लन्डन । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए) ले सन २०२० मा युरोपका विभिन्न १२ राष्ट्रमा तय भएको युरोकप फुटबल प्रतियोगिता एक वर्ष सार्ने निर्णय गरेको छ ।
यूईएफएको मंगलबार भिडियो कन्फ्रेन्समार्फत बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । यूईएफएका ५५ सदस्यीय राष्ट्रको मंगलबार बसेको बोर्ड बैठकले चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व खेलकुद गतिविधि ठप्प रहेको अवस्थामा युरोकप एक वर्ष पछि सार्दै २०२१ मा गर्ने निर्णय गरेको हो । अब युरोकप ११ जुनदेखि ११ जुलाई २०२१ सम्म युरोपका विभिन्न १२ सहरमा हुनेछ ।
युरोकप यही जुन–जुलाईमा युरोपका विभिन्न १२ सहरमा हुने तय भएको थियो । विश्व खेलकुद गतिविधि नै ठप्प भएपछि युरोकपको छनोट खेल पनि प्रभावित हुन पुगेको छ । २० टोलीले युरोकपमा स्थान बनाइसक्दा ४ टोलीले युरोकपमा स्थान बनाउन प्ले अफ खेल्ने तालिका थियो । पोर्चुगल सन् २०१६ को युरो च्याम्पियन टोली हो ।
यस्तै बैठकले च्याम्पियन्स लिगको फाइनल २७ जुनमा गराउने निर्णय गरेको छ । यसअघि च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानुबुलमा ३० मार्चमा हुने तय भएको थियो । फाइनल चार साता पछि सारेको हो । यस्तै, युरोपा लिगको फाइनल २४ जुनमा गराउने निर्णय गरेको छ । यसअघि २३ मार्चलाई युरोपा लिगको फाइनल तय भएको थियो । यस्तै, २०२१ लाई तय भएको नेसन्स लिग, पुरुष यू–२१ र महिला यू–२१ युरोपियन च्याम्पियनसिप’bout अर्काे बैठकले निर्णय गर्ने बताएको छ ।
अहिले युरोपको चर्चित फुटबल लिगसँगै अन्य खेल गतिविधि ठप्प छ । इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ‘ए’, स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगा, फ्रेन्च लिग वान ४ अप्रिलसम्म स्थगित गरिएको छ ।
यस्तै, २०२० लाई नै तय भएको कोपा अमेरिका कप पनि एक वर्ष पछि सारेको छ । दक्षिण अमेरिकी फुटबल एसोसिएसनले मंगलबार कोपा अमेरिका कप ११ जुनदेखि ११ जुलाई २०२१ सम्म हुने घोषणा गरेको हो ।