नेपालगन्ज । बाँकेको नेपालगन्ज–१९ कारकादो बाईपासमा रहेको ब्रिटिस ईग्लिस स्कुलका कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।
बाँके प्रहरीका अनुसार बिहान ११ बजेर ४० मिनेटको समयमा करेन्ट लागेर उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुराए लगत्तै १२ बजेर ६ मिनेटमा १४ वर्षिय भरत कँडेलको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक बीरबहादुर ओलीले घटनाको विषयमा अनुसंन्धान सुरु गरेको जानकारी दिए । उनले भने–‘पानी परेको थियो चट्टयाङका कारण बिद्युतको सटसर्किट भएर करेन्ट लागेको हो कि भन्ने विषयमा अनुसंधान सुरु गरेका छौ ।’
विद्यालयमा संस्कृतिक कार्यक्रमको आयोजना गरिएको र साउण्ड सिस्टम बजाउने तयारी गर्दै गर्दा करेन्ट लिक भएर घटना भएको प्रारम्भिक जानकारी आएको छ ।
उनले शवको पोस्टमार्टम शनिबार मात्र हुने भएको कारण थप जानकारी आउन सक्ने बताए । ‘मृतकको आफन्तबाट घटनाको बिस्तृत अनुसंधानको माग गर्दै जाहेरी दिएका छन । हामी अनुसंधान गर्दै छौ’– प्रहरी उपरीक्षक ओलीले भने । मृतकका आफन्तले भने विद्यालयको लापरबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
यसैबीच विद्यालय प्रशासनसंग सो घटनाको विषयमा जानकारी लिन प्रयास गर्दा सम्पर्क हुन सकेन ।






