नुवाकोटमा कतै गठबन्धन कतै एक्ला एक्लै

नुवाकोट । स्थानीय तहको निर्वाचनको माहोलले नुवाकोट तातेको छ । राजनीतिक दलहरु कतै गठबन्धन त एक्लाएक्लै चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारको घरदैलो र गीत संगीतको लहरले डाडाँपाखामा छुट्ट रौनकता छाएको छ ।

जिल्लाका तीन वटा पालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएका छन् भने केही पालिकामा माओवादी र समाजवादीको गठबन्धन छ । ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विजयी भएका विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुको साझा उम्मेदवार छन् । विदुर नगरपालिकामा नेपाली कांग्रेसका राजनलाल श्रेष्ठ र उप्रमुखमा एकीकृत माओवादीकी प्रभा बोगटी उम्मेदवार छिन् । नेकपा एमालेबाट सञ्जु पण्डित दोहोरिएर उम्मेदवार बनेका छन् । यहाँको चुनावी माहोल रोमान्चक बन्दै गएको छ । सत्ता गठबन्धनका उम्मेदवारहरु बलियो भएपनि एमालेका उम्मेदवारहरु पनि जित आफ्नो पक्षमा पार्नका लागि जुटे्का छन् ।

बेलकोटगढी नगरपालिकामा झिनो मतान्तरले ०७४ को निर्वाचनमा पराजय भोगेका माओवादी केन्द्रका जगत लामा प्रमुख पदका उम्मेदवार छन् भने नेपाली कांग्रेसका शिव दाहाल उपप्रमुखका उम्मेदवार बनेका छन् । नेकपा एमालेका राजेन्द्ररमण खनाल बेलकोटगढीको प्रमुखमा दोहोरिएर उम्मेदवार भएका छन् । यो पटक गठबन्धनका उम्मेदवारहरुसँग जनताको मन जितेर नेतृत्व आफ्नो पक्षमा पार्न निवर्तमान प्रमुख खनाल ठूलै संघर्ष गरिरहेका छन् ।

एमाले माओवादी गठबन्धन

जिल्लाको किस्पाङ गाउँपालिकामा भने अनौठो गठबन्धन छ । यहाँ ‘प्रतिगमनकारी’ भनेर नथाक्ने माओवादीले एमालेसँग गठबन्धन बनाएको छ । एमालेका विरवल तामाङ अध्यक्षका उम्मेदवार छन् भने माओवादीका अर्जुन न्यौपाने उपप्रमुखका उम्मेदवार छन् । किस्पाङमा यस अघि नेपाली कांग्रेसका छत्र लामाले जितेका थिए । उनी पनि अहिले दोहोरिएर अध्यक्षमा प्रतिष्पर्धामा उत्रेका छन् । ‘भुगोल र राजनीतिक अवस्थाका आधारमा गठबन्धन भएको हो, माओवादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार न्यौपानेले भने ‘हामीले स्थानीयको आवश्यकताको आधारमा तालमेल गरेका हौँ ।’

जिल्लाको तादी गाउँपालिकामा भने जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ नै चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनका लागि यो गाउँपालिकामा जित्नै पर्ने चुनौती छ तर, माओवादी केन्द्रका किरण रिजाल, एकीकृत समाजवादीका केपी लामिछाने र एमालेका विजयकुमार खनाल अध्यक्ष पदका उम्मेदवार छन् । यो पालिकामा पनि निर्वाचन रोचक बन्ने देखिएको छ ।

जिल्लाको विकट गाउँपालिका भनेर चिनिने दुप्चेश्वर गाउँपालिकामा पनि चुनावी माहोल तातेको छ । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङ मनोनयन दर्ताको दिन नेकपा एमालेमा प्रवेश गरेर सोही पार्टीबाट उम्मेदवार बनेका छन् । पार्टीभित्र लामो संघर्ष गरेका कार्यकर्ताहरु भने एमाले नेतृत्वप्रति असन्तुष्टीसमृेत बढेको कार्यकर्ताहरुको भनाई छ । दुप्चेश्वरमा कांग्रेसले पूर्णबहादुर तामाङलाई अध्यक्ष र मञ्जु आचार्यलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । मञ्जु यस अघि पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

