हिमालयको काखमा अवस्थित सानो पहाडी राज्य नेपाल पृथ्वीनारायण शाहको नेतृत्वमा एउटा उदीयमान शक्तिका रूपमा स्थापित हुँदै थियो । पृथ्वीनारायण शाहको असामयिक अवसानपछि प्रतापसिंह शाह राजा भए । तन्त्रमन्त्र, भाग्यवाद र मोजमज्जामा रमाउने यिनै राजाको पालादेखि नेपाल दरबारिया षड्यन्त्र र खुराफातको महाजालमा पर्न थालेको हो । उनी २६ वर्षको कलिलो उमेरमै बिते । उनको अवसानपछि उनकी महारानी पाल्पाली राजकुमारी राजेन्द्रलक्ष्मी र भाइ बहादुर शाहबीच भयावह संघर्ष चल्यो । तिनै महारानी पनि खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमै बितेर गइन् । राजेन्द्रलक्ष्मीको मृत्युपछि राजकुमार बहादुर शाह नाबालिग भतिजा राजा रणबहादुर शाहको नायब भई शासन चलाउन थाले ।
बहादुर शाह अत्यन्तै राष्ट्रवादी र राजगद्दीका बफादार संरक्षक थिए । देशको भलो चिताई पश्चिमी मोर्चातर्फ सफलता हासिल गर्दै गएका बहादुर शाहलाई बालिग हुनासाथ भतिजा रणबहादुरले दिनुसम्म सास्ती दिए । उनलाई राष्ट्रद्रोह र राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेको (अहिलेको सन्दर्भमा भ्रष्टाचार) आरोप लगाएर कठोर यातना दिँदै कालकोठरीमा कोचियो । असहनीय यातना, प्रताडना र अपमानबीच बहादुर शाहले आत्महत्या गरे । नेपालमा पाखण्ड राष्ट्रवादको उद्घोष गर्न साह्रै सजिलो छ । उहिले र अहिलेमा तात्विक अन्तर छैन ।
राजा रणबहादुर शाह अनेकौं बितण्डा गरेर युवा अवस्थामै बिते । त्यति हुँदा पनि स्थापित नेपाली सैनिक नेतृत्व आप्mनो अभियानमा सरिक भइरह्यो । नेपाल मजबुत हुँदै गयो । क्रमशः परम्परागत हिन्दूस्तानी रियासतहरूलाई ठेगान लगाउने हैसियतमा पुग्दै थियो नेपाल । किन्तु, हिन्दूस्तानमा आप्mनो पञ्चा फैलाउँदै गएको अंग्रेजी शक्तिलाई टक्कर दिन सजिलो थिएन । नेपाल आक्रामक शक्तिबाट रक्षात्मक अवस्थामा खुम्चिन विवश भयो । सुगौलीको सन्धि नेपालको मर्ममा लागेको सधैं दुखिरहने घाउ हो । त्यस घटनापश्चात् नेपाली योद्धाहरूको बहादुरी अंग्रेजी शक्तिको रक्षाका खातिर प्रयोग हुँदै गयो । उस बखतमा वीर्य र सौर्य विदेसिन्थ्यो । आज त झन् मानवीय प्रज्ञा, ज्ञान र शिल्पसमेत निर्यात हुन थालेको छ ।
बहादुर शाहको पालामा भएको बेत्रावतीको सन्धिमा ‘नेपाललाई कुनै शक्तिले आक्रमण गरे चीनले सहयोग गर्नेछ’ भन्ने कुरा उल्लेख थियो । राष्ट्रिय अस्मिताको हिसाबले त्यो सन्धि अत्यन्तै असमान र अपमानजनक थियो । परन्तु, ऐन मौकामा त्यही पनि काम लागेन । नेपाल–अंग्रेज युद्धको समयमा र त्यसपछि समेत भीमसेन थापाले चिनियाँ सहयोगका लागि अनेक आग्रह गरे । किन्तु, अंग्रेजी शक्तिले चिनियाँ बादशाहलाई फुरुंग पारिसकेको रहेछ । सहयोग त कता हो कता, उल्टै ‘अर्जी सौगात नपठाए तिमीलाई मारिदिउँला , .. तिमी फिरंगीसँग त लड्न नसक्नेले हामीसँग के सकौला .. पछि यस्तो अर्घेलो नगर्नू’ आदि बेहोराका पत्रहरू प्राप्त भए (नेपाल–भारत र चीन सन्धि, समीक्षात्मक विवेचना) । नेपालजस्तो सानो मुलुकलाई छिमेकी ठूला मुलुकहरू मिले पनि सुख छैन र भिडे पनि सुख छैन । इतिहासले पढाएका यस्ता पाठ नबुभ्mने हामी भने भावावेशमा आएर कोही उत्तरको र कोही दक्षिणको प्रशंसा या निन्दामा लागिरहन्छौं ।
यो लेखमा उठान गर्न खोजिएको विषय एउटा ऐतिहासिक चिठीसँग सम्बन्धित छ । बेगम हजरत महल नेपालसँग सिमाना जोडिएको अवधका नवाब बाजिद अली शाहकी रानी थिइन् । हजरत साधारण परिवारकी छोरी थिइन् । उनको रूप देखेर नवाब बाजिद अली मोहित भए । नवाबले उनलाई लखनउ दरबारमा ल्याएर राखे । हजरतको कोखबाट सन् १८४५ मा राजकुमार बिरिजिस कद्रको जन्म भयो । दरबारमा पुत्रवती हजरतको ‘रुतबा’ बढेर गयो ।
