काठमाडौं । ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७÷७८’को अन्तिम प्रतिस्पर्धाका लागि ५ वटा नाटक चयन भएका छन् । यो प्रतियोगिता सांस्कृतिक संस्थानले आयोजना गर्दै आएको छ ।
संस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका अनुसार उत्कृष्ठ ५ मा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, रमिक ठकुरीको ‘गोठको चिया’, सुस्मिता श्रेष्ठको ‘बा. रा. सी’, लक्ष्मी पाण्डेको ‘१५ दिन’ र निशान खत्रीको ‘आरु फुल्यो’ रहेका छन् ।
महाप्रबन्धक प्यासीका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो हुने नाटकलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार एवं दुई जनालाई सान्त्वना पुरस्कार स्वरुप १५, १५ हजार रुपैयाँ प्रदान गरिने छ ।
संस्थनाका अनुसार यो प्रतिस्पर्धाका लागि सहभागी नाटकमध्ये पहिलो चरणमा ११ वटा छनोट भएका थिए । ति ११ वटा नाटकलाई सांस्कृतिक संस्थानको युट्यव च्यानल र अन्य अनलाइन पोर्टलमा राखिएको थियो । दर्शकबाट सर्वाधिक लाइक र सेयर भएका एवं निर्णायकले दिएको अंकका आधारमा ११ बाट उत्कृष्ट ५ नाटक छनोट गरिएको हो ।
आफुहरुले ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न यो प्रतियोगिता आयोजना गर्दै आएको पनि प्यासीले बताएका छन् ।
यस्तै उत्कृष्ट ५ नाटकलाई सांस्कृतिक संस्थानको मञ्चमा रंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत् साउन २२ गते विशेष कार्यक्रमबीच विजेता छनोट गरिने छ ।






