काठमाडौं । युवा ब्याटर रोहितकुमार पौडेल र आरिफ शेखको अर्धशतक मद्दतमा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले पीएनजीमाथि २ विकेटको संघर्षपूर्ण जित निकालेको हो ।
२ सय ५ रनको विजयी लक्ष्य नेपालले ४९ ओभर ३ बलमा ८ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा रोहितकुमार पौडेलले ८५ बलमा ४ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । आरिफ शेखले ८१ बलमा २ चौकासहित ५३ रन जोडे । ओडीआईमा आरिफको पहिलो र रोहितको चौथो अर्धशतक हो । नेपाललाई जितका लागि अन्तिम ६ बलमा ५ रन चाहिँदा पहिलो बलमा लेग वाईका रूपमा चौका पाएपछि नेपाल जिततर्फ अघि बढ्यो । दोस्रो बलमा करण केसीले छक्का प्रहार गर्दै नेपालको जित पक्का गराए । करण २५ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे ।
पाँचौं विकेटका लागि आरिफ र रोहितले १ सय २ रनको कीर्तिमानी साझेदारी गरे । आरिफ र रोहित ओडीआईमा शतकीय साझेदारी गर्ने पहिलो नेपाली जोडी बनेका छन् । यसअघि ओडीआईमा सर्वाधिक ठूलो साझेदारी आसिफ शेख र ज्ञानेन्द्र मल्लले गत असोजमा ओमानविरुद्ध दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । ओपनर कुशल भुर्तेल १ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट भएपछि नेपाल २४–३ को कमजोर अवस्थामा पुगेको थियो ।
आसिफ शेख १६ रनमा स्टम्पिङ आउट भए । एक समय ४२–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ र रोहितको शतकीय साझेदारी गर्दै इनिङ्स उकासे । विनोद भण्डारीले १२ रन बटुले । सोमपाल कामी ७ रनमा क्याच आउट भए । पीएनजीका नर्मन भानुवा, राइली हेकुरे र एली नाओले समान २ विकेट लिए । असाद भाला र चाद सोपरले समान १ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा बुधबार टस जितेर पहिला ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । उसका लागि चाल्र्स अमिनीले सर्वाधिक ५९ रनको योगदान दिए । चाद सोपरले ३५ रनको योगदान दिए । एक समय ९१–४ को कमजोर अवस्थामा पुगेको पीएनजीलाई पाँचौं विकेटका लागि अमिनी र चाद सोपरले ७५ रनको महŒवपूर्ण साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
नर्मन भानुवा २३ रनमा रन आउट भए । उरा २७ रनमा क्याच भए । लेगा सियाका २५ रनमा बोल्ड भए । असाद भाला १९ रनमा पेभेलियन फर्किए । रिली हेकुरे ७ बलमा १ चौकासहित ९ रनमा अविजित रहे । सोमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३० रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । ज्ञानेन्द्र मल्लले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल घरेलु टोली ओमानसँग शुक्रबार खेल्नेछ ।
ओमान २७ खेलबाट ३६ अंक जोड्दै शीर्षस्थानमा छ । यूएई १५ खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलबाट १६ अंक जोडेको छ । अमेरिकाले १६ खेलबाट १४ अंक बनाएको छ । नामिबियाको १३ खेलबाट १२ अंक रहेको छ । नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । पीएनजी १४ खेलमा नै हार बेहोर्दै पुछारमा छ ।
नेपालको तालिका
१८ मार्च नेपालविरुद्ध यूएई, दुबई
२१ मार्च नेपालविरुद्ध यूएई, दुबई
२२ मार्च नेपालविरुद्ध पीएनजी, दुबई





