विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न गयो । हाम्रो देशको अर्थतन्त्रको महत्वपूर्ण आधारमा वैदेशिक रोजगारी, वैदेशिक सहयोग, कृषि, पर्यटन, जलस्रोत आदि हुन् । यस वर्षको सुरुदेखि नै वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा ठूलो गिरावट आयो । कृषिमा पनि उत्पादनमा विविध कारणले कम भयो । आर्थिक सूचक नकारात्मक हँदै जाँदा बजारमा समस्या देखाप-यो । तरलताको अभाव, मूल्य वृद्धि, उत्पादनमा कमी, व्यापार घाटा बढ्दै जानु, रोजगारी सर्जना गर्न नसक्नु, पर्यटन व्यवसायमा सुस्तता आउनु जस्ता कारणले थप समस्या सिर्जना भएको छ । हामीले रोजगारी सिर्जना गर्न नसक्दा अनेकांै समस्याको सामना गर्दै विदेशमा जानुपरेको छ । वास्तवमा भन्ने हो भने उत्पादन घट्नुको कारणमा युवा विदेश जानु पनि एक हो । श्रम गर्ने समूहको अभावले समस्या आएको देखिन्छ ।
रेमिट्यान्स पनि कम हनु र त्यसलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्नुले अपेक्षित लाभ लिन सकेका छैनौं । अर्को महत्वपूर्ण क्षेत्र भनेको कृषि हो जहाँ आमयुवाको आकर्षण रहेको देखिँदैन । हाम्रो कृषि निर्वाहमुखी र परम्परागत हुँदा अपेक्षित फाइदा लिन सकिएको छैन । कृषिलाई सम्मानित र मर्यादित बनाउन नसक्दा थप समस्या सिर्जना भएको देखिन्छ । कृषिप्रधान देशमा मासिक करोडौंको खाद्यान्न आयात गरिरहेका छौं । कृषिलाई व्यवस्थित, व्यावसायिक, सम्मानित र मर्यादित बनाउने हो भने यसले सर्वत्र सकारात्मक नतिजा प्राप्त गर्न सकिन्छ । यसका लागि राज्यले विशेष ध्यान दिनुपर्छ । विशेष नीति र योजनाका साथ प्रभावकारी कदम चाल्न आवश्यक हुन्छ ।
तरलताको अभाव, मूल्य वृद्धि, उत्पादनमा कमी, व्यापार घाटा बढ्दै जानु, रोजगारी सिर्जना गर्न नसक्नु, पर्यटन व्यवसायमा सुस्तता आउनु जस्ता कारणले थप समस्या सिर्जना भएको छ
पर्यटन व्यवसायमा पनि कोरोनाको प्रभावले थलिएको थियो जुन अब केही सुधारको दिशामा जाँदै छ । अझै पनि पर्यटकको चाहनाअनुसारको सेवासुविधा प्रधान गर्न सकिरहेका छैनौं । यस क्षेत्रका समस्यालाई समाधान गर्ने दिशामा पनि प्रभावकारी कार्य गर्नुपर्ने देखिन्छ । हाम्रो अर्थतन्त्र जोखिमको बाटोमा गएकाले यसबाट मुक्त हुन सरकारले दुई दिन बिदा दिने, जोर र बिजोर सवारी साधन चलाउने, नयाँ सवारी साधन खरिद गर्न हाललाई रोक्ने जस्ता उपायको अवलम्बन गर्न लागेको छ । अर्थतन्त्र निरन्तर ओरालो लागिरहेकाले सबैलाई चिन्तित बनाएको छ । अर्थविद्ले अर्थतन्त्र सवल बनाउन बहस चलाउँदै आएका छन् । रोजगारी भएमा मात्र आर्थिक वृद्धि र अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । रोजगारीका अवसर सिर्जना गर्न सकिरहेका छैनांै ।
