काठमाडौंमा किन पटक पटक थुप्रिन्छ फोहोर ?

काठमाडौं । काठमाडौं उपत्यकाको चोकदेखि गल्ली गल्लीमा फेरि फोहोर थुप्रिएको छ । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा फोहोर उठ्न नसक्दा काठमाडौं दुर्गन्धित बनेको छ ।

साता दिनभन्दा बढी समयदेखि फोहोर थुप्रिँदा दुर्गन्ध बढेसँगै सर्वसाधारणले दुर्गन्धमा नाक थुनेर हिँडडुल गर्न बाध्य भएका छन् ।

काठमाडौं महानगरपालिकाले थुप्रिएको फोहोर उठ्न सुरु भएको जनाएको छ । एक सातामा काठमाडौंमा थुप्रिएको फोहोर उठिसक्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् । ‘आन्दोलनरत स्थानीयसँग सहमति भइसकेको छ, अब एक साताभित्र काठमाडौंको फोहोर उठिसक्छ,’ उनले राजधानीसँग भने ।

महानगरपालिकका प्रवक्ता डंगोलले काठमाडौंको फोहोर उठ्न नसक्नुको कारण महानगरको नभएर संघीयको सरकारको कारण भएको बताएका छन् ।

किन पटक पटक थुप्रिन्छ फोहोर
काठमाडौं उपत्यकाको फोहोर यसरी उठ्न नसक्नुको कारण भने संघ सरकार बढी जिम्मेवार रहेको पाइन्छ ।

संघ सरकारले ठेक्का दिएको पासाङ ल्हामु सडकको समयमा नै पिच हुन नसक्दा स्थानीयले सडक अवरोध गरेर सडक निर्माणका लागि दबाब दिने गरेका छन् । स्थानीयको विरोधका कारण काठमाडौंको फोहोर सिसडोल जान रोकिने गरेको छ ।

चोकदेखि गल्ली गल्लीमा फेरि जताततै फोहोरको थुप्रो

स्थानीयले सरकारले सडक बाटो निर्माण नगरेको भन्दै पटक पटक फोहोरका गाडी रोक्दै आएका छन् । यसअघि फागुन लागेसँगै स्थानीयले बाटो अवरोध गरेर फोहोर बोकेका गाडी रोकेपछि दुई साता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।

पासाङ ल्हामु राजमार्गमा पर्ने तीनपिप्लेका स्थानीयले सडक पिच गर्नुपर्ने माग राखेकोमा तत्काल निर्माणको काम सुरु भएपछि फोहोरका गाडी आवातजावत गर्न पाएका थिए । पुनः सोही राजमार्गको अर्को खण्डमा सिसडोलकै विषयलाई लिएर अवरोध भएपछि फेरि काठमाडौंको फोहोर उठ्न रोकिएको थियो ।

अहिले आएर तीनपिप्लेका स्थानीयले फेरि फोहोरका गाडी बोकेका ट्रकको आवातजावत रोकेका हुन् । ‘यसअघि १५ चैतसम्म ६ किमी बाटो पिच गरिसक्ने सहमति भएको थियो, त्यसअनुसार काम नभएपछि स्थानीयले सडक रोकेका हुन्,’ प्रवक्ता डंगोलले भने । त्यस क्षेत्रमा फेरि सडक निर्माणको काम सुरु भएसँगै स्थानीयले फोहोरका गाडी सिसडोल जान दिएको र अहिले फोहोर उठाउन थालिएको उनको भनाइ छ ।

मन्त्रिपरिषद्मा विषय, समस्या अझै उस्तै
सडक ठेक्का लागेको नौं वर्षसम्म पिच नभएपछि गत १ फागुनदेखि बालाजु–रानीपौवा खण्डका स्थानीयले झन्डै दुई साता सडक रोकेर अवरोध गरेपछि मन्त्रिपरिषद्सम्म यो विषयले प्रवेश पाएको छ ।

मन्त्रिपरिषद्ले बन्चरे डाँडा ल्यान्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न ¥यापिड एक्सन टास्क फोर्स गठन नै गरेको थियो । टास्क फोर्स गठन गरिए पनि अहिलेसम्म प्रगति भने देखिएको छैन ।

त्यसो त यसअघि, फोहोरका गाडी रोकेर आन्दोलन भएपछि झन्डै डेढ वर्षदेखि गुमनाम सडक विभाग र ठेकदार शैलुङ कन्स्ट्रक्सन इन्जिनियर तथा कामदार सडकका उपस्थित भएर काम थालेका थिए । केही दिन काम गरिए पनि फेरि बिस्तारै काम गर्ने क्रम घटेसँगै स्थानीयले फेरि सडक रोकेका हुन् ।

पासाङ ल्हामु राजमार्गमा पर्ने उक्त सडक खण्ड करिब नौ वर्षअघि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले पिच गर्ने ठेक्का पाएको थियो । करिब ६ किलोमिटर सडक विगत नौ वर्षको अवधिमा पनि ठेक्का पाएको शैलुङले पिच नै नगरेको पाइएको छ ।

स्थानीयले सो क्षेत्रमो ठेकेदार कम्पनीका मालिक शारदाप्रसाद अधिकारीको फोटो नै राखेर छिटो पिच गर्न दबाब दिएका थिए । विगत १६ वर्षदेखि नुवाकोटको सिसडोलमा काठमाडौं, ललितपुरलगायत ठाउँको फोहोर फालिँदै आएको छ ।

सरकारले दिगो रूपमा फोहोर व्यवस्थापन गर्न नुवाकोट–धादिङ सिमानामा रहेको बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँदै आए पनि ढिलासुस्तीका कारण अझै निर्माण सम्पन्न हुन सकेको छैन । ३१ करोड रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा कुल ५८ प्रतिशत मात्र काम सकिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 396 times, 1 visits today)

epaper

ताजा समाचार

क्यानको पछिल्ला कामबाट आईसीसी प्रभावित छ: पारस खड्का