रौतहट । नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवले देशमा प्रजातन्त्रलाइ बलियो पार्न पनि गठबन्धनको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस रौतहट जिल्ला कमिटीद्धारा रौतहटको गौरमा आयोजित ‘जनताको साथमा कांग्रेस’ अभियान कार्यक्रममा सभापति यादबले यस्तो बताएका हुन् ।
‘आर्थिक समृद्धि र देश विकासको गतिलाई अगाडि बढाउनको लागि नेपाली कांग्रेस २००७ सालदेखि निरन्तर लागिरहेको छ’ उनले भने, ‘यदि यसपटक गठबन्धन सफल भएमा नेपाली कांग्रेसलले यो देशमा पचासौं वर्षसम्म राज गर्नेछ ।’ उनले मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभामा नेपाली कांग्रेसलाई कसरी विजयी गराउन सकिन्छ भनेर चिन्तन गर्दै जनतामाझ जान नेताकार्यकर्तालाई सुझाए ।
अर्को एक प्रसंगमा उनले नेपाली कांग्रेस एक्लै आफ्नो दममा चुनाव लड्न सक्षम भएको जिकिर गर्दै गठबन्धनलाई आफुले मजबुरी रुपमा लिएकोे बताए । स्थानिय तहको निर्वाचनको परिणाम हेर्दा पनि एक्लै लडेपनि नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित देखिएको भन्दै कार्यकर्ताहरुलाई एकढिक्का भएर पार्टी र गठबन्धलाई विजयी गराउन गाउँगाउँमा अभियान छेड्न निर्देशन दिए । ‘गत निर्वाचनमा हामी एक्लै चुनाव लडेका थियौं, कम्युनिष्ट एमाले तथा माओवादीको गठबन्धन थियो । नेपाली कांग्रेस वलियो भएको ठाउँमा सबै दलहरु एक भएर कांग्रेसलाई हराए । अहिले हामीले गठबन्धन नगरे यिनीहरु फेरी हामी विरुद्ध एक हुनेछन् ।’ उनको भनाइ छ ।
नेपाली कांग्रेसले विपि जयन्तीको अवसर पार्दै भदौ १० देखि सुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान भदौ २४ सम्म गतेसम्स पहिलो चरणको अभियान संचालन गरिने नेपाली कांग्रेस मधेस प्रदेश सूचना , संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार सो अभियानको दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र निर्णायक तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु हुनेछ । अभियान अन्र्तगत गाउँगाउँ गएर जनताको गुनासा समस्याहरु सुन्दै नेपाली कांग्रेस नेतृत्वको सरकारका उपलब्धिका विषयमा जनतालाई जानकारी गराउँदै गठबन्धनको औचित्य कार्यकर्ता र अनि जनतालाई पुष्टि गर्ने लगायतका कार्यहरु गर्ने उनले बताए ।
नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति जितेन्द्र कुमार यादवको अध्यक्षता तथा कांग्रेस केन्द्रीय सदस्य एवम् सासद मिनाक्षी झा प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा ठुलो संख्यामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरु, नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।






