भोट माग्न गरिने बाचाकसम नबिर्सौं

शरीरमा एकसरो लुगा लगाउने, बिरामी हुँदा सिटामोल पनि नपाउँदा खुसी भएर बाँच्ने नेपालीको बानीले दक्षिण एसियामै सबैभन्दा खुसी देशको सूचीमा परेको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ अनुसार फिनल्यान्ड लगातार पाँचौंपटक पनि सबैभन्दा खुसी हुने देशको १ नम्बरमा पर्न सफल भएको छ । सार्वजनिक प्रतिवेदनमा समेटिएका १ सय ४६ देशमध्ये नेपाल भने खुसी हुने देशको ८४औं स्थानमा परेको छ । वीर गोर्खाली जन्माउने नेपालका जनता ढिंडो, कोदो खाएर झनै बलिया, सुखी र खुसी छन् । विविधताले भरिपूर्ण नेपालका प्रत्येक ठाउँ रमणीय छन् । क्षेत्रफलका हिसाबले साहै्र सानो देशमा हिमाल, पहाड, तराई, खोलानाला, खप्तड जस्ता घाँसे मैदान, सांस्कृति मठमन्दिर, वनजंगल, चराचुरुंगी, विश्वमै दुर्लभ एकसिंगे गैंडा जस्ता जनावरको सुन्दरताले सिंगारिएको छ हाम्रो देश नेपाल । स्वच्छ, सफा गाउँघरको वातावरणमा हुर्किएका नेपालीहरू झनै आनन्दित छन् । गत वर्ष बेलायतको रफ गाइडले प्रकाशित गरेको सूचीमा भ्रमणका लागि नेपाल विश्वका उत्कृष्ट १० देशको पहिलो स्थानमा परेको थियो । सन् २०१६ देखि नै नेपाल भ्रमणका लागि उत्कृष्ट पहिलो स्थानमा पर्दै आएको छ ।

स्मार्ट सिटी नामकरण गरिएको तुलसीपुर बजारदेखि जम्मा १३ किलोमिटरको दूरीमा रहेको कल्ले–बल्ले गाउँका बासिन्दा अहिले पनि पानी नपाएर हैरान बनेका छन्

बाँच्नका लागि चाहिने सम्पूर्ण प्राकृतिक सम्पदाले भरिएको देशका जनता खुसी हुनु स्वाभाविक हो । तर, जनता एक्लै कहिल्यै पनि खुसी हुन सक्दैनन् । जनतासँग आफ्नो परिवार, समाज र देश हुनुपर्छ । तर, हाम्रो देशमा वर्षौदेखि भइरहेको राजनैतिक खिचातानीका कारण जनता पिल्सिन पुगेका छन् । देशमा विद्यमान स्रोतसाधनको उचित सदुपयोग भएको छैन । वनजंगल, त्यहाँ बस्ने जनावरको चोरी तस्करी भइरहेको छ । चुरे, नदीनाला, जडीबुटीको दोहन भइरहेको छ । पाँच वर्षका लागि बनेको सरकारबीचमै ढलेर गठबधन्धको सरकारले काम चलाइरहेको छ । स्थिर सरकार बन्न नसक्दा जनताले दुःख झेल्नु परेको छ । विकासको काममा बाधा आइरहेको छ । ठूला नयाँ योजना सुचारु हुन सकेका छैनन् । बूढीगण्डकी, पश्चिम सेती, पञ्चेश्वर जस्ता देशकै कायापलट गर्न सक्ने कयौं आयोजनाहरू अपवादबाहेक वर्षाैं पहिलेकै अवस्थामा छन्, काम अगाडि बढ्न सकेको छैन । विगतमा सुचारु कयौं कलकारखाना नै बन्द हुन पुगेका छन् ।

