जनकपुरमा मनाइयो जुडशितल पर्व

जनकपुरधाम । मैथिलहरुले आज जुडशितल पर्व मनाएका छन् । विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्षमा ‘जुडशीतल’ पर्व मनाइन्छ । दुई दिन मनाइने यो पर्वको पहिलो दिन ‘सतुवाइन’ र बैशाख २ गतेलाई ‘जुडशीतल’ भनिन्छ । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वले प्राचीन मिथिला क्षेत्र उल्लासमय बनेका छन् । मधेश प्रदेश सरकारले यो पर्वको महत्व देखेर नै बैशाख २ गते सार्वजनिक विदा दिएको थियो ।

बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल पार्ने मान्यताले खाइन्छन् । ् नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व सुरु हुन्छ । मधेस प्रदेशको नीति आयोगका उपाध्यक्ष एवं संस्कृतिविद् डा. भोगेन्द्र झाले जुडशीतलले प्रकृतिको संरक्षण र सामाजिक सदभाव मुख्य सन्देश रहेको बताए । ‘आजको दिन बिहानैदेखि मिथिलाञ्चलभरी आफुभन्दा सानाको शिरमा(टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ ।’ उनले भने ‘बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल रालेर आर्शीवाद दिने चलन छ ।’

परम्पराअनुसार आज घर–घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिएका छन् । बढ्दो गर्मीबीच ‘शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएको हुँदा यो पर्वलाई ‘जुडशीतल’ भनिएको मैथिल परम्परा र संस्कृतिका जानकार डा. रेवतीरमण लाल बताउँछन् । पर्वमा सहकाल (अनुकूल वर्षा र मौसम, अनिकाल व्याधीको प्रकोप नहुने) को कामना गरिने हुँदा यसको मुख्य सन्देस कृषिसँग सम्बन्धित रहेको डा. लालको भनाइ छ ।

आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । ‘सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो,’ संस्कृतिविद् चन्द्रमोहन झा ‘पडवा’ ले भने । नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ । आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन् ।

उनले जुडशितलमा पहिले पहिले ईनार, कुवा, पोखरीहरु गाउँहरुमा युवाहरुले सफाई गर्ने अभियान नै सञ्चालन गर्दै आएकोमा अहिले आएर नयाँ पुस्तालाई जुडशीतलको ’boutमा जानकारी समेत नरहेको बताए । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुको यस्ता पर्वको संरक्षणमा महत्वपूर्ण योगदान रहेको उनको भनाई छ ।

जुडशीतल प्रकृति पूजाको पर्व भएको मैथिली संस्कृतिका जानकार पडवा भन्छन्,‘ जुडशीतलमा मानव मात्र नभई रुख विरुवा समेतलाई जुडाउने(जलसिंचन) चलन छ । यस पर्वलाई मिठो खाने पर्वको रुपमा समेत लिइन्छ ।’ विभिन्न किसिमका तरुवा, करीबरी, सजिनाको तरकारी, टिकुलाको चटनी लगायतका परिकार पकाई ईष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ । बैशाख १ गते मिथिला क्षेत्रमा राती चुल्होमा आगो बालेर बैशाख २ गते खाना पकाउन नहुने मान्यता चलिआएको छ ।

अघिल्लो रात पकाएका बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भन्ने जनविश्वासले यो चलनले निरन्तरता पाएको संस्कृतिविद् पडवा बताउँछन् । जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ । त्यस अवसरमा चिचिलोको तरुवा, सजिनाको तरकारी, करी र बडीजस्ता परिकार महत्वपूर्ण र अनिवार्य मानिन्छ ।

यसमा पूर्खाका लागि भनेर नलले भरेको घैटो, सतुवा, जौ, आँपको टिकुला तथा पङखा ब्राम्हणहरुलाई दान गर्ने परम्परा रहेको छ । साथै गृहिणीहरुले इष्टदेवलाई पुरैनिको पातमा सतुवा, सक्कर तथा आँपको टिकुलाबाट बनाइएको चटनी (आचार) चढाउने चलन छ ।

बैशाख १ गते तुलसी चौरा वा शिवलिङ्गको छेउमा बाँस गाडेर त्यसमा गाग्रोमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ । कुश भएर तुलसी चौरा वा शिवलिंगमा थोपाथोपा पानी झर्ने गर्छ ।

आरामको क्षणमा आत्मियता बडाउनका लागि मनाईने यो पर्वले भातृत्वको भावना तथा एकआपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ । जुडशीतलको दिन खेत, खलिहान, आँगन, दलान, गाईबस्तु, रुखबिरुवासहित सबै जीवप्राणीलाई पानीले सिँचित गरेर शीतलता प्रदान गर्ने भएकोले यो पर्वलाई शान्ति, भातृत्व, सद्भाव र प्रकृतीको पर्वको उपमा दिने गरिएको छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा यो पर्व कृषिसँग सम्बन्धित रहेको जानकारहरु वताउँछन ।

तपाइको प्रतिक्रिया
(Visited 498 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)