काठमाडौं । गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् ।
पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमा स्थानीय आजभोलि सो सडकको निर्माण भइरहेको विषयमा नियमित अनुगमन गर्दै आएका छन् । यतिसम्म कि बुधबार सो क्षेत्रको सडकमा ठेकदार तथा कामदार नदेखेपछि स्थानीय सडकमा उत्रिएर फोहोर बोकेर सिसडोल गइरहेका गाडीलाई हत्त न पत्त अवरोध गर्न पुगे । बिहान ढिलासम्म पनि सडकमा ठेकदार कम्पनी मेसिन र कामदार नदेखिएपछि तारकेश्वर नगरपालिक–३ स्थित तीन पिप्लेका स्थानीयले फोहोरका गाडी रोकेका थिए । केही समयपछि ठेकदार तथा कामदार निर्माण क्षेत्रमा फर्किएर काम थालेपछि अहिले भने फोहोरका गाडीहरूलाई खुला गरिएको छ ।
गत १ फागुनदेखि नै स्थानीयले सडक पिच नभएको भन्दै फोहोर बोकेका गाडीहरूलाई रोकेका थिए । सडक नबनाएको विरोधमा स्थानीयले आन्दोलन गर्दा झन्डै दुई सातासम्म फोहोरका गाडी काठमाडौं उपत्यकामा रोकिएका थिए । जनप्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका प्रमुखलगायत पुगेर ठेकेदारलाई काम थाल्न निर्देशन दिएपछि फोहोरका गाडी सञ्चालनमा आएका थिए ।
आन्दोलन सुरु भएपछि सडकमा तत्कालै मर्मतको काम पनि सुरु भएको छ । स्थानीय भने ठेकेदारले काम छाडेर हिँड्ने हो कि भनेर नियमित रूपमा रेखदेख गर्दै आएको बताउँछन् ।
सडक अवरोध खुलाउने क्रममा नै उनीहरूले जुन दिन सडक कालोपत्रेका लागि भइरहेको तयारीको काम रोकिन्छ, त्यही दिन फोहोर बोकेका गाडी पनि रोकिने सर्त राखेका छन् । एक स्थानीय सडक विस्तारको काममा केही अलमल भएमा फोहोरका गाडी रोकिने बताउँछन् । तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष मनोहरी तिवारीले पनि काम रोकिएमा स्थानीयहरूले त्यहीँ समयदेखि फोहोरका गाडी चल्न अवरोध सिर्जना हुने बताउँछन् ।
काठमाडौं उपत्यकाको फोहोर फाल्न फोहोर बोकेर सिसडोलको डम्पिङसाइटमा जाने र त्यहाँबाट फर्कने गाडीलाई स्थानीयले रोकेर विरोध जनाएपछि झन्डै डेढ वर्षदेखि गुमनाम सडक विभाग र ठेकदार शैलुङ कन्स्ट्रक्सन इन्जिनियर तथा कामदार सडकका उपस्थित भएर काम थालेका छन् । अहिले सडकमा ग्राभेलको काम अघि बढेको छ भने हेभी मेसिन चलाउन थालिएको छ । स्थानीयले रानीपौवासम्मकै बाटो कालोपत्रे हुनुपर्ने माग राखेका छन् ।
पासाङ ल्हामु राजमार्गमा पर्ने सो सडकखण्ड करिब नौ वर्ष अगाडि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले पिच गर्ने ठेक्का पाएको थियो । करिब ६ किलोमिटर सडक विगत नौ वर्षको अवधिमा पनि ठेक्का पाएको शैलुङले पिच नै नगरेको पाइएको छ ।
स्थानीयले सो क्षेत्रमो ठेकेदार कम्पनीका मालिक शारदाप्रसाद अधिकारीको फोटो नै राखेर छिटो पिच गर्न दबाब दिएका थिए । विगत १६ वर्षदेखि नुवाकोटको सिसडोलमा काठमाडौं, ललितपुरलगायत ठाउँको फोहोर फालिँदै आएको छ ।
सरकारले दिगो रूपमा फोहोर व्यवस्थापन गर्न नुवाकोट–धादिङ सिमानामा रहेको बञ्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँदै आए पनि ढिलासुस्तीका कारण अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
३१ करोड रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा कुल ५८ प्रतिशत काम सकिएको जनाइएको छ । विगतमा बनिसकेको भाग पनि मर्मत नगरेपछि भत्किएकाले भौतिक प्रगति झन् खस्किएको विभागका महानिर्देशक शिवहरि सापकोटा बताउँछन् । अहिलेलाई भने बाँकी काम आगामी चैतसम्म सक्ने आश्वासन दिएर फोहोर विसर्जनका लागि बाटो खुलाइएको छ ।