दूषित पानी र सडक खानाले हैजा


उपत्यकामा हैजा फैलिएपछि जुनसुकै पानी भए पनि उमालेर मात्र पिउन, घरमा तथा ताजा खाना खान मात्र पनि उपत्यकावासी केही सचेत भएका छन् । तथापि, यस्तो सचेतना कति दिनसम्म र व्यवहारतः कहिलेसम्म गरिरहन सकिन्छ भन्नेमा सबैमा आशंका छ ।

हैजा असार ५ देखि देखिन थालेपछि हालसम्म २८ जनामा हैजा पुष्टि तथा वागबजार, सानेपा, सातदोबाटो, बालाजु, मनोहरा, हरिसिद्धि, डिल्लीबजारलगायतका दर्जनौं स्थानको पानीमा समेत हैजाका जीवाणु भेटिएका छन् र यस्ता घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ । काठमाडाैंमा स्टुल परीक्षणमा ११, आरडीटी परीक्षणमा १२ र ह्यासडंग ड्रपमा पाँच गरी कुल २८ जनामा हैजा पुष्टि भएको छ ।

काठमाडौं कागेश्वरी मनोहरा वडा नम्बर ६ मा आठ जना हैजाका बिरामी पत्ता लागेका छन् । ६ भन्दा बढी बिरामी भेटिएपछि उक्त वडालाई सरकारले हैजाको रेड जोनमा राखेको छ । स्थानीय तहको जिम्मा भए पनि परिस्थिति जटिल भएपछि संघीय सरकारले घोषणा गरी नियन्त्रणका लागि पहल लिएको छ । वडामा १ देखि २ केस देखिए सामान्य, ३ देखि ५ केस देखिए जोखिममा राख्ने गरिएको छ ।
८० प्रतिशतमा लक्षण विकसित नहुने अर्थात् सामान्य पखाला मात्र देखिने, २० प्रतिशत मात्र अस्पतालमा भर्ना हुने १० प्रतिशतमा जटिलता आउन सक्ने तथा संक्रमितको दिसामा १० दिनसम्म जीवाणु रहने तथ्यले गर्दा राजधानीमा भित्रभित्रै हैजा फैलिएको आशंका छ ।
पानी जहाँको भए पनि उमालेर खान महानगरले टोल फ्रि नम्बर नै २४ सै घण्टा सञ्चालन गरेको छ । कपिलवस्तुको कृष्णनगर ७, ८ र ९ मा ८ सय ८५ जनामा हैजा संक्रमण र चार जनाको मृत्यु र त्यसपछिको खोप अभियान तथा सप्तरीमा समेत हैजा फैलिएको तपाईं हामी सबैलाई थाहा छ । १९९० सालमै हैजा अस्पतालका रूपमा अस्पताल स्थापना हुनुले पनि नेपाली कतिसम्म प्रभावित थिए भन्ने जानकारी दिन्छ ।

क्यान्डिल फिल्टरले रोग उत्पन्न गर्ने कीटाणु छान्न नसक्ने भएकाले पानी उमालेर प्रयोग गर्नुपर्छ


घातक पनि : विश्व स्वास्थ्य संगठनका अनसार विश्वभर हरेक वर्ष १३ लाखदेखि ४० लाख जनतामा हैजा देखिने र संक्रमितमा २१ हजारदेखि १ लाख ४३ हजारसम्मको मृत्यु हुनेगर्छ । समयमै उपचार नपाए हैजाबाट ५० प्रतिशतसम्म मृत्यु हुनेगर्छ । विश्वभरि देखिने हैजाका कुल बिरामीमध्ये करिब १० प्रतिशत मात्र रिपोर्टिङ हुन्छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका कुपोषित, बालवालिका, एचआईभी संक्रमित, दीर्घरागी, अंग प्रत्यारोपण गरेका व्यक्तिमा हैजा लागेमा मृत्युको खतरा बढी हुन्छ ।

कारण : आज बिहानै १ करोड ४० लाखभन्दा बढी नेपालीले खुला ठाउँमा दिसा गरे भन्दा अपत्यारिलो भए पनि ४९ प्रतिशत जनसंख्याले चर्पीको प्रयोग गर्दैनन् । यसमा केही घरमा चर्पी भए पनि खुला स्थानमा दिसापिसाब गर्छन् भने अधिकांशको घरमा चर्पी नै छैन । भएको चर्पीमा पनि पानी पर्याप्त छैन, सरसफाइ छैन । विश्वमा हैजा प्रदूषित खाना र पानीबाट फैलिने भए पनि नेपालमा प्रदूषित पानी नै मुख्य कारक ८० प्रतिशत र बाँकी प्रदूषित खाना छ । तसर्थ, फिल्टर होइन, उमालेको पानी सेवन अनिवार्य छ ।

लक्षण : झाडापखाला ब्याक्टेरिया भिब्रियो कोलेरी नामक जीवाणुद्वारा आन्द्राको संक्रमणले भएको हो भने त्यो हैजा हो । शरीरले गुमाएको पानी थप्दै जानु नै यसको मुख्य उपचार हो । संक्रमित आहार र पानीले यसको जीवाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ र आन्द्रामा तीव्र गतिले आक्रमण गर्छ । संक्रमण भएको २ घण्टादेखि ५ दिनसम्म लक्षण सुरु हुन्छ । लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानीजस्तै दिसा हुने र पानीको अभाव तीव्र लक्षण देखिन्छ ।

