आफू अनुकूलका कर्मचारी खाेज्दै सिंहदरवारमा जनप्रतिनिधिका विचाैलिया

नेतारू सिंहदबार धाउँदै
दलकै नेताको ‘च्वाइस’मा लगिन्छन् प्रशासकीय अधिकृत
प्रधानमन्त्री, मन्त्री र ठूला नेताकै भनसुन


काठमाडौ । देशभरका स्थानीय तहमा निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिले धमाधम कामको थालनी गरिरहँदा उनीहरू निकट विभिन्न दलका टाउके (नेता)हरू भने सेटिङ मिलाउन आफु अनुकूलका कर्मचारी लैजानका लागि सिंहदरबार धाउने क्रम सुरु भएको छ ।

विशेष गरी कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाका जिल्लादेखि केन्द्रसम्मका नेताले स्थानीय तहमा आफु अनुकूलका प्रमुख प्रशासकीय अधिकृत लैजान सिंहदरबारमा मन्त्री तथा सचिवलाई दबाब दिन थालिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसका लागि प्रधानमन्त्री, मन्त्री र अन्य उच्च पदस्थमार्फत् भनसुनसमेत गरिएको बताइन्छ । उक्त कार्यमा जनप्रतिनिधी र कर्मचारीकाे विचाैलियाकाे भुमिका अहं हुने गरेकाे छ ।

मेयर र अध्यक्षलाई कुलत सिकाइन्छ
–ठेक्का र आर्थिक क्रियाकलापमा बढी नजर
–विगतकै जस्तो विकृति दोहोरिन सक्ने


मन्त्रालय स्रोतका अनुसार स्थानीय तहमा आगामी दिनमा लगाइने ठूलाठूला ठेक्का तथा विभिन्न आयोजना र आर्थिक क्रियाकलापबाट फाइदा लिने उद्देश्यले नेताहरू आफु अनुकूलका अधिकृतलगायतका कर्मचारी लैजान चाहन्छन् । सोही योजनाअनुसार उनीहरू सिंहदबार धाउने क्रम सुरु भएको हो । यो कार्यमा संघीय संसदका सांसदहरूसमेत तछाडमछाड गरेर लाग्ने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीको अनुभव छ ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका एक अधिकृतका अनुसार सांसददेखि केन्द्र, प्रदेश र जिल्ला तहका नेता प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराउन मरिहत्ते गरेर लाग्ने गरेका छन् । ‘यो हिजोअस्तिदेखिकै रोग हो, यो वर्ष पनि त्यस्तो रोग सुरु हुन थालिसकेको छ ।’ प्रशासन महाशाखाका ती अधिकृतले राजधानीसँग भने ।

स्रोतका अनुसार स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिलाई उनीहरूकै पार्टीका कतिपय नेताले अपारदर्शी काम गर्न उक्साउने गरेका छन् । स्थानीय तहमा मेयर तथा अध्यक्षलाई आफु अनुकूलको प्रमुख प्रशासकीय अधिकृत ल्याउनु पर्छ भन्दै गलत सल्लाह उनीहरूले नै दिने गरेको बताइन्छ । विगतमा पनि नेताहरूकै निर्देशनअनुसार मेयर तथा अध्यक्षले कार्यकारी अधिकृतलाई फेरबदल गर्न खोज्दा कैयौं स्थानीय तहमा मेयर, अध्यक्ष र कार्यकारी अधिकृतबीच टसल देखिएको थियो ।

मेयर तथा अध्यक्षले कार्यकारी अधिकृतलाई गैरकानुनी रूपमा सरुवा गराउने प्रयाससमेत गरेका थिए । केहीले भने प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गराई निमित्तको भरमा प्रशासन चलाएका थिए । अहिले मन्त्रालयमा आउने विभिन्न दबाब र भनसुनका कारण आगामी दिनमा पनि विगतकै जस्तो विकृति र गलत परम्परा दोहोरिन सक्ने सम्भावना रहेको मन्त्रालयका कर्मचारीको भनाइ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने अब कसैको भनसुन र सोर्सफोर्सका आधारमा नभई सिस्टम र मापदण्डका आधारमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने तयारी गरेको छ । मन्त्रालयका अनुसार आगामी असार १० गते स्थानीय तहले बजेट ल्याएपछि प्रमुख प्रशासकय अधिकृतको हेरफेर गर्ने गृहकार्य मन्त्रालयले अघि बढाएको छ । दलका नेता तथा उच्च पदस्थको भनसुनका आधारमा अधिकृतको सरुवा गर्न नहुने सुझाव प्रशासकको छ ।


सुशासनका लागि जनप्रतिनिधिलाई प्रशिक्षण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका जनप्रतिनिधिलाई सुशासनमैत्री बनाउन तथा सेवा प्रवाहप्रति जिम्मेवार बनाउनका लागि विशेष प्रशिक्षण दिन थालेको छ । मन्त्रालयले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम थालेको हो ।

सातै प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण दिन थालिएको र सोअनुसार प्रदेश १, मधेस प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी, सुदूर पश्चिम र गण्डकी प्रदेशमा रहेका सबै जनप्रतिनिधिलाई प्रशिक्षण दिइसकिएको छ । अब बाग्मती र लुम्बिनी प्रदेशमा पनि प्रशिक्षण दिइने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 639 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती