स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राजनीतिक दल ढिलो गरी घोषणापत्रको तयारीमा लागेका छन् । घोषणापत्रमा जेजस्ता विषयवस्तु समेटिए पनि स्थानीय जनता आफूले चुन्ने प्रतिनिधिले गाउँघरको विकासमा ध्यान दिनुपर्ने तथा गाउँका समस्या समाधान गर्ने किसिमले काम गरिदिए हुन्थ्यो भन्नेमा छन् ।
स्थानीय निर्वाचनताका जनताले खोज्ने भनेको स्थानीय समस्याको समाधानका लागि धारणा, नीति तथा कार्यक्रम हो । जनताले खोजेअनुसारका विकास कार्यक्रम समेटिएका घोषणापत्र पनि आउलान् तर पनि जनताले कागजमा लेखिएको घोषणापत्रलाई मात्रै विश्वास मानेर भोट हाल्नुहुँदैन । हिजोका दिनमा कुन राजनीतिक दलका नेताले के गरे ? कस्तो काम गरे ? जनताका सुख दुःखमा कतिको साथ दिए ? यी विषयलाई पनि प्रधान रूपमा हेरिनुपर्छ । यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा विभिन्न दलले स्थानीय तहको विकासका लागि ठूला ठूला योजना र कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेका थिए । निर्वाचन जितेर आएपछि उनीहरूमध्ये अधिकांशले घोषणापत्रमा उल्लेख भएका महत्वकांक्षी विकासका आयोजना नै बिर्सन पुगे । चुनाव जितेर आए पनि कैयांै समयसम्म उनीहरू कुम्भकर्ण निद्रामा व्यस्त भए ।
स्थानीय तहमा आआफ्ना विशिष्टता छन् । नेपाल आफैंमा विशिष्टताको खानी भएको देश हो । यो मूलतः नेपाली समाज बनोटको अभिव्यक्ति पनि हो । विशिष्ट अवस्था, अवस्थिति, सामाजिक बनोट, आवश्यकता, चाहना, समस्याको प्रकृति, तिनको सम्बोधन, स्थानीय अपेक्षा आदि कुरालाई स्थानीय स्तरबाटै पूरा हुने हुन् । ती समस्या केन्द्रबाट सम्बोधन हुने र गरिने भन्ने कुरा आत्मरतिका कुरा मात्र हुन् । अहिले कतिपय दलले केन्द्रबाट नै गाउँघरको विकासका लागि महत्वपूर्ण योगदान पु¥याउने गरी केन्द्रीय घोषणापत्र बनाउने काम गरिरहेका छन् । तर, केन्द्रीय घोषणापत्रले स्थानीय जनताका समस्या र मागलाई खासै सम्बोधन गर्न सक्दैनन् ।
संघीय शासनअनुसार पनि केन्द्रको अधिकार गाउँसम्म पु¥याउन स्थानीय तहको व्यवस्था गरिएको हो । फेरि संघीयताको मूल मर्म नै गाउँघरमा दिइने सेवा हो । यो सेवा दिने मुख्य निकाय भनेकै स्थानीय तह हो । त्यसैले स्थानीय तहको निर्वाचानको विशेष प्रकारको महत्व छ । दलले खाली आकर्षक खालको घोषणापत्र बनाएर जनतामा अनावश्यक भ्रम छर्नुभन्दा पनि व्यावहारिक खालका कार्यक्रम ल्याउन सक्नुपर्छ । मुख्य कुरा त उम्मेदवार छनोट गर्दा पनि स्थानीय स्तरमा नै बसेर लामो समयसम्म काम गरेको र जनताको सुखदुःखमा प्रत्यक्ष साथै दिँदै आएको व्यक्तिलाई नै उम्मेदवार बनाउनुपर्छ । स्थानीय स्तरमा पनि आमजनताले दलको घोषणापत्रलाई मात्रै विश्वास नगरी उनीहरूले उठाउने व्यक्ति कस्तो छ र उसले कस्तो काम गर्न सक्छ ? त्यस विषयलाई पनि मनन गरी धेरै सोचविचार गरेर आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । पाँच वर्षसम्म आफ्नो गाउँठाउँको विकास गर्न आउने प्रतिनिधि असल चुनौं र राम्रो छानौं ।