लक्षण देखिएको ३ देखि ६ घण्टामा समेत हैजाले घातक रूप लिई रक्तचाप कम हुन्छ र रोगी गम्भीर रूपले अचेत अवस्थामा पुग्छ । बिरामीलाई साह्रै पातलो दिसा लाग्छ । पहिले एक्कासी खैरो पातलो र पछि चौलानीजस्तै दिसा लाग्छ । कहिलेकाहीँ वाकवाकी र वान्तासमेत हुन्छ । तिर्खा निकै लाग्छ । तिर्खाकै कारण बेहोससमेत हुनसक्छ । कमजोरीले खुट्टा काम्छ, शरीरमा तरल पदार्थ तीव्र गतिले कमी हुन्छ । शरीरमा पानीको अत्यधिक कमीले मुख, घाँटी सुक्न थाल्छ । पिसाब धेरै कम र गाढा पहेलो हुन थाल्छ ।
उचित उपचार नहुँदा शरीरमा पानीको कमी भएर मृगौलाले काम गर्न छोडेर केही घण्टामै रोगीको मृत्यु हुन सक्छ । स्वस्थ वयस्कलाई पनि केही घण्टामै सिध्याउन सक्छ ।

उपचार : हैजाको उपचारमा बान्ता नहुने बिरामीमा जीवनजल र बान्ता र पखाला दुवै समस्या भएकालाई सलाइनबाट पानी र तरल पदार्थ कम हुनबाट जोगाइन्छ । उपलब्ध जीवनजलमा मात्र पानी मिसाउनुपर्छ । कहिले पनि फलफूलको रस, सुप, दुधलगायतका पेयपदार्थ मिसाउनुहुन्न । करिब ८० प्रतिशतमा बिरामीको उपचार ओआरएस वा जीवनजल, नुन, चिनी, पानीद्वारा गरिन्छ । गम्भीर अवस्थामा भने यो झोेल नसाद्वारा दिइन्छ । प्रतिजैविक औषधीले गम्भीर हुनबाट रोक्छ । उपचार नगरिए यस्ता दुई बिरामीमध्ये एकको मृत्यु हुन सक्छ तर उपयुक्त र उचित उपचार गरे हैजाको मृत्युदर १ प्रतिशतभन्दा तल आउँछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि २२ लाख व्यक्तिको मृत्यु हैजालगायत झाडापखालाले हुन्छ । ८८ प्रतिशत कारण असुरक्षित पानी, अपर्याप्त सरसफाइ र स्वच्छताका कमी रहेको जनाउ“छ । तथ्यांकअनुसार सरसफाइमा सुधारले झाडापखालाले हुने मृत्यु ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ । खानेपानीको गुणस्तरमा सुधारले २५ प्रतिशतसम्म मृत्युदर कम गर्न सकिन्छ । स्वच्छ पानी, सरसफाइ, व्यक्तिगत स्वच्छता तथा हात धुनुजस्ता स्वास्थ्य शिक्षामार्फत झाडापखाला ४५ प्रतिशतसम्म कम गर्न सकिन्छ । खानेपानीलाई क्लोरीनेसन गरेर शुद्ध बनाउ“दा झाडापखाला ३९ प्रतिशतसम्म कम गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संक्रमितको दिसामा १० दिनसम्म जीवाणु रहने तथ्यले गर्दा राजधानीमा भित्रभित्रै हैजा फैलिएको आशंका छ


बचावट : अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जहाँ मलमूत्रको सफाइ र खानेपानीको समुचित व्यवस्था हुँदैन, त्यहा“ तीव्र गतिमा संक्रमित व्यक्तिको दिसाबाट झाडापखाला फैलिन्छ । फोहोर छोएपछि खानेकुरा पकाउ“दा तथा खाना खा“दा साबुन पानीले राम्ररी हात धुनुपर्छ भन्ने चेतनाको अभाव छ नेपालमा । गरिबी छ, भौगोलिक विकटता छ, दुई छाक राम्रोस“ग खान पाउ“दैनन्, जसले गर्दा कुपोषण छ र शारीरिक शक्ति कमजोर भएर ससाना रोगले पनि थला पार्छ र मृत्यु हुनेगर्छ ।

रोगीको मलमूत्रलाई पानीको मुहाननजिक वा जथाभाबी नफाली खाल्डोभित्र पुर्नुपर्छ । खानेकुरालाई झिँगाबाट बचाउनुपर्छ । झिँगा लागेको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खुला स्थानका खाद्यपदार्थ खानुहँुुदैन । बजारको बरफ, आइसक्रिम तथा दुग्धजन्य पदार्थ खानुहुँदैन । आफैंले बोक्रा ताछेका फल मात्र खानुपर्छ । तातो खाना, तरकारी राम्ररी पकाएर मात्र खानुपर्छ । सम्भव भएसम्म दाँत माझ्दा उमालेर चिसिएको पानी प्रयोग गर्नुपर्छ ।

क्यान्डिल फिल्टरले रोग उत्पन्न गर्ने कीटाणु छान्न नसक्ने भएकाले पानी उमालेर प्रयोग गर्नुपर्छ । पटकपटक र कम्तीमा खाना खानुअघि र दिसापिसाबपछि संक्रमणमुक्त झोल, साबुनले हात धुनै पर्छ । शुद्ध खाना, खानेपानी, पर्याप्त सरसफाइ, व्यक्तिगत स्वच्छता हैजाबाट बचाउ गर्न सकिने उपाय हुन् । स्वास्थ्य शिक्षा र राम्रो खाद्य सुरक्षा पनि उत्तिकै महŒवपूर्ण कारक हुन् । त्यसैले, दीर्घकालीन समाधानका लागि तत्काल सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित