काठमाडौं । सरकारले द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि निवेदन दिने समयसीमा बढाएको छ । सरकारले यससअघि १६ जेठसम्म निवदेन दिने समयसीमा तोकेकोमा ३५ दिन समय थप गरेको हो ।
मन्त्रिपरिषद्को १६ चैत २०७८ मा बसेको बैठकले द्वन्द्वको समयमा जागिर गुमाउन बाध्य शिक्षकलाई पुनर्वहालीलगायतको व्यवस्थापन गर्ने निर्णय गरेको थियो । त्यसका लागि पुनर्वहाली, हाजिरी, निर्वत्तिभरण तथा उपदान र एकमुष्ठ आर्थिक सुविधा पाउने शिक्षकलाई निवदेन दिने समय १६ जेठसम्म तोकेको थियो । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना जारी गर्दै १७ जेठदेखि लागू हुनेगरी अन्तिमपटकका लागि ३५ दिने समयावधि थप गरेको हो ।
केन्द्रले म्याद नाघी आएको निवेदनउपर कारबाही नहुने जनाएको छ भने सार्वजनिक बिदा पर्न गए सोको भोलिपल्टसमेत निवदेन दिन सकिने जनाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार २ सय ३३ शिक्षकको पुनर्वहाली हुने भएको छ भने १८ जना शिक्षकले पुनः नियुक्ति, ४१ शिक्षकले सेवासुविधा र २ सय ८४ शिक्षकले एकमुष्ठ आर्थिक सहायता पाउने जनाइएको छ ।
सरकारले यसअघि गठन गरेको छानबिन आयोगले त्यस्ता शिक्षकलाई पुनःवहाली गर्न सिफारिस गरेको थियो । त्यस सिफारिस’bout शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयसँग राय माग गरेको थियो । जसअनुसार मन्त्रिपरिषद्ले व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
यसअघि, सरकारले दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई ४५ दिनबराबरको दुर्गम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले महिला शिक्षकको प्रसूति बिदा निजामती सेवामा व्यवस्था भएअनुसार संघीय शिक्षा ऐनमा व्यवस्था गर्ने निर्णयसमेत गरेको थियो ।