पाेखरा । बजेट विवादका कारण लामो समय अनिर्णयको बन्दी बनेको गण्डकी प्रदेशसभाको संसद सोमबारदेखि खुल्दैछ । असार १ मा प्रस्तुत आगामी आवको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम काटिएपछि सत्ता गठबन्धनबीच नै सम्बन्ध चिसिएको थियो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल जीवनबीच गएराति अबेरसम्म भएको छलफलमा सो कार्यक्रम बजेटमा समेटेर संसदमा छलफल चलाउने सहमति जुटेको स्रोतले जनायो ।
मुख्यमन्त्री पोखरेलले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम बजेटमा समेट्न दिएको निर्देशन अवज्ञा गर्दै अर्थमन्त्री बरालले जनताले नरुचाएको कार्यक्रम भन्दै बजेटबाट काटिदिएका थिए । उनले असार १ मा संसदमा प्रस्तुत गरेको कुल ३६ अर्ब ९० करोड ९० लाख बराबरको बजेटमा सो कार्यक्रम नपरेपछि सत्ता गठबन्धनका साझेदार दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरु नै असन्तुष्ट थिए ।
मुख्यमन्त्री र अर्थमन्त्रीबीचको सहमतिअनुसार सो कार्यक्रम बजेटमा थप्ने र मन्त्रालयको सिलिगभित्रको योजना काटिएको’bout फेरि चेकजाँच गरी संसदमा छलफल चलाउने सहमति भएको जनाइएको हो ।
प्रदेशसभा सचिवालयले पनि सोमबार दिउँसो १ बजेका लागि संसद बैठक डाँक्दै सदस्यहरुलाई निमन्त्रणा दिइसकेको छ ।
बजेट विवाद चुलिंदै गएको र संसद असार १ पछि बन्द हुँदै आएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पत्रकार सम्मेलन गरी संसदलाई निकास दिन नसके मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजीनामा दिनुपर्ने माग गरेको थियो । एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव एवं दलका नेता नेता पृथ्वीसुव्वा गुरुङले सो माग गरेका थिए ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेरी नै सही ट्रयाकमा नहिडेको र त्यसबेलादेखि मन्त्रीहरुले आपत्ति जनाएको स्मरण गराएका थिए । बजेट पास हुन नसक्ने स्थिति भए सरकारको विकल्प सोच्नुपर्ने गण्डकीका संस्थापक मुख्यमन्त्री समेत रहेका उनले बताएका थिए ।
अर्थमन्त्री बराल आइतबार काठमाडौं पुगेर सोमबार संसद बैठकका लागि फर्किंदै छन् । पार्टीको केन्द्रीय समिति बैठकले उनलाई आइतबार नै केन्द्रीय सदस्य जिम्मेवारी दिएके छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा बराललाई केन्द्रिय सदस्यमा मनोनित गर्ने प्रस्ताव पेश गरेका थिए । मन्त्री बराल यसअघि गण्डकी प्रदेशको पार्टी सदस्य भएका थिए ।






