमा उच्छृंखलता पैदा हुन्छ ।’ जब समाजका अगुवा नै स्वार्थी र बेइमान हुन थाल्छन्, जब राजनीति गर्ने मानिस अनैतिक र व्यभिचारी हुन थाल्छन्, तब व्यक्ति राज्यबाट निराश हुन्छ । व्यक्तिमा रहेको राज्यप्रतिको भरोसा टुट्छ । जब कामको खोजीमा सहर पुगेका युवालाई सहरले समेत अपेक्षित रोजगारी दिन सक्दैन, तब उनीहरूमा नैराश्य उत्पन्न हुन्छ । जब राज्य सबै नागरिकलाई समान न्याय दिन असफल हुन्छ, तब समाजमा राज्यप्रतिको आस्था र निष्ठा खण्डित हुन्छ ।
असुरक्षाको भावनाको विकास हुनु, शिक्षा, स्वास्थ्य र दैनिक जीवन गुजाराको वस्तु सर्वसाधारणको पहुँचभन्दा टाढा पुग्नु, तीव्र बसाइँसराइ, बेरोजगारी र भयावह बाल्यावस्था एवं असुरक्षित वृद्धावस्था व्यक्तिलाई सामाजिक नियम र मर्यादाबाट टाढा पु¥याउने कारक हुन् । यी परिस्थितिको कारण सभ्य, स्थिर र नैतिक समाज स्थापनाका सपना चकनाचुर हुन्छन्, अनुशासनका बन्धन स्वत टुट्छन् ।
हालका केही वर्षयता समाज परिवर्तनको गति अत्यन्त तीव्र भएको छ । अहिले सामाजिक, आर्थिक, राजनीतिक, प्राविधिक, व्यापारिक, शैक्षिक, सांस्कृतिक, उपभोग, खानपान र जीवनप्रतिको सोचाइको क्षेत्रमा आएको परिवर्तनको गतिलाई राज्यले पहिचान गर्न सकेको पाइँदैन । राजनीतिक नेताहरूले जतिसुकै परिश्रम गरे तापनि उनीहरूलाई परिवर्तनको यो रुझानलाई आत्मसात् गरी समयानुकूल सुधार र व्यवस्थापन गर्न कठिन भइरहेको छ । नेतृत्वको सोच र परिवर्तनको तीव्रतामा आकाश जमिनको फरक र अपूरणीय खाडल छ । यसरी विघटनतर्फ दौडिरहेको समाजमा सदाचरको अपेक्षा आकाशको फलजस्तै हुने हो कि भन्ने भय उत्पन्न भएको छ ।
समाज सधैं चलायमान हुन्छ । यो कहिल्यै पनि स्थिर भएर बस्दैन । परिवर्तन रोकेर रोकिँदैन । परिवर्तनको स्वरूप सकारात्मक र नकारात्मक दुवै हुन सक्छ । कसरी सकारात्मक परिवर्तनलाई संस्थागत गर्दै जाने र नकारात्मक कुराबाट समाजलाई जोगाउने भन्ने कुरा राज्यशक्तिमा पहुँच राख्ने अगुवाको हातमा हुन्छ । परिवर्तन र समृद्धिबीच तालमेल मिल्यो भने मात्र समाजको विघटनलाई रोक्न सकिन्छ । राजनीतिक नेतृत्वबाट जनतालाई तीव्र समृद्धिको सपना देखाइएको हुन्छ । आकांक्षा चुल्याइएको समाजले नेतृत्वबाट धेरै आशा गरेको हुन्छ । आकांक्षामाथि कुठाराघात हुँदै गयो भने नागरिकको सपना भंग हुन्छ । राजनीतिक प्रणाली र नेताप्रति व्यक्तिको आस्था टुट्छ । यस्तो परिवेशमा व्यक्ति सामूहिक भावनालाई आत्मसात् गर्न असफल हुन्छ । अनि सुरु हुन्छ अज्ञात गन्तव्यको अनुशासनहीन यात्रा ।
नवस्थापित लोकतन्त्रमा जनता जनताजस्तै नेता चाहन्छन् । जनताको सोचाइ हुन्छ, राजाजस्ता त राजा नै थिए । राजाजस्तो बन्न त राजालाई नै सुहाउँथ्यो । जनताका प्रतिनिधि नै राजाजस्ता हुने हो भने राजा किन फालेको ? जनताको नजरमा राजारानीको विलासिता ‘राजसी’ देखिन्थ्यो भने जनताका छोराछोरीको विलासिता ‘आडम्बर र ठस्सा’ देखिन्छ । फ्रान्सका राजारानीको जीवन अत्यन्त विलासी थियो । किन्तु सर्वसाधारण जनताको अवस्था भने साह्रै कठिन र दयनीय । लाखौं जनतालाई दूधको स्वाद थाहा थिएन तर रानी नित्य सयौं घोडीको दूधले नुहाउँथिन । जब जनताले पेटभरि रोटी खान पाउँदैनन् भन्ने थाहा भयो, उनले भनेकी थिइन रे ‘जनताले पाउरोटी खान नपाएको भए केक खान भन्नु नि ।’
फ्रान्सकी रानी दरबारमा जन्मेकी र बाहिरी संसारबाट टाढा राखिएकी नारी थिइन् । हुन त उनको भनाइ अनुचित र भद्दा देखिन्छ तथापि उनले यो कुरा इमानदारीसाथ भनेकी थिइन् । उनलाई जनताको वास्तविक अवस्था थाहा नै थिएन । किन्तु विकट गाउँमा जन्मेका, बाल्यावस्था र किशोरावस्था गरिबीमा बिताएका र दरिद्रतासँग परिचित व्यक्ति नै सत्ता र शक्तिमा पुग्नासाथ राजारानीझैं देखिन थाल्नु घोर विडम्बना हो । हिजोका भुइँमान्छेलाई समाजको नग्न वास्तविकता’bout केही नजान्ने र निर्दोष पात्र जस्तो आडम्बरी राजकीय शैलीमा देख्दा जनता निराश हुनु स्वाभाविकै हो ।
देशको शासनको बागडोर हातमा लिएका व्यक्तिलाई कटु सत्य बोल्ने, यथार्थ सुझाव दिने र सत्ताको आलोचना गर्ने मानिस मन पर्दैन । अहिले नेपालको युवा वर्गमा के गरौं र कता जाऊँ भन्ने छटपटी छ । हाम्रो देशले दिनहुँ शिक्षित, अनुशासित र प्रतिभा सम्पन्न युवा जनशक्ति गुमाउँदै छ । विदेशमा दुखः गरी कमाउने युवाको भरमा छ मुलुक । विभिन्न अनपेक्षित कारणले गर्दा विश्वभरि छरिएर रहेका नेपाली युवा अकस्मात् स्वदेश फर्कनुपर्ने परिस्थिति आउन सक्छ । सत्ताको बागडोर हातमा लिने कुनै कारणबस साराका सारा युवा स्वदेश फर्के भने के गर्लान् ? यस्तो सम्भावित अवस्थाप्रति के उनीहरू सचेत होलान् ? शंकै छ । सार्वभौमसत्ता सम्पन्न जनता आफ्नै मातृभूमि फर्के भने ठूलो फसाद पर्ने अवस्थामा छ हाम्रो देश । अहिलेको अन्तर्राष्ट्रिय परिवेश, आन्तरिक सामाजिक विचलन र सम्भावित अनपेक्षित परिस्थिति सरकार र मूलप्रवाहको राजनीतिक नेतृत्वले सोच्न सक्ने क्षमताभन्दा विकट छ ।
