इटहरी बम बिस्फोट घटना : मुख्य योजनाकारसँग नजिक रहेका पत्रकार पक्राउ


इटहरी । गत चैत १४ गते इटहरी २ मा बम बिस्फोट गराउने हिमाल सुरक्षा परिषद र कङग्रेन्ट फ्रन्ट अफ नेपाल नाम गरेको सङ्गठनसँग आबद्ध भएको आरोपमा प्रहरीले झापा दमकबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका उत्तम रिजाल रहेका छन् । उनी पत्रकार समेत रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार रिजाललाई मंगलबार १ नं. प्रदेश प्रहरी कार्यालयको आरआईटी समूह विराटनगरले पक्राउ गरेको हो । ‘हामीले बुधबार यहाँ ल्याएर म्याद थप गरेका छौँ,’ खड्काले भने, ‘लामो समयको अनुसन्धानपछि पक्राउ गरेका हौँ, यहीँको मुद्वा भएका कारण थुनामा राखेर अनुसन्धान भइरहेको छ ।’

डीएसपी खड्काका अनुसार पक्राउ परेका रिजालमाथि १० दिनको म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

हिमाल सुरक्षा परिषद्का मुख्य योजनाकार खगेन्द्र खरेलसँग बम बिस्फोट गराउने कार्यमा रिजालको समेत प्रत्यक्ष भूमिका रहेको आधारमा उनलाई पक्राउ गरेको डीएसपी खड्काले बताए ।

यसअघि गत चैत १४ गते राति इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित नवजागृति टोलमा रहेको अमित श्रेष्ठको घरको तल्लो तलामा बम बिस्फोटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

झापामा पनि उक्त समूहले बम बिस्फोट गराउने योजना बनाइरहेको प्रमाण फेला पारेपछि रिजाललाई पक्राउ गरी मुद्वा चलाइएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार गत माघ ९ गते झापाको बिर्तामोडमा र माघ १३ गते दमकस्थित शिवान चर्चमा हिमाल सुरक्षा परिषद्का पर्चाहरूसहित बिस्फोटक पदार्थ राख्नेका मुख्य नाइके खरेल नै रहेको खुलेको छ । यसअघि यही परिषद्को नाममा आतङ्क सिर्जना गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

हिमाल सुरक्षा परिषदको पर्चा भर्खरै सशस्त्र युद्वको घोषणा गरेको संगठन हो । फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।

संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू यो सङ्गठनले राख्दै सशस्त्र युद्वको घोषणा गरेको हो ।

खरेलले नेतृत्व गरेको भनिएको हिमाल सुरक्षा परिषद् नेपाल भन्ने संगठनमा राजनीतिक पृष्ठभूमि भएका व्यक्ति संलग्न नभएर वैदेशिक रोजगारी सम्बन्धी ठगी, लागूऔषध मुद्दामा जेल परेर छुटेकाहरू छन् ।

झापा, मोरङ र सुनसरीका व्यापारी व्यवसायीलाई तर्साएर चन्दा असुल्ने धन्दा चलाउने उद्देश्यले स्थानीय तहको चुनाव नजिकिँदै गर्दा शंकास्पद गतिविधि गर्नेहरूविरुद्ध निगरानी गदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 477 times, 1 visits today)

epaper

ताजा समाचार

पाकिस्तानमा विद्यालयको छाना खस्दा कम्तीमा ३३ विद्यार्थी र एक शिक्षकको मृत्यु