प्रकाशसँगै पतिको खोजीमा राधा

काठमाडौं । प्रकाश यस्ता पात्र हुन जसले बाल्यकालमा जनयुद्धका कारण पिता गुमाए । जनयुद्धमा राज्यबाट बेपत्ता बनाईएका पिता घर फर्किएनन् । आफुलाई शिक्षक बनाउने बुवाको सपनाका खातिर सँघर्ष गर्दा गर्दै उनले अझ धेरै कुरा गुमाउँछन् । हिजोका दिनमा बुबालाई बेपत्ता बनाउनेहरु आज चर्को कम्युनिष्ट भएर आफुहरुमाथि दमन गरेपछि ती प्रकाशले फेरी अर्को युद्ध थाल्नु पर्छ ।

तीज पर्वको अबसर पारेर आज शुक्रबारबाट देशभरका सिनेमा हलमा आउने चलचित्र ‘प्रकाश’ले यस्तै सँघर्षको कथा बोकेको छ । चकलेटी नायकको उपमा पाएका प्रदीप खड्का यसपटक जुम्ली युवाको रुपमा प्रकाश पात्र बनेर यो सिनेमामा प्रस्तुत भएका छन् । बुधबार बेलुका काठमाडौंमा यो चलचित्रको प्रिमियर हेरेपछि सञ्चारकर्मीदेखि सिनेकर्मीसम्मको सामुहिक प्रतिक्रिया यस्तो सुनियो,‘दमित पात्रको कथा र बियोगान्त भाव बोकेको यो डार्क कथामा प्रदीप खड्काले आफुलाई एउटा पृथक चरित्रमा सार्थक रुपमा उतारेका छन् । प्रदीपकै काम हेर्न भए पनि प्रकाशले दर्शकबाट साथ पाउने छ भन्ने आशा गरौं ।’

मुलुकका एक सय भन्दा बढी सिनेमा घरबाट प्रकाश शुत्रबारदेखि रिलिज हुन लागेको यो फिल्मका निर्माता महेन्द्र अधिकारीले बताएका छन् । फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । यसअघि चलचित्र प्रसादबाट भुईँ मान्छेको कथा उठाउन थालेका दिनेशले यसपटक पनि प्रकाशमा भुईमान्छेकै कथालाई उतारेका छन् । यो कथालाई ६ महिना जुम्ला बसेर पत्रकार विकाश सुवेदीले तयार गरेका हुन् । जसमा प्रदीप खड्कासँगै दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, लोकेन्द्र लेखक, निरज पन्थीसहितका कलाकारको मुख्य भूमिका छ । जुम्लाका स्थानीयहरुलाई चलचित्रमा विभिन्न पात्रको रुपमा प्रस्तुत गरिएको यो चलचित्रले नेपालको शासन पद्धतिसँगै कर्णालीको कथा बोकेको छ ।

चलचित्र प्रकाशसँगै शुक्रबारबाट अर्को नेपाली चलचित्र ‘राधा’ पनि नेपालका सिनेमा घरहरुमा रिलिज हुने भएको छ । यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । तीजको अबसर पारेर रिलिज गरिएको यो चलचित्र मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलमा प्रदर्शन हुँदैछ । यो चलचित्रको पनि बिहिबार बेलुका काठमाडौंमा प्रिमियर शो गरियो । जसमा राधाको केन्द्रिय भूमिकामा अभिनेत्री सृष्टी श्रेष्ठ रहेकी छिन् । फिल्मलाई सृष्टीले अभिनेता सौगात मल्लसँग मिलेर निर्माण गरेकी हुन् ।

यो फिल्ममा सृष्टी र सौगातसँगै खगेन्द्र लामिछाने, निश्चल बस्नेत, दयाहाङ राईसहितका विभिन्न कलाकारको अभिनय रहेको छ । बिदेश गएका आफना पतिको प्रतिक्षामा रहेकी राधाले गर्भवती अबस्थामा गाउँलेहरुबाट खेप्नु परेको विभिन्न समस्या र आफ्नो पति खोज्न उनले गरेको सँघर्षको कथा यो चलचित्रमा समेटिएको छ । फिल्मको कथा केही फरक र नारी प्रधान भएकाले आफुले यसमा लगानी गरेको सौगात मल्लले प्रिमियरका क्रममा बिहिबार बताए ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार