धनगढी बनाउने मेरो एक मात्र लक्ष्य हो : गोपाल हमाल, स्वतन्त्र उम्मेदवार

अघिल्लो चुनावमा पराजय भएर पनि पुनः उठ्दा तपाईंलाई धनगढीवासीले किन भोट दिने ?

मेरो उम्मेदवारी दोस्रो मात्रै होइन, अन्तिमपटक हो । धनगढीको कण–कणमा भिजेको छु । भ्रष्टाचार व्याप्त छ । सिधा कुरा हो, भ्रष्टाचारको अन्त्य गर्न, सुशासन कायम गर्न र प्रणालीको विकास गर्नलाई मेरो उम्मेदवारी हो ।

सबैका विकासे एजेन्डा समान देखिन्छन् । तपाईं आफूलाई अरूभन्दा कसरी फरक पाउनुहुन्छ ?

वास्तवमा राजनीति पेसा होइन, सेवा हो भन्ने कुराको सुरुवात हुन्छ । म मेयर भइसकेपछि सरकारी कामको शिलशिलामा देशका विभिन्न भागमा सयौंपटक भ्रमण गर्नुपर्ने हुन्छ । त्यो क्रममा चाहिने खर्च म आफ्नो व्यक्तिगत खर्च गर्नेछु । एक रुपैयाँ पनि धनगढी उपमहानगरको लिन्नँ । पहिलो फरक त्यही हो । दोस्रो कुरा प्राथमिकताका आधारमा विकास हुन्छ । अघि पनि भनिसकें, अहिले के हुँदै आएको छ भने कार्यकर्ता पाल्नुपर्ने छ । कार्यकर्ता कहाँ–कहाँ छन्, तिनीहरूलाई खोज्नुप-यो । तिनीहरूको ठाउँमा मात्रै विकास हुन्छ । तर, हाम्रो हकमा त्यस्तो हुँदैन । मलाई कार्यकर्ता पाल्नु छैन । हामीचाहिँ कुन ठाउँको प्राथमिकता कसरी निर्धारण गर्ने ? शिक्षामा के हुन्छ ? त्यहीअनुसार विकासको कार्य अगाडि बढाउँछौं । पुनः भन्छु, भ्रष्टाचारको अन्त्य गर्छु । धनगढी उपमहानगरपालिकामा कुनै पनि योजनामा हामी भ्रष्टाचार हुन दिँदैनौं । र सुशासन कायम गर्छौं । जसले अहिले जनताले दुःख भोग्नुपरिरहेको छ । ढिलासुस्ती छ । पैसा खाने प्रवृत्ति छ । हामी त्यो सबै अन्त्य गर्छौं ।

ग्रामीण भेगका मतदाताकहाँ कसरी पुगिरहनु भएको छ ?

२०७४ सालको निर्वाचनलाई लक्षित गरी सवाल गर्नुभयो होला । ग्रामीण भेगका जनता कम चलायमान छन् भन्ने तपाईंको जिज्ञासा लाग्यो । वास्तवमा गत निर्वाचनमा म अप्रत्यासित रूपमा चुनावमा उठेको थिएँ । मैलै धेरै मान्छेलाई चिनेको पनि थिइनँ । तर, अहिले अवस्था फरक छ । हामी सबै मतदाताको घरदैलोमा पुगेका छौं । गाउँका जनतालाई प्रताडित गरिएको छ । गाउँका जनताले त भन्दैनन् नि सिंहदरबार चाहिएको भनेर । त्यहाँका जनताले त भन्छन्, टाइममा मल चाहियो । टाइममा बिउ चाहियो । कृषिमा सिँचाइ चाहियो । त्यसकारण हामीले ग्रामीण जनताका समस्या समाधानको विषय उठान गरेका छौं । किसानका मुद्दा प्राथमिकतामा राखेका छौं । जुन कारण गाउँ र सहरका प्राथमिकता फरक छन् । यसैअनुसार हामी गाउँ–गाउँमा पुग्दै छौं ।

तपाईंले चुनाव जित्नुभयो भने स्थायी कर्मचारीलाई दुःख दिन्छ, अस्थायी, करारलाई हटाउँछ भनेर व्यापक हल्ला छ के त्यो सत्य हो ?
गोपाल हमाल उपमहानगरपालिकामा जितेर आएपछि करारका कर्मचारी, अस्थायी शिक्षक, राहत शिक्षकलगायत उपमहानगरपालिकाभित्रका अस्थायी कर्मचारीलाई निकाल्छ र स्थायी कर्मचारीलाई पनि दुःख दिन्छ भनेर आमधनगढीबासीमा एउटा हल्ला फिजाउन खोजेको देखियो । यो हल्लाको पछाडि नलाग्न उपमहानगरपालिकाका कर्मचारी, आममतदाता र मेरा शुभचिन्तकलाई आग्रह छ । हामी हाम्रो धनगढी बनाउँछौं भनेर अभियान चलाएर अगाडि बढिरहेका छौं । कसैमाथि द्वेष भाव राखेर, बदला लिन अभियानमा लागेको होइन । त्यो हल्ला मात्र हो त्यसमा सत्यता छैन ।

तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग ?

गएको निर्वाचन हेर्नुहुन्छ भने स्वाभाविक रूपमा गठबन्धनसँग प्रतिस्पर्धा हुन्छ । तर, मतदाता कुन मुडमा हुनुहुन्छ, म अनुमान गर्न सक्दिनँ । पोखरीभित्र कति माछा छन् ? म अनुमान लगाउन सक्दिनँ । मलाई जनताले कुन स्थानमा राख्नुहुन्छ, उहाँहरूको कुरा हो । जनताले जे निर्णय गर्छ, मैले शिरोधार्य गर्नुपर्ने हुन्छ । म एउटा स्वयंसेवकका रूपमा पाँच वर्षमा यो ठाउँको विकास गर्छु भनेर उम्मेदवारी दिएको छु ।

तपाइको प्रतिक्रिया
(Visited 393 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन