कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ बुड्ढिमा खेल महोत्सव सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित खेल महोत्सव आयोजना गरिएको हो ।
खेल प्रतियोगिता उद्घाटन गर्दै लुम्बिनी प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिना नेपालले शिक्षा, स्वास्थ्यसँग जोडिएको खेल स्पर्धाबाट नगरपालिकालाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन । खेलाडी राष्ट्रका गहना भएकाले तिनको क्षमता विकासमा प्राथमिकता दिनुपर्ने उनले बताइन ।
कार्यक्रममा बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले बुद्धभुमी भित्रका खेलाडीले नगरको मात्र नभई जिल्ला हुँदै राष्ट्रको नाम राख्न सक्ने अपेक्षासहित खेल स्पर्धा सञ्चालन गरिएको जानकारी दिए ।
बुद्धभुमी नगरपालिकाले खेललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनको भनाइ छ । विगत वर्षजस्तै यो वर्ष पनि खेल महोत्सवलाई प्राथमिकतामा राख्दै व्यवस्थित गरिएको श्रेष्ठले बताए ।
खेल महोत्सवमा बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव राज सुवेदीले खेलकुद प्रतियोगिताले युवायुवतीलाई सही बाटोमा हिँडाएर राष्ट्रका लागि योगदान दिन सक्ने बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दल र संघ–संस्थाका प्रतिनिधिरुले खेल स्पर्धा सफलताको कामना गरेका थिए । खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र मेयर कप शीर्षकमा विभिन्न खेल स्पर्धा हुनेछ ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत भलिबल, एथलेटिक्स, कपर्दी प्रतियोगिता हुनेछन् । मेयर कपतर्फ एथलेटिक्स खेलाइनेछ ।
बुद्धभुमी नगरपालिकाको आयोजनामा बुधबारबाट सुरु भएको महोत्सवमा १० वटा वडा २४ वटा विद्यालयका ६०० बढि खेलाडीको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा अधिकृत कृष्ण प्रशाद भट्टराईले बताए ।