ठूलो संख्यामा रोजगारी दिन सकिने भनेको उद्योग नै हो थर हामीले उद्योग स्थापना गर्नेतर्फ खासै ध्यान दिन सकेका छैनांै । एक दशक अगाडिसम्म हेटौंडा कपडा उद्योग नाफामा चलेको नामी उद्योगका रूपमा रहेको थियो । आज त्यो उद्योग बन्द भएको छ । हजार जनाले दैनिक रोजगारी प्राप्त गर्ने सो उद्योग’bout सरकार मौन रहेको देखिन्छ । त्यसैगरी, डाल्डा घिउ उद्योग, साबुन उद्योगलगायतका उद्योग बन्द भएका छन् । नयाँ उद्योग स्थापना गर्नुपर्नेमा भएका उद्योग समेत बन्द हुँदा यसलाई पुनः स्थापना गर्ने काम तदारुकताका साथ गर्नुपर्ने देखिन्छ ।
आज रोजगारीका लागि दैनिक १५ देखि १७ सय युवा जनशक्ति विदेसिने गरेको तथ्यांकले देखाउँछ । रोजगारीका लागि महत्वपूर्ण क्षेत्र भनेको उद्योग नै हो । यदि इच्छाशक्ति हुने हो भने उद्योग स्थापना गर्न नसकिने पनि होइन । उद्योगमा लगानी गर्न सञ्चय कोष, नागरिक लगानी कोष, सेनाको कोषलगायतका विभिन्न स्रोत जुटाउन सकिन्छ । हाम्रा नेता तथा देशका सञ्चालकमा त्यो दृढता पनि देखिएको पाइँदैन । जहाँ इच्छा त्यहाँ उपाय भने झंै काम गर्ने तीव्र चाहना जस्ता हरेक उपाय भेटिन्छन् । हाम्रो समस्या भनेको देशभक्त, दूरदर्शी राजनेताको अभाव हुनु नै हो ।
कुनै समयको चर्चित कपडा उद्योग हेटांैडा कपडा उद्योग पुनः सञ्चालन गरेर त्यहाँबाट उत्पादित कपडा कर्मचारी, सेना, शिक्षक आदिले पोसाकका रूपमा प्रयोग गर्ने हो भने निश्चित रूपमा नाफामा जान्छ । त्यस्तैगरी, छाला जुत्ता कारखाना चलाएर कर्मचारीले प्रयोग गर्ने व्यवस्था मिलाउने हो भने त्यसबाट पर्याप्त मात्रामा लाभ लिन सकिन्छ । राज्यले दृढतापूर्वक काम गर्ने हो भने असम्भव भन्ने केही हुँदैन । २०५० सालको दशकमा चर्चित भृकुटी काकज कारखाना पुनः सञ्चालन गरेर त्यहाँबाट उत्पादन भएको कागज सबै सरकारी कार्यालयले प्रयोग गर्ने हो भने सहजै नाफामा चलाउन सकिन्छ । यसरी अगाडि बढ्ने हो भने धेरै सम्भावना नभएका होइनन् ।
अबको बाटो भनेको कमजोर अर्थतन्त्रलाई बलियो बनाउन हरेक उपायको अवलम्बन गर्न सुशासन, मितव्ययिता, पारदर्शीता, आर्थिक अनुशासनजस्ता पक्षमा विशेष ध्यान दिनुपर्छ
कृषिप्रधान देशमा कृषिमा आबद्ध हुनेहरूको संख्या क्रमशः घट्दै गएका छन् । युवावर्गलाई कृषिमा आकर्षण गर्ने कार्यक्रम ल्याएर व्यावसायिक, सम्मानित र मर्यादित बनाउने दिशामा काम गर्नुपर्ने देखिन्छ । कृषिका सकस्या समाधानमा समेत विशेष ध्यान दिनुपर्ने खाचो रहेको छ । कृषि ऋण सहजै नपाउनु, बजारको व्यवस्था नहुनु, भण्डारणको व्यवस्था नहुनु, उत्पादनले उचित मूल्य नपाउनु, रासायनिक मल नपाउनु, उन्नत जातको बिउ नपाउनु जस्ता दर्जनौं समस्याको समाधान गर्नुपर्ने हुन्छ । अनि मात्र आमयुवाको आकर्षणको क्षेत्र बनाउन सकिन्छ । राज्यले यस्ता समस्याको सही तरिकाले समाधान गर्न विशेष पहल गर्न सक्नुपर्छ ।