शिवपुरी गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रवीच तालमेल भएको छ । यहाँ एकीकृत समाजवादीका जिल्ला सचिव पदम उप्रेती अध्यक्षका उम्मेदवार छन् भने माओवादी केन्द्रका विरबहादुर तामाङ उपाध्यक्षका उम्मेदवार छन् । शिवपुरीमा नेकपा एमालेका जितेन्द्र विष्टले गठबन्धनसँग प्रतिष्पर्धा गरिरहेका छन् भने नेपाली कांग्रेसको तर्फबाट शिवपुरीमा गोविन्दप्रसाद थपलिया अध्यक्षमा प्रतिष्पर्धा गरिरहेका छन् । यो पालिकाको चुनाव पनि निकै प्रतिष्पर्धात्मक रहेको स्थानीयहरुको भनाई छ । म्यागङ गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख आशा लामा, एमालेको तर्फबाट मेघनाथ तामाङ प्रमुख पदमा प्रतिष्पर्धा गरिरहेका छन् ।
सुर्यगढी गाउँपालिकामा नेपाली कांग्रेसका सन्तबहादुर घले अध्यक्षका उम्मेदवार छन् । उनी यस अघि पनि निर्वाचित अध्यक्ष हुन् । यहाँ एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन बनाएको छ । एकीकृत समाजवादीबाट धु्रव अधिकारी अध्यक्ष र इमानसिं लामा उपाध्यक्षका उम्मदेवार छन् । एमालेका राजेन्द्र रिजाल पनि सुर्यगढीको लागि उत्तिकै प्रतिष्पर्धामा छन् ।

लिखु गाउँपालिकामा पनि यस पटकको चुनाव निकै प्रतिष्पर्धात्मक हुने देखिएको छ । निवर्तमान अध्यक्ष धु्रव श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका छन् भने पूराना शिक्षक कृष्णबहादुर राई माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार छन् । एमालेले यहाँ मेघनारायण श्रेष्ठलाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ ।

पञ्चकन्यामा नेपाली कांग्रेसका माधवप्रसाद खनाल, माओवादी केन्द्रका रमेश तामाङ अध्यक्षका उम्मेदवार छन् । तामाङ यस अघि पनि निर्वाचित अध्यक्ष हुन् । एमालेले यमबहादुर थापालाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ । थापा मनोनयनको दुई दिन अघि मात्रै नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका हुन् ।

ककनीमा नेपाली कांग्रेसका नवराज घिमिरे प्रमुख, एमालेका काशी अधिकारी, माओवादी केन्द्रबाट सुमन तमाङले प्रतिष्पर्धा गरिरहेका छन् । काठमाडौंसँग जोेडिएको र पर्यटकीय क्षेत्र भएकाले यो पालिकाको निर्वाचन कस्ले जित्छ भन्ने चासो राजधानीसम्म बढेको छ । यो क्षेत्रमा पनि तीन वटै पार्टीको तिब्र प्रतिष्पर्धा रहेको स्थानीयहरुको बुझाई छ । समाजवादीबाट यस क्षेत्रका पूराना नेता जितबहादुर बलामी एकीकृत समाजवादीबाट उपाध्यक्षको उम्मेदवार छन् । उनले पनि रौनक बढाइरहेका छन् ।

तारकेश्वरमा नेपाली कांग्रेसका शिव अधिकारी गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार छन् । माओवादी केन्द्रको भागमा परेको उपाध्यक्ष पदमा हरिप्रसाद रिमालले प्रतिष्पर्धा गरिरहेका छन् । भने रमेश वस्ती नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका छन् । वस्ती निवर्तमान अध्यक्षसमेत हुन् ।

जिल्लाको कतिपय पालिकाहरुमा भने पालिका प्रमुख र उपप्रमुख मात्रै गठबन्धन बनाएर निर्वाचनमा होमिएका नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुलाई कार्यकर्ताहरुले इमान्दार भएर मतदान गर्छन् कि गर्दैनन् भन्ने चिन्ता बढ्न थालेको छ । वडा स्तरमा ‘मित्रवत’ प्रतिष्पर्धा गरेर एक दलले अर्को दललाई ‘सिध्याउने’ खेलमा लागेका तल्लो तहमा भाँडभैलो भएमा गठबन्धनका उम्मेदवारलाई जित्नसमेत कठिन हुने अड्कल गर्न थालिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 521 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?