काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त नायव महानिरीक्षक (डीआईजी) पदमा पाँच जनाको नाम सिफारिस गरेको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी सेवा साधारण समूह साधारण उपसमूहअन्तर्गत तीन, प्राविधिक समूह स्वास्थ्यतर्फ एक र सञ्चार तथा इन्जिनियरिङतर्फ गरी पाँच जनाको नाम सिफारिस गरेको हो । समितिले सिफारिस नामप्रति चित्त नबुझे सात दिनभित्र समितिमा उजुरी दिन भनेको छ ।
साधारण समूह साधारण उपसमूहतर्फ सिफारिस हुनेमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) त्रय विदूर खड्का, लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल छन् ।
खड्का १ भदौ २०५०, सिंह १८ चैत २०५४ र पाल १ मंसिर २०५४ मा प्राविधिक प्रहरी नायव निरीक्षक (सई)मा सेवा प्रवेश गरेका थिए । सेवा प्रवेशअनुसार खड्का २०८० साउन मसान्तसम्म मात्र पदमा रहनेछन् । पालसँगै सेवा प्रवेश गरेका कृष्णराज पाठक भने बढुवामा छुटेका छन् ।
नेपाल प्रहरीमा कम्प्युटरतर्फ पालसँगै सईमा सेवा प्रवेश गरेकाहरू भने प्रहरीमा केही डीएसपी र अधिकांश इन्सपेक्टर छन् ।
सँगैसेवा प्रवेश गरेकाहरू प्रहरीमा इन्सपेक्टर नै, सशस्त्रमा डीआईजी
सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार, नेपाल प्रहरीबाट स्थानान्तरण भई सशस्त्रमा आएका पाठक मात्रै अब डीआईजी सिफारिसमा पर्न बाँकी छ । त्यसपछि सशस्त्र प्रहरीमै इन्सपेक्टरमा प्रवेश गरेका सिसं १ को टोली डीआईजी हुनेछन् । सिसं १ को टोली २६ कात्तिक २०५९ मा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए । सो व्याचका सबै ९ जना अहिले कामु एसएसपी छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलको अवकाशपछि पाठक र सिसं १ को इन्सपेक्टर ब्याचका दुई जनालाई डीआईजी बन्न बाटो खुल्नेछ ।
सशस्त्र प्रहरी महानिरीक्षक खनाल २८ चैत २०७८, केसी र पौडेल १८ वैशाख २०७९ मा अनिवार्य अवकाशमा जाँदै छन् ।
सशस्त्रमा अहिले डीआईजीको पदसंख्या १६ छ । अब सिफारिसमा परेका खड्का, सिंह र पाल बढुवा भएपछि १६ मध्ये नेपाल प्रहरीमा प्राविधिकतर्फ प्रवेश गरी सशस्त्रमा स्थानान्तरण भएका एकतिहाइभन्दा बढी हुनेछन् । नेपाल प्रहरीमा प्राविधिक सईमा प्रवेश गरेका कालीदास धौबजी र कुमार न्यौपाने अहिले डीआईजी छन् । डीआईजी ई किशोर प्रधान पनि नेपाल प्रहरीमा प्राविधिक इन्सपेक्टरमा प्रवेश गरी सशस्त्रमा स्थानान्तरण भएका हुन् । सशस्त्रमा स्थानान्तरण हुँदा तत्कालीन समयमा एक तह बढुवा गर्ने नीतिका कारण वृत्तिविकासमा उनीहरूले खुड्किलो उक्लेका हुन् ।
उता, प्राविधिक समूह स्वास्थ्यतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र सञ्चार तथा इन्जिनियरिङतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ईं. सन्दीप थापा डीआईजीमा सिफारिस भएका छन् । दुबै जना २२ मंसिर २०५९ मा सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए ।
स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फ ५ फागुनको मन्त्रिपरिषद्को निर्णयअनुसार डीआईजी दरबन्दी थप भएको थियो । थप दरबन्दीमा वरिष्ठताका आधारमा उनीहरू डीआईजीमा सिफारिस भएका हुन् ।
सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गर्ने क्रममा ५ फागुनको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यतर्फ एक एसएसपी, दुई एसपी, तीन डीएसपी र २२ सईको दरबन्दी थप गरेको थियो । डा. महर्जन डीआईजी भएपछि डा. मिना कुँवर र डा. सुरेन्द्रमान श्रेष्ठ वरिष्ठताका आधारमा एसएसपी बन्ने छन् ।
त्यस्तै, प्राविधिक समूह सञ्चारतर्फ एक डीआईजी, एक एसएसपी, तीन एसपीसहित ६ सय जना रहेको छ । समायोजनका क्रममा सञ्चारतर्फ एक एसपी र चार डीएसपी थप गरेर सो संख्या पु-याइएको थियो । सञ्चारर्फ भने ईं. प्रमोदकुमार साह एसएसपी बन्नेछन् । साह डीआईजीमा सिफारिसमा परेका सन्दिप थापाकै ब्याचका हुन् ।






