डडेल्धुरा । जिल्ला समन्वय समिति डडेल्धुराको प्रमुखमा गगनसिंह भण्डारी निर्विरोध चयन भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसका तर्फबाट भण्डारीको मात्रै उम्मेदवारी परेपछि उनि निर्विरोध चयन भएका हुन ।
उनी नेपाली काँग्रेस अमरगढी नगरपालिका नगर कार्यसमिती उपसभापती समेत हुन । उनि अमरगढी नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
उपप्रमुखमा पनि काँग्रेसकै अमृताकुमारी ठडाली मगर निर्विरोध निर्वाचित भएका छन । उपप्रमुख ठडालीमगर आलिताल गाउँपालिका–८ बाट वडा सदस्यमा विजयी भएका हुन ।
जिसस समितीका लागी शुक्रबार निर्वाचन मनोनयनको अन्तिम समयावधिसम्म नौ पदमा नौ जनाको मात्रै उम्मेदवारी परेकाले नेपाली काँग्रेसका सबै उम्मेदवार निर्विरोध चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत हरिप्रशा शर्मा उपाध्यायले जानकारी दिए ।
जिसस सदस्यमा लीलाकुमारी धामी, गणेशसिंह धामी, प्रकाशदत्त भट्ट, सुनिता विक, टेकबहादुर धानुक बसन्तीदेवी भूल र संजय जैरू पनि निविरोध चयन भएका छन । उम्मेदवारहरू निर्विरोध चयन भएको भएपनि औपचारिक घोषणा भने २२ गते हुने मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ ।
दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा १४ मतभार रहेको थियो । जसमध्ये कांग्रेस एक्लैसँग १० मतभार थियो । सोहीकारण डडेल्धुरामा जिल्ला समन्वय समिति काँग्रेसकै नेतृत्वमा गठन भएको हो ।
गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काँग्रेसले अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख, अजमेरु गाउँपालिका उपाध्यक्ष र भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।
नेकपा माओवादी केन्द्रसँग मतभार ४ रहेको थियो । उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको थियो । एमालेले भने यहाँ शून्य छ ।