हाल देशको अर्थतन्त्र नाजुक बन्दै गएको छ । यसलाई सही मार्गमा ल्याउन गम्भीरतापूर्वक कार्य सम्पादन गर्नुपर्छ । विप्रेषण बढाउने प्रभावकारी उपायको अवलम्बन, तरलता कम गर्ने तरिका खोजी गर्नुपर्छ । साथै वैदेशिक रोजगारीको समस्या हटाउन सक्नुपर्छ । देशको उत्पादन बढाउन विशेष पहल गर्नु आवश्यक छ । पुँजीगत खर्च गर्न नसक्दा थप समस्या देखिएको छ जसलाई समाधान गर्न विकासका कार्यलाई जोड दिनुपर्छ । विकास खर्च आर्थिक वर्षको अन्तिममा खर्च गर्ने जुन प्रवृत्ति रहेको छ त्यसको अन्त्य गर्नुपर्छ । यस्तो कार्यले कामको गुणस्तर कम हुने र खर्च पनि ज्यादा हुने भएकाले यस परिपाटीको अन्त्य हुनुपर्छ । हाम्रो कमजोर अर्थतन्त्रलाई बलियो बनाउन सरोकारवाला सबै गम्भीर हुनु जरुरी छ ।
सरकारले आर्थिक सुशासन कायम राख्न विशेष चासोका साथ काम गर्नुपर्छ । भ्रष्टाचारले सर्वत्र वातावरण प्रदूषित बनाएको छ । अनावश्यक खर्च गर्ने परिपाटीको अन्त्य हुनुपर्छ । मितव्ययी बनेर राज्यको ढुकुटी बलियो बनाउनुपर्छ । स्थानीय तहमा जथाभाबी खर्च गर्ने जुन प्रवृत्ति छ त्यसको समेत अन्त्य हुनु जरुरी छ । वडा अध्यक्षदेखि सदस्यले समेत गाडी खरिद गर्ने महँगो बाइक प्रयोग गर्ने, नागरिकलाई जथाभाबी करको भारी बोकाउने जस्ता कार्य बन्द गर्नुपर्छ । करोडको सवारी साधन १÷२ लाखमा मर्मत गरी चलाउन छाडेर पुनः नयाँ खरिद गर्दै कमिसन तथा सुविधाभोगी बन्ने जुन गलत शैली देखिन्छ त्यसको पनि अन्त्य गरिनुपर्छ ।
नागरिकले तिरेको करको सही उपयोग हुने वातावरणको सिर्जना हुनुपर्छ । महँगीले आमनागरिकलाई ठूलो समस्या परिरहेको छ । बजार नियन्त्रण गर्ने प्रभावकारी सम्यन्त्रको निर्माण गनुपर्छ । बजारको अनुगमन फितलो हुँदा उपभोक्ता मारमा परिरहेका छन् । हाम्रो सुविधानले शिक्षा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रूपमा परिभाषित गरेको छ । तर, अझै पनि लाखौं बालबालिका शिक्षाको अवसरबाट वञ्चित रहेको अवस्था छ । राज्य शिक्षालाई सहज बनाउने काममा चासो दिइरहेको छैन । एक प्रकारले भन्ने हो भने त्यो जिम्वेवारीबाट भाग्दै गएको देखिन्छ । एकातिर निःशुल्क शिक्षा भनिन्छ अर्कोतिर शिक्षा झनै महँगो अनि यसमा चरम व्यापारीकरण हुँदै गएको छ ।
अबको बाटो भनेको कमजोर अर्थतन्त्रलाई बलियो बनाउन हरेक उपायको अवलम्बन गर्नुपर्छ । सुशासन, मितव्ययीता, पारदर्शीता, आर्थिक अनुशासन जस्ता पक्षमा विशेष ध्यान दिनुपर्छ । अझै पनि समय बितिसकेको छैन बेलैमा सजगभसहित अगाडि बढ्ने हो भने अवश्य सफलता प्राप्त गर्न सकिन्छ ।