यस्तो वातावरणमा प्रदान गरिने नैतिक शिक्षा, आत्मसंयम, अनुशासन, सदाचार, परोपकार, करुणा र दयाका उपदेश कोरा बकबास लाग्छन् । झन्डै साराका सारा मानिस व्यक्तिगत स्वार्थको घमासान दौडमा सरिक भइरहेको समयमा सत् के हो असत् के हो, सच्चा के हो झुटो के हो, सज्जन को हो दुर्जन को हो छुट्याउनै मुस्किल हुन्छ । सबै उस्तै प्रतीत हुन्छन् । हाम्रो समयको समाजको स्वरूप यही हो । हामीले विकसित गरेको संस्कृति यही हो । हाम्रा नेता, उद्योगी, व्यापारी, शिक्षक, कर्मचारी, वकिल, प्रहरी, सेना, न्यायाधीश, किसान यिनै हुन् । तथापि हामी यही समाजभित्र यही समयमा सदाचार कायम होस् भन्ने आदर्श कल्पना गर्न पनि छाड्दैनौं ।
यसो हेर्दा नेपालका समस्त जनता राजनीतिप्रति उत्सुक र जिज्ञासु देखिन्छन् । चुनिने पदहरूका लागि उम्मेदवारी पनि उत्साहप्रद देखिन्छ । किन्तु परिवार, विद्यालय र समुदायमा ससाना नानी र किशोरलाई राजनीतिप्रति जुन तरिकाले सामाजीकरण गरिएको छ, त्यो उत्साहप्रद छैन । बरु दल प्रतिबन्धित भएको र राजनीतिमा लाग्नु नै ठूलो जोखिम हुने समयमा यस्तो वितृष्णा थिएन । अहिलेका किशोरमा राजनीति खराब हो र राजनीतिमा लाग्नेहरू घृणित काम गर्छन् भन्ने छाप परेको छ । युवावर्गमा व्यक्तिगत स्वार्थ पूरा गर्नु छ भने राजनीतिमा लाग, नत्र त्यता आँखा पनि नलगाऊ भन्ने सन्देश प्रवाह भएको छ ।
विचलित समाजमा सम्बन्ध शंकास्पद, मित्रता शंकास्पद, लेनदेन शंकास्पद, पारिवारिक मामिला शंकास्पद, व्यवसाय शंकास्पद, राजनीति शंकास्पद र इमानदारीसमेत शंकास्पद हुन्छ । कुनबेला कसले कसलाई फसाउने या धोका दिने हो थाहा छैन । यस्तो गन्जागोल वातावरणमा को सदाचारी, को मिथ्याचारी, को नैतिक, को अनैतिक, को सच्चा को झुटो भनेर चिन्नु ? जो फन्दामा प¥यो त्यो अनैतिक र झुटो, जो फन्दा बाहिर छ या फन्दामा पर्न बाँकी छ, त्यो सच्चा । यहाँ दिनभरि सदाचारको पाठ पढाउने महान् र सम्मानित व्यक्ति रातारात घोर व्यभिचारी साबित हुन्छ । कसैसँग कसैको भरोसा नरहेको चञ्चल र अस्थिर समाज कताकता कारुणाहीन, दयाहीन, संवेदनहीन र प्रज्ञाहीन बाटोतर्फ उन्मुख हुन थालेको आभास हुन्छ ।
कार्लमाक्र्स भन्छन्, ‘सामाजिक सम्बन्ध उत्पादन प्रणालीमा आधारित हुन्छ ।’ उनले आफ्नो समयका जमिनदार र कृषि मजदुर, मालिक र नोकर, पुँजीपति र श्रमिकको सम्बन्धको आधारमा समाजको स्वरूपको निर्धारण गरेका थिए । समाजको प्रत्येक सम्बन्ध आर्थिक व्यवस्थामा आधारित हुन्छ भन्ने माक्र्सको दृढ मान्यता छ । किन्तु अहिलेको सामाजिक सम्बन्ध निर्धारणको आयाम माक्र्सको चिन्तनभन्दा धेरै टाढा छ । अहिले कुनै पनि युवक जिंरिङ कपाल र दारी पालेर, मैला लुगा, थोत्रो चप्पल, मोटो फ्रेमयुक्त चस्मा लगाएर भौंतारिने दार्शनिक कम्युनिस्ट हुन चाहँदैन । अहिलेको समाजले सुकिलो, सम्पन्न र ‘हिरो टाइप’ कम्युनिस्ट युवालाई स्वीकार्छ । अहिले धार्मिक प्रवचन दिने युवक मैलो भगवा लुंगी पहिरेर कमण्डलु हातमा लट्काएर हिँड्दैन । ऊ स्याम्पुले धोएको कपाल, ताछेको दारी जुँगा मुसार्दै महँगा चप्पल लगाएर आरामले हवाइयात्रा गर्छ । अहिलेको शिक्षक विद्यादान गरेर केही शिष्य उत्पादन गरी आफूलाई धन्य मानेर बस्न सक्दैन । अहिलेको लेखक ऋषिमुनि जस्तो वनमा ‘आरण्यक’ लेखेर आत्ममुग्ध हुँदै सन्तुष्ट भएर बस्न सक्दैन । बदलिएको समयसँगै यो सबै स्वाभाविक, ग्राह्य र अनुकरणीय नै हो । किन्तु विघटित समाजमा यिनै क्रियाकलाप पनि घोर अनुशासनहीन र उच्छुंखल हुन पुग्छन् ।
मानिस स्वभावैले स्वार्थी हुन्छ । यही स्वार्थले मानवलाई प्रगतितर्फ प्रेरित गर्छ । कोही नामको स्वार्थले प्रेरित हुन्छ भने कोही धनको । कसैमा आविष्कार गरेर सन्तुष्टि प्राप्त हुन्छ भने कसैलाई शक्ति प्राप्त गरेर । जस्तोसुकै स्वार्थमा सरिक भए तापनि व्यक्ति समुदाय, संस्कृति, संस्कार र कानुनको दायरामा बस्दासम्म समाज संगठित रहन्छ ।
समाज सधंै एकै गतिमा समुद्रमा जहाज अगाडि बढजस्तो सलल बग्दैन । समाज यदाकदा घुमाउरो पहाडको नागबेली कच्ची सडकमा मोटर चलेजस्तो गतिमा हुन्छ । समाजको यो नियमलाई कसैले बदल्न सक्दैन । तर, यसलाई व्यवस्थापन गर्न सकिन्छ । यस्तै समयमा हो समाजका अगुवा अर्थात् अहिलेको सन्दर्भमा राजनीतिक नेताहरूको परीक्षण हुने । उच्च आकांक्षा भएको समाज पहाडी नागबेलीको ओरालोमा गुडिरहेको गाडीजस्तै हो । अपेक्षा बढाइएको समाज अहिले नै चमत्कार होस् भनी बेचैन छ । आज तीव्र यात्रामा रहेको गाडीरूपी समाज धेरै हतारमा छ । ऊ छिटो गन्तव्यमा पुगी सुख र चयनसाथ आराम गर्ने ‘मुड’मा छ । किन्तु बाटो धेरै उबडखाबड र विकट छ । प्रजातान्त्रिक र लोकतान्त्रिक ड्राइभरको निरन्तर गल्तीले गर्दा समृद्धियात्राको गाडी थोत्रो भएको छ । पार्टपुर्जाहरूमा खिया लाग्दै छ । ब्रेक लुलो हुँदै छ, तेलमा मिसावट छ । जनता वर्तमान सत्ताले यी समग्र विकृतिमाथि विजय हासिल गरी समृद्धियात्रालाई सहज बनाएको हेर्न आतुर छन् ।
अस्थिर समाजमा कानुनको न्यूनतम पालना हुन्छ । सरकार जेनतेन चलिरहेको हुन्छ । वैधानिक संस्था कार्यरत हुन्छन् । आशाको दियो धिपधिप बलिरहेको हुन्छ । टाढा क्षितिजमा चाँदीको मसिनो घेरा देखिन्छ र दक्षतापूर्ण प्रयास भयो भने वर्तमान राजनीतिक प्रणालीभित्रै फेरि संगठित समाजको स्थपाना गर्न सम्भव छ । किन्तु सुझबुझकासाथ संगठित गर्न सकिएन भने समाज अराजकतामा फस्ने छ । अराजकताको परिणाम कस्तो होला र को कहाँ पुग्ने हुन् ? कसैले पनि अनुमान गर्न सक्दैन ।






