रङको पर्व होली

हाम्रो देशमा रङको पर्व अर्थात् होली अथवा फागुपूर्णिमा आइसकेको छ । यस अवसरमा वर्षमा एक दिन भने पनि मानिसले रङमार्फत खुसी साटासाट गर्छन् र जीवनका अँध्यारा पक्षलाई भुल्ने कोसिस गर्छन् । प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रङ, फूल, रूखविरुवाको रङ, हिमाल, पहाडको रङ, किराफट्यांग्राको अनेक रङ हामीले ख्याल गरेका छौं । हरिया, राता, नीला, वैजनी, पहेंला मात्रै होइन, हामीले उल्लेख गर्ने रङभन्दा धेरै रङ भेटिन्छन् प्रकृतिमा । यसको अर्थ, रङ हाम्रो जीवनसँग सिधै जोडिएको हुन्छ । जीवनको रङ र अध्यात्मको सम्बन्ध त्यसरी नै जोडिएको छ जसले हरेक रङमार्फत प्रकृति र प्रेमको अभिव्यक्ति दिन्छ । हाम्रो शरीरमा जसरी सात चक्र छन् र ती चक्रको प्रभाव सात रङसँग छ, त्यसरी नै होलीमा खेलिने रङले उस्तै वैज्ञानिक र आध्यात्मिक महŒव राख्छन् ।

रातो रङ प्रेम, शक्ति र साहसको प्रतीक हो । त्यस्तै, सेतो पवित्रताको, हरियो प्रकृति र आत्मीयताको, पहेंलो बौद्धिकता र सादगीपनाको, नीलो शान्तिको प्रतीक, सुन्तला रङले रचनात्मक शक्तिको, वैजनी होस् र ध्यानको प्रतीकका रूपमा अर्थ लगाइन्छ । त्यसैले जीवन, जगत् र पदार्थसँग रङको प्रभाव सँगसँगै रहन्छ । संसारको बाहिर जे देखिन्छ त्यसलाई हामी भौतिक रङलाई हामी फूलसँग कल्पना गर्न सक्छौं । यसलाई आँखाले हेरेर आनन्द लिन्छौं, तर त्यसको सुगन्धले हामीलाई एक सेकेन्ड भने पनि आँखा चिम्लिन बाध्य बनाउँछ, भित्री रङको अनुभूति दिलाउँछ किनकि गहिराइ या भित्र हुन्छ सुगन्ध । त्यो अदृश्य पाटो नै अध्यात्म हो, प्रेम हो र पूर्णता हो । मूलतः बाहिर जे कुराले आनन्द दिन्छ, त्यसलाई पूर्णतासाथ ग्रहण गर्न कसले रोक्न सक्छ र ?

त्यसको साथसाथ भित्री आनन्द केमा छ त्यसप्रति पनि ध्यान दिन सके मात्र जीवन प्रेमपूर्ण र पूर्णताले भरिएको अनुभूति हुन्छ । त्यसो हुँदा खुसी, आनन्द र प्रेमपूर्ण जीवन जिउन के कस्ता रङ आवश्यक छन्, त्यो थाहा पाउनुपर्छ । फलतः प्रेम, करुणा, मित्रता, धन्यवाद र शान्तिका रङबिना जीवन आनन्दित र सफल नभएको हामीले वरवर महसुस गर्दै आएका कुरा हुन् । हामी मानिस भएकै कारण हृदय अर्थात् भावनाको तलमा हुने गर्छौं । यसर्थ हृदयको तलमा हुने एक मात्र उपाय हो नकारात्मकतालाई बेवास्ता गर्ने, जसरी अन्धकारलाई हटाउन दीप जलाउनुपर्छ त्यसैगरी नकारात्मकतालाई हटाउन सकारात्मक भावको विकास हुनुपर्छ । जहाँ सकारात्मक भाव छ त्यहाँ प्रेम छ । त्यही प्रेमरूपी रङले आफ्नो र अरूको पनि जीवन रंगाउन सक्नुपर्छ ।

