इनरुवाको ग्रीनसिटीमा १२ हजार बिरुवा रोपिँदै

इनरुवा (सुनसरी) । सुनसरीको इनरुवा–७ स्थित ग्रीनसिटी परिसरमा विभिन्न प्रजातिका करिब १२ हजार बिरुवा रोपिने भएको छ। रोटरी क्लब अफ पाटन वेस्टको सन् २०२६–०२७ को वातावरण संरक्षण अभियानअन्तर्गत वृक्षरोपण तथा वृक्ष संरक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

अभियानअन्तर्गतको औपचारिक कार्यक्रम अगस्ट २२ गते बिहान १० बजे ग्रीनसिटी, इनरुवा–७ मा आयोजना हुने भएको छ। रोटरी क्लब अफ पाटन वेस्टको आयोजनामा हुने कार्यक्रममा क्लबका डिस्ट्रिक्ट गभर्नर रो. विष्णुबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

वृक्षरोपण अभियानमा इनर ह्वील क्लब अफ पाटन सह–आयोजकका रूपमा सहभागी रहेको छ भने डीएन ग्रुप अफ कम्पनीज प्रायोजक रहेको छ। कार्यक्रमका लागि ग्रीनसिटी परिसरलाई वृक्षरोपणको मुख्य स्थलका रूपमा चयन गरिएको हो।

रोटरी क्लब अफ पाटन वेस्टले सन् २०२६–०२७ का लागि वातावरण संरक्षण र हरियाली प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै ठूलो संख्यामा बिरुवा रोप्ने लक्ष्य अघि सारेको जनाएको छ। अभियानअन्तर्गत बिरुवा रोप्ने मात्र नभई रोपिएका बिरुवाको संरक्षण, स्याहार तथा हुर्काउने कार्यलाई समेत विशेष प्राथमिकता दिइने बताइएको छ।

विभिन्न प्रजातिका १२ हजार बिरुवा रोपिएसँगै ग्रीनसिटी क्षेत्र थप हरियालीयुक्त बन्ने तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यस अभियानले प्राकृतिक सन्तुलन कायम गर्न, वातावरणीय स्वच्छता बढाउन तथा हरियाली विस्तारमा सकारात्मक प्रभाव पार्ने आयोजकको विश्वास छ।

आयोजकले वृक्षरोपण तथा वृक्ष संरक्षण कार्यक्रममा सहभागी भई अभियानलाई सफल बनाउन स्थानीयवासी, सामाजिक संघ–संस्था तथा सरोकारवाला सबैलाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै