सुर साधनामा गुन्जिए डेनी

काठमाडौं । सांस्कृतिक संस्थानले हरेक महिना आयोजना गर्दै आएको एकल गायन शृंखला ‘सुर साधना’को अठारौं संस्करणमा यसपटक गायक तथा संगीतकार डेनी निरौलाले आफ्ना गीतहरू प्रस्तुत गरेका छन् । कोरोनाको त्रासप्रति सचेत हुँदै मास्क लगाएर कार्यक्रममा सहभागी भएका दर्शकहरूले डेनीलाई हरेक गीतमा तालीले साथ दिए ।

कार्यक्रममा डेनीले ‘म जिउँदो लाश’, ‘धेरै धेरै लामो कथा’, ‘फूल दिन्छु भन्थ्यौ’, ‘लाली हुँदो रहेछ माया’ जस्ता आफ्ना चर्चित गीत सुनाएर पहिलो चरणमा दर्शकलाई मोहित तुल्याए । उनले यी सबै गीत आफ्नी आमालाई समर्पण गरेका थिए । यी गायकलाई उनकै गायिका बहिनी झुमा निरौलाले युगल गायनमा साथ दिए । सो कार्यक्रममा गायक डेनीलाई खड्ग बुढा मगर, लोकराज राई, अनुप दास, रोहित सुवेदी, दुर्गाप्रसाद खतिवडा, दीपेन्द्र बज्राचार्य, भगिरथ सुस्लिङ, सीता मैया राजचल र नरेश प्रजापतिले वाद्यवादनमा प्रत्यक्ष साथ दिएका थिए ।

डेनीका गीत सुन्न पुगेको पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ पनि कार्यक्रममा प्रस्तुत गीतमा रमेका थिए । पूर्वसभामुख नेम्बाङले डेनी सांगीतिक परिवारमा हुर्किएकाले उनको गायन शैलीबाट आफू प्रभावित भएको सो कार्यक्रममा बताए । ‘डेनीको प्रस्तुतिले उनी कहाँसम्म पुग्ने लामो रेसको घोडा हो भन्ने प्रस्ट थाहा हुन्छ । उनको साँगीतिक भविष्य उज्ज्वल छ,’ नेम्बाङले भने ।

कार्यक्रममा गीतकार चेतन कार्की, गायक तथा संगीतकार गणेश रसिक, गीतकार सुवासचन्द्र ढुंगेल, संगीतकार भूपेन्द्र रायमाझी, गायक गणेश पराजुलीलगायतले पनि डेनीको गायनको खुलेर प्रशंसा गरे ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?