राजधानीकै फोहोर अहिलेसम्म उचित व्यवस्थापन हुन नसक्दा कहिलेकाहीं महिनादिनसम्म पनि उठ्न सकेको छैन । हालै महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काउँदा पनि सरकार मौन भएर बसेको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता भूभाग भारतले कब्जा गर्न खोज्दा पनि सरकारले उचित पहल गर्न सकेको छैन । राजनीति गर्नेहरूलाई आफ्नो कुर्सीभन्दा ठूलो अरू केही हुन छोडेको छ । छाउपडी हटाउँछु, पानीका धारा घरघरमा ल्याउँछु, छुवाछुत अन्त्य गर्छु, सरकारी स्कुलमा सुधार ल्याउछु, अस्पताल बनाउँछु भनेर भोट माग्न जानेहरू आफ्नो स्वार्थ पूर्तिपश्चात् फर्केर गाउँघरको अवस्था बुझ्न पनि चाहदैनन् ।

देशमा भइरहने राजनैतिक उतारचढावले सुखी जनताका खुसीहरू हरण गरिरहेको छ । विश्वकै खुसी देशको एक नम्बरमा पर्नुपर्ने यति सुन्दर, शान्त स्वच्छ देशका जनताहरू ८४औं नम्बरमा पर्नु कुनै खुसीको कुरा होइन । विविधताले भरिपूर्ण सानो भए पनि विश्वमै पानीमा दोस्रो धनी देश नेपालको फरक परिचय रहेको छ । त्यही पानीलाई उचित तरिकाले प्रयोग गरेर मात्रै पनि हामी विश्वमै धनी देश बन्नुपर्ने हो । विडम्बना वर्षौंसम्म १८ घन्टे लोडसेडिङ झेल्नुप-यो । अरू देशले अन्तरिक्षयानहरू प्रक्षेपण गरिरहँदा हामीहरू भने टर्चलाइट बालेर रात कटाउनुप¥यो । खोलानालामा बगेर जाने पानीलाई राम्रोसँग परिचालन गर्न नसक्दा हाम्रा खेतहरू बाँझा हुँदै गएका छन् । हिमालयको हिउँ पग्लेर बनेका नदीनालाको स्वच्छ पानी पिउन नपाउँदा वर्षौंसम्म काठमाडौंबासीले समेत हैरानी खेप्नुप¥यो । अझै पनि मेलम्चीको पानी कुर्नुपरेको छ ।

छाउपडी हटाउँछु, पानीका धारा घरघरमा ल्याउँछु, छुवाछुत अन्त्य गर्छु, सरकारी स्कुलमा सुधार ल्याउँछु, अस्पताल बनाउँछु भनेर भोट माग्नेहरू आफ्नो स्वार्थपूर्तिपछि फर्केर गाउँघरको अवस्था बुझ्न चाहदैनन्

स्मार्ट सिटी नामकरण गरिएको तुलसीपुर बजारदेखि जम्मा १३ किलोमिटरको दूरीमा रहेको कल्ले–बल्ले गाउँका बासिन्दा अहिले पनि पानी नपाउँदा हैरान बनेका छन् । अहिले पनि खानेपानी सुविधा नहुँदा देशका कतिपय ठाउँका जनताहरू बसाइसराइ गर्न बाध्य भइरहेका छन् । वर्षायाममा पानीको सहजता भए पनि जाडो सुरु भएसँगै धारामा आउने पानी कम हुँदै वैशाख लाग्दासम्म सातामा एकदिन मात्रै पानी आउने गर्छ । पहाडका विभिन्न गाउँमा पानीको साँझा समस्या रहेको छ । पानीका लागि १ देखि ३ घण्टासम्म हिंडेर खोलाबाट बोक्न बाध्य छन् जनताहरू । कल्ले–बल्ले गाउँका जनताहरू पनि झन्डै तीन घण्टा हिंडेर पानी भरिरहेका छन् । त्यहाँ पनि सजिलै पालो नपाउने उनीहरूको गुनासो छ । धादिङ बु्रसवाङबासीका बासिन्दा बिहान ३ बजे उठेर पानी भर्न पँधेरो गएर ४ घण्टापछि मात्रै घर आइपुग्छन् । बर्सेनि विकासका काममा खर्च गर्न नसक्दा बजेट फ्रिज हुन पुगेको छ । तर, त्यसको सदुपयोग जनताका पिरमर्का हटाउन उपयोग हुन सकेको छैन ।