जीवन र अध्यात्मको सम्बन्ध त्यसरी नै जोडिएको हुन्छ, जसरी हरेक रङमार्फत प्रकृति र प्रेम अभिव्यक्त हुन्छ

परापूर्वकालमा अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्य नै किन नहुन्, वसन्त ऋतुको यो महान चाड होलीको पृष्ठभूमि र यसलाई मनाइने चलनलाई इतिहासले वर्णन गरेको छ । काठमाडांैको वसन्तपुरमा विधिपूर्वक चिर ठड्याएपछि होली पर्वको औपचारिक सुरुवात हुन्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीनतले चीर ठड्याइन्छ, असत्यमाथि सत्यको जित भएको सूचकका रूपमा यो चीर राखिने र पछि टुँडिखेलमा चीरलाई बिर्सजन गर्ने चलन रहेको छ । फलतः जलेको चीरको खरानीलाई शुभ कुराका रूपमा जो कोहीले घर लैजाने गर्दछन् । यसरी त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रहलादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफंै आगोमा भष्म भएकी दिनका रूपमा होलीको पर्व पदार्पण भएको मानिन्छ । विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि प्रह्लाद घटनाक्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महŒव अनि चलनको चर्चा गरिएको छ, भगवान श्री कृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले बध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछि गोपालबासीले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि इतिहासले बयान गर्दछ ।

नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउँछ भने पहेलो रंग भगवान श्रीकृष्णको प्रिय रंग हो । शौभाग्यको सूचक रातो रंगको प्रयोग पनि आज व्यापक गरिन्छ, अनुहार अनि शरीरभरि लागेका रगंहरू धुँदा हातैभरि रगंहरू हुने गर्दछ, खलल बगेका पानीका धारा या नुहाउने इनार अनि पोखरीका डिल आज रंगिन हुने गर्दछन् । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीत गाउँदै रातभरि विभित्र कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ, उपत्यकालगायत अन्य ठाँउमा आजै अर्थात् फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्टका दिन बिदा भई होली मनाउने प्रचलन रहिआएको छ ।

हाम्रो नेपाली समाजमा फागु पर्व पनि एउटा विशेष महŒव बोकेको चाड हो । हरेक वसन्त ऋतुुको आगमन साथै वर्षमा एकचोटी आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग, लोला आदि प्रयोग नगरी आफ्ना दौतरीबीच रमाइलो गर्ने आनन्ददायक पर्व हो । यस पर्वमा भगवानको भजन कीर्तनको साथ साथै नाचगान गरी विभिन्न किसिमका रंगले एकआपसमा मिलेर अबिर दल्दै आमोदप्रमोद गर्दै हासखेल ठट्टा गरेर आनन्द मनाउनु यो पर्वको मर्यादित गरिमा मान्न सकिन्छ । यस पर्वलाई अनुशासित रूपमा मनाउने परम्पराको मानसिकतालाई जीवन्त राख्नु सबैको परम कर्तव्य हो । यस पर्वलाई उमेरको हदबन्दी छैन्, त्यसैगरी राजादेखि रंकसम्म सबैले आपसमा मिलेर बढो उल्लासमय वातावरणमा रम्ने गर्दछन् । खास गरी युवायुवती बढो जाँगरका साथ यस पर्वमा बढीभन्दा बढी संख्यामा सहभागी हुन्छन् र रमाउँछन् ।

अनादिकालदेखि चल्दै आएको धार्मिक तथा संस्कृति संस्कार, सभ्यता, परम्परा एवं रीतिरिवाजलाई विकृतिले जरो गाडी हाम्रो अस्तित्व संकटमा पर्न जाने तथ्यलाई नकार्न सकिन्न

फागुपूर्णिमा अर्थात् होलीको प्रचलन कसरी आयो त भनी खोतल्ने हो भने विभिन्न धार्मिक कथा भेटिन्छन् जसको कारणले होली पर्व चलेको छ । प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रल्हाद नाम गरेका छोरा थिए, तर, बाबु पापिष्ट राक्षस भए तापनि छोरा प्रल्हाद भने बडो विष्णुभक्त थिए । बाबुले आफ्नो छोरालाई विभिन्न कोसिस गरेर आफ्नो बाटो अगाल्न लगाउँदा पनि भगवान विष्णुको भक्त प्रल्हादको डेग नचलेपछि आफ्नी बहिनी होलीकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए । तर प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलीका उल्टै भष्म भइन भने प्रल्हादलाई आगोले केही गर्न सकेन । सोही खुसीयालीमा होलीपर्व चलेको हो भन्ने किम्वदन्ती छ ।

अन्त्यमा भन्नुपर्दा प्राचीन कालदेखि मनाउँदै आएका विभिन्न चाडपर्वमध्ये फागु वा होली पनि एउटा विशेष महत्वको चाड हो । फागुन शुक्ल अष्टमीका दिन चीर गाडी अबिर छरेर पूजा गरी सुरु गरिने चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ । मुख्य होलीको दिन एक आपसमा अबिर दलादल गर्ने र मीठामीठा पकबान खाने चलन छ । वर्षमा एकचोटी आउँने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग नलगाएर आफू आफूमा मात्र खेल्यौं भने मात्र सही अर्थमा होलीको महŒव रहन्छ । यो पर्व नेपाल र भारतलगायत विश्वभरि नै रमाइलो गरी मनाउने गरेका छन् । विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालको आफ्नै संस्कृति र भेषभूषा रहेको छ । हाम्रो संस्कृति, सभ्यता परम्परानुसार वर्षभरि नै कुनै न कुनै पर्व पर्ने गर्दछ । कुनै पनि चाडपर्वको विशेषता नै चित्त शुद्ध पार्नु र शारीरिकरुपले निरोगी हुनु हो ।

जुन विशुद्ध उद्देश्यबाट यो पर्व परापूर्वकालदेखि सुरु भयो सोअनुरूप हाल व्यवहारमा देखापर्न सकिरहेको छैन । यो पर्व नेपाल र भारतलगायत विश्वका अरू हिन्दुधर्मावलम्बीहरूले अति नै रमाइलो गरी मनाउने चाड हो । धर्म मान्ने र पर्व मनाउने क्रममा खासगरी हाम्रो मुलुकमा मानिसले विदेशी तडकभडक र छाडा संस्कृति भित्र्याउने गरेको अवस्था कसैबाट छिपेको छैन । यस्ता पर्वको खुसीयाली मनाउने क्रममा हाम्रो समाजमा अनेकौं विकृति र विसंगतिले प्रश्रय पाउँदै आएको छ ।

यस्ता किसिमका गलत प्रवृत्तिलाई हटाउन बेलैमा सम्पूर्ण नेपाली सचेत हुनुको साथै सरकारले पनि कडाभन्दा कडा कानुनी प्रक्रिया पु¥याएर दरिलोकदम चाल्नुपर्र्छ । यसले गर्दा हाम्रो धर्म र संस्कृतिमा कुनै किसिमको विकृतिको अन्त्य हुन जाने विश्वास लिन सकिन्छ । नत्रभने हाम्रो अनादिकालदेखि नै चल्दै आएको धार्मिक तथा संस्कृति संस्कार, सभ्यता, परम्परा एवं रीतिरिवाजलाई विकृतिले जरो गाडी हाम्रो अस्तित्व संकटमा पर्न जाने तथ्यलाई नकार्न सकिन्न ।

तपाइको प्रतिक्रिया
(Visited 721 times, 1 visits today)

epaper

ताजा समाचार

वीरगन्जमा ‘रोजगार मेला २०८३’