काठमाडौं । बाग्मती प्रदेश सरकारले सवारी चालक अनमुतिपत्र (लाइसेन्स) प्रक्रियालाई थप तीव्रता दिन थालेको छ । बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बायोमेट्रिक्सका लागि तोकिएको दैनिक कोटा वृद्धि गरेर सेवा प्रवाह तीव्र बनाउन थालेको हो ।
प्रदेश सरकारले गत २८ असारमा तोकिएको कोटामा १ हजार २ सय १५ थप गरी ३ हजार ६ सय ७५ पु¥याइएको छ । अब यसअघि दैनिक रूपमा १ हजार २ सय १५ सेवाग्राहीले बायोमेट्रिक्स सुविधा पाउँदै आएकोमा अब ३ हजार ६ सय ७५ जनाले सेवा पाउन थालेका छन् । प्रदेश सरकारका अनुसार सबैभन्दा बढी आवेदन भक्तपुर जगातीस्थित कार्यालयबाट दिन सकिने जनाएको छ भने सबैभन्दा कम आवेदन एकान्तकुनास्थित कार्यालयबाट हुनेछ ।
एकान्तकुनामा सवारी लाइसेन्स नवीकरण प्रक्रियामा आएका गुनासा फस्र्यौट गर्नुपर्ने, पुरानो अभिलेख रुजु गर्नेको संख्या अत्यधिक हुने भएकाले काम सहज हुनेगरी कोटा तोकिएको मन्त्रालयले जनाएको छ । बाग्मती प्रदेश सरकारले यातायात सेवा कार्यालयको सुधारसम्बन्धी विषय प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।
प्रदेश सरकारले मन्त्रालयमातहत कार्यालयबाट सम्पादन भइरहेको सवारी चालक अनुमतिसम्बन्धी वर्ग थप र नयाँ आवेदनका लागि सेवाग्राहीको अत्यधिक चाप व्यवस्थापन गर्न अतिरिक्त समय कार्यालय सञ्चालन सुरु गरिएको छ । लाइसेन्सका लागि चाप बढेपछि बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सार्वजनिक बिदाका दिन पनि ट्रायल परीक्षा लिन सुरु गरेका हुन् ।
मन्त्रालयले सबै कार्यालयलाई परिपत्र गर्दै आवेदक संख्या बढी भएका कार्यालयमा कार्यालय समयअघि बिहान र सार्वजनिक बिदाका दिन पनि ट्रायल गराउन निर्देशन दिएको छ । अतिरिक्त काम गर्ने कर्मचारीलाई सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि २०७८ अनुसार सुविधा प्रदान गरिनेछ । मन्त्रालयले सेवाग्राहीको चाप बढेकाले सार्वजनिक बिदाका दिन र बिहान–बेलुका पनि सेवा सञ्चालन गर्न कार्यविधि बनाएको जनाएको छ ।
प्रदेश सरकारले सेवाग्राहीले अनलाइनमार्फत तोकिएबमोजिमको विवरण प्रविष्ट गरी चाहेअनुसार मितिका लागि आवदेन दिन सक्ने र अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिका लागि आवदेन दिन सकिने पनि जनाएको छ ।






