काठमाडौं । बिगतमा हरेक साता नयाँ नयाँ गीत रिलिज हुने गायिका समीक्षा अधिकारीको यस पटक भने दुई महिना पछि मात्र नयाँ गीत आएको छ । यी गायिकाको स्वरमा रहेको नयाँ गीत ’नो मनी’ को भिडियो नयाँ वर्षको पूर्व सन्धयामा रिलिज गरिएको हो ।
यो गीतमा समीक्षासँगै कृष्ण काफ्लेको स्वर रहेको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ । यो गीतको भिडियो हेरेपछि धेरै जसो दर्शकहरुले समीक्षालाई सकरात्मक टिप्पणी गर्दै अब गायनमा अघि बढ्न सुझाब दिएका छन् । केही दर्शकले पनि नकरात्मक टिप्पणी गरेका छन् ।
महेन्द्र निरौलाको निर्देशनमा बनेको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । भिडियोको कथावस्तुमा पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ । घरबाट अभिभावकले ’पकेट मनी’ नदिने, पैसा पाउँदा पनि मोबाइलको डाटामा सकिने, पढाइमा कम मायामा बढि ध्यान जाने जस्ता कुराहरु यो गीतमा समेटिएको छ । यसका संगीतकार प्याकुरेलले यस गीतबाट युवाहरुमाझ सकारात्मक सन्देश दिन खोजेको बताए । गीतको भिडियोलाई शुसिल डाँगीले छायांकन र निराजन केसीले सम्पादन गरेका हुन् ।