२० वर्ष पहिले बत्ती जडान भएको मेरै गाउँ बैतडीमा समेत थोरै हावाहुरी या पानी पर्दा समेत बत्ती जान्छ । अहिलेसम्म पनि अचानक जुनसुकै समयमा पनि बत्ती गइरहने समस्या सुल्झाउन कसैले पहल गरेको देखिँदैन । धारामा पानी नआउँदा कहिलेकाहीं तीन÷चार दिनसम्म पनि गोठमा पालिएका गाईवस्तुले पानी खान पाउँदैनन् । कुवामा घन्टौं लाइन बस्दा बल्ल एक गाग्री पानी पाइन्छ । टाढाको खोलाबाट पानी नल्याई काम बन्दैन । घरघरमा बनाइएका शौचालयहरू समेत पानीको अभावमा प्रयोगविहीन भएका छन् । गाउँघरमा टाढाको मुहानबाट पानी ल्याउन नसक्दा वा पानी ल्याउन नखोज्दा यस्ता समस्या देखापरेका छन् । चराचुरुंगी, जंगली जनावरले अन्नबाली नष्ट गरिदिँदा गाउँघरमा बस्नसक्ने वातावरण छैन । जंगली जनावरबाट अन्नबाली जोगाइ जनतालाई गाउँमै बस्ने वातावरण बनाउन कसैले पहल गरेको देखिँदैन । जंगली जनावरले उठिबास लगाउँदा हजारौं घर परिवार गाउँ छोडेर तराई झर्ने वा भारत पस्दा पनि नियन्त्रणका कुनै पनि उपाय अपनाएको देखिँदैन । जनताका आकांक्षा धेरै ठूला छैनन् । आफ्नै ठाउँमा गरिखाने वातावरण होस् भन्ने जनताको भावनाअनुसार काम गर्न सक्नुपर्छ अब चुनिने पदाधिकारीले ।

अहिलेसम्म सरकार चलाउनेहरूले कुर्सीमा बसेर भाषण मात्र गरे । काम गर्न सकेनन् । आफ्ना लागि नयाँ गाडी, नयाँ भवनदेखि नयाँ हेलिप्याडसम्म बनाउन लगाए । यसले भविष्यमा देशको ढुकुटीमा पर्न सक्ने असर’bout सोचेनन् । समयमा बुद्धि पु¥याउन नसक्दा अहिले प्रत्येक दिन निर्यातको तुलनामा आयात बढिरहेको छ । महँगी बढ्दो छ । सिंगापुर बन्नुपर्ने देश कहीं श्रीलंका त बन्ने होइन भन्ने एक प्रकारको डर जनतामा देखिन थालेको छ । नेपालको हावापानीमा स्याउ, सुन्तला, धान, गहुँ सजिलै फल्न सक्ने भए पनि आयातमा कमी आएको देखिँदैन । केही स्थानीय निकायले उदाहरणीय काम गरे पनि धेरैजसो निकाय कछुवा गतिमै हिंडेका छन् । चुनाव नजिकिँदै गर्दा नेताले भोट माग्न मात्रै घरदैलो नचाहारी जनतासँग गरेका बाचाकसम पूरा गर्नतर्फ लाग्नुपर्छ । सधैंभरि जनतालाई ढाँट्नु कदापि उचित होइन । एक जना कुलमानले वर्षौंदेखि अन्धकारमा बाँचेका जनतालाई कसैले सोच्नै नसक्ने गरी उज्यालो दिन सके भने देश, प्रदेशमा रहेका हजारौं नेता कार्यकर्याले काम गर्न खोज्ने हो भने असम्भव केही पनि छैन । सानो खुुसीमा पनि रमाउन सक्ने नेपाली जनताका लागि नेपाल फिनल्यान्ड जस्तै खुसी देश बन्न धेरै समय लाग्ने थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने