निर्वाचनमा जुट्यो एकीकृत समाजवादी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी निर्वाचनमा अग्रगमन र प्रतिगमनकारी शक्तिबीच प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ । काठमाडौंमा आज बुधबारदेखि हुने पार्टी तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले यो निष्कर्षसहितको ‘राजनीतिक प्रतिवेदन’ पेस गर्दै छन् । ‘आगामी ३० वैशाख हुन गइरहेको स्थानीय तह निर्वाचनतर्फ राजनीतिक शक्ति उन्मुख छन् ।

अग्रगमन र प्रतिगमनकारी शक्तिबीच प्रतिस्पर्धा हुने निष्कर्ष

निर्वाचनमा एकातर्फ प्रतिगमनकारी एवं अलोकतान्त्रिक शक्ति हुने र अर्कोतर्फ लोकतन्त्र र अग्रगमनका पक्षधर शक्तिबीच प्रतिस्पर्धा हुनेछ,’ नेपालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । केन्द्रीय कमिटी बैठक बस्नुअघि सोमबार पोलिटव्यूरो कमिटी र मंगलबार सचिवालय बैठक काठमाडौंमा बस्यो । बैठकमा अध्यक्ष नेपालले ‘पछिल्लो राजनीतिक अवस्थासहित विभिन्न विषय’मा विश्लेषण गर्दै राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदन नेताका सुझावका आधारमा संशोधनसहित पारित भइसकेको छ ।

सचिवालय र पोलिटव्यूरो कमिटीले पारित गरेको संशोधनसहितको राजनीतिक प्रतिवेदनमा केन्द्रीय कमिटी बैठकमा छलफल हुने पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । केन्द्रीय कमिटी बैठक बुधबार र बिहीबार दुई दिनसम्म चल्ने छ । बैठकमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनका साथै पार्टीको संगठनात्मक अवस्था, एमसीसी समीक्षा, व्याख्यात्मक विश्लेषण, पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचन तयारीलगायत विषयमा छलफलमा हुने एजेण्डा तय भएको छ । एकीकृत समाजवादीले आगामी निर्वाचनअघि नै पार्टी कमिटी पूर्णता र विस्तार प्राथमिकतामा राखेको छ । ‘स्थानीय तह निर्वाचन गाउँ तथा नगरपालिका र तिनका वडामा हुन्छ ।

जहाँ निर्वाचन हुने हो, त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन, हामीले सबै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं,’ नेपाल प्रतिवेदनमा भनिएको छ । ‘कतिपय कमिटीलाई यहा“सम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं । यस्तो स्थिति अब रहिरहनु हुँदैन,’ अध्यक्ष नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘गठन भइसकेका कमिटीलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडामा पार्टी कमिटी गठन गरिसक्ने गरी जानु पर्दछ ।’ एकीकृत समाजवादीले पार्टी सुदृढ र बलियो शक्तिका रूपमा स्थापित गर्न तत्कालीन कार्ययोजना अघि सार्दै पार्टी कमिटी गठन, पुनर्गठन तथा विस्तार गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।

कार्यतालिका बनाएर कमिटी गठन एवं विस्तारका लागि अघि बढ्ने निष्कर्षमा पुगेको एकीकृत समाजवादीले बैठक सकेपछि केन्द्रीय नेतालाई गाउँगाउँ तथा टोलटोलमा परिचालन गर्दै छ । पार्टी कमिटीका साथै जनसंगठन विस्तार कार्ययोजनासमेत एकीकृत समाजवादीले बनाएको छ ।

संगठन निर्माणका साथसाथै जनपरिचालन गर्नेगरी अघि बढ्ने तयारी पार्टीको छ । पार्टी पंक्तिमा विचार प्रवाह गर्न प्रशिक्षण अभियान सञ्चालन गर्नुका साथै प्रचारात्मक कामलाई पनि तीव्रता दिइने भएको छ । केन्द्रीय कमिटी प्रथम बैठकबाट पारित राजनीतिक प्रस्तावमा ‘दलाल नोकरशाही पूँजीवादी शोषण दमन र उत्पीडन तथा साम्राज्यवादी हस्तक्षेपविरुद्ध संघर्ष गर्दै स्वाधिन राष्ट्रिय अर्थतन्त्रको जगमा अडिएको समृद्ध नेपाल निर्माण अभियान सञ्चालन र सामन्तवादको अवशेषका रूपमा रहेका आर्थिक शोषण, कुरिति, अन्धविश्वास र रुढीवादको समूल अन्त्यका निम्ति आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरण अभियान सञ्चालन गर्न नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का तत्कालीन मुख्य कार्यभार हुन्’ भनिएको छ ।

समाजवादीले आर्थिक स्रोत पार्टी निर्माणको महत्वपूर्ण आधार भएकाले आर्थिक संकलन कार्य पनि अघि बढाउने योजना बनाएको छ । ‘आर्थिक संकलन काममा ध्यान दिइएन भने पार्टी निर्माण र विस्तार अभियान अगाडि बढ्न नै सक्दैन । त्यसैले पार्टी र जन संगठनका हरेक कमिटीले आर्थिक संकलन योजना बनाएर कार्यान्वयन गर्नु पर्दछ,’ अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘निर्वाचनको बेला निर्वाचन परिचालनका लागि विशेष आर्थिक कोष निर्माण गर्ने योजना बनाएर कार्यान्वयन गर्नु पर्दछ ।’

एकीकृत समाजवादीले अभिलेख व्यवस्थापन पनि प्रभावकारी बनाएर अघि बढने जनाएको छ । आगामी निर्वाचन तयारी मुख्य काम भएको भन्दै अध्यक्ष नेपालको प्रतिवेदनमा ‘निर्वाचन घोषणा पत्रको लेखन, निर्वाचन निर्देशिका निर्माण, उम्मेदवारका मापदण्ड निर्धारण र उम्मेदवार छनोट प्रक्रिया निर्धारण तथा निर्वाचन परिचालन तथा सहयोग समिति बनाएर केन्द्रीत हुनुपर्ने’मा जोड दिईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 283 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीबाट मृत्यु भएकाको डिएनए जाँचमा चिनियाँ प्रविधि र वैज्ञानिकको सफलता