नवाबहरू, राजा महाराजाहरू र निरंकुश शासकहरू बडो सौखिन र अस्थिर मिजासका हुन्छन् । छोरो जन्मेको पाँच वर्ष मात्र पुगेको थियो । नवाब बाजिद अलीलाई हजरत मन पर्न छाडिन् । उनले रानीलाई तलाक दिए । बाजिद अलीलाई इस्ट इन्डिया कम्पनीले अवधको नवाबीबाट बेदखल गरेर निर्वासनमा कलकत्ता पठायो । नवाबको साथ लागेर कलकत्तातिर बसाइ सर्ने ठूलो जमातमा हजरतको उपस्थिति थिएन । अंग्रेजहरूले छोरा बिरिजिस कद्रलाई लखनउको गभर्नर बनाएको हुँदा रानीको रुतबा फेरि बढ्यो । उनी पुनः ‘बेगम’ बनिन् ।
बेगम हजरत महलले जंगबहादुरलाई आजमगढ, आगरा र वाराणसीसमेत दिने प्रस्ताव गर्दै पत्र पठाएकी थिइन्, दुर्भाग्यवस बेगमका पत्रबाहक दूतहरू अंग्रेज सिपाहीद्वारा समातिए
सन् १८५७ को प्रारम्भमा हिन्दूस्तानका विभिन्न ठाउँमा इस्ट इन्डिया कम्पनीको विरुद्धमा विद्रोह सुरु भयो । अंग्रेज अफिसरहरूको निवासमा सिपाहीहरूले आगो लगाइदिए । लखनउमा ३५ हजार विद्रोही सिपाहीहरूले अंग्रेजी रेजिडेन्सीलाई घेरा हाले । कति गोराहरू मारिए, कति भागे र कतिपय बेपत्ता भए । त्यो विद्रोहको नेतृत्व बेगम हजरत महलले गरेकी थिइन् । उनले नवाब बिरिजिस कद्रको नाममा आप्mनो धर्म ( हिन्दू र इस्लाम दुवै) र देश बचाउन डटेर फिरंगीको सामना गर्ने आदेश जारी गरिन् । दिल्लीमा विद्रोहको दमन भएपछि उम्कन सफल विद्रोहीहरू पनि लखनउमै जम्मा भएका थिए । बेगमले सन् १८५८ को मार्चसम्म विद्रोहको नेतृत्व गरिरहिन् ।
अंग्रेजहरूलाई आच्छु आच्छु पार्न सफल त्यो विद्रोह बडो विकराल थियो । किन्तु, अंग्रेज शक्ति सितिमिति किन हार मान्थ्यो । भावुकताको लडाइँ गरिरहेका विद्रोहीमा दिमागी कसरत र स्थिरता थिएन । अंग्रेजहरू हृदयले नभई दिमागले लडिरहेका थिए । विद्रोह कमजोर हुँदै गएपछि हिन्दूस्तानी रजौटाहरूले जंगबहादुरसँग सहयोगका लागि नेहोरा गर्न थाले । चार दशकअघि नेपाललाई घोर विपद् पर्दा भीमसेन थापाको आह्वान नसुन्नेहरू शक्ति क्षीण भएपछि होसमा आएका थिए । उनीहरूले जंगबहादुरलाई प्रशस्त रकम दिने र लखनउको नवाब बनाउने प्रलोभनसमेत दिए । त्यो विषयलाई लिएर नेपाल दरबारमा भारदारहरूको बैठक बस्यो । भावुक राष्ट्रवादीहरू विद्रोहीको पक्षमा सैनिक सहयोग गर्ने पक्षमा गए । भावाडम्बरमा राष्ट्रवादी बन्न बडो सजिलो छ । त्यहाँ तर्क हुँदैन, तथ्य हुँदैन । वास्तविकतालाई स्वीकार अनि आप्mनो शक्ति र बरकतको ख्याल गर्नुपर्दैन । जति उग्र कुरा गर्यो, त्यति नै नामुद राष्ट्रवादी हुन पाइन्छ ।
त्यसको चार दशकअघि नेपाल–अंग्रेज युद्धको समयमा पनि भारदारहरूको त्यस्तै बैठक बसेको थियो । अमरसिंह थापालगायतका युद्ध मैदानको यथार्थ बुझेका पाका सेनानायकहरू तत्काल युद्धको पक्षमा थिएनन् । भरसक युद्ध टार्न राम्रो हुने उनीहरूको तर्क भावुक वीरताको अगाडि टिक्न सकेन । कुरा ढुंगो (तत्कालको बोलीमा राष्ट्र)को थियो । जति तर्क गर्यो, त्यति डरपोक र ढुंगाको विरोधी भइने । बैठकमा प्रधानमन्त्री भीमसेन थापाको कच्चा राष्ट्रवादको जित भयो । उनले देशको प्रधानमन्त्रीले जस्तो कुरा नगरेर भावनामा बग्ने एउटा कविले जस्तो कुरा गरेका थिए । किशोर राजा गीर्वाणयुद्ध विक्रम शाहको प्रशस्ति गाउँदै उनकै प्रतापले फिरंगी लखेट्न सफल भइने सपना देख्ने काम भयो । परन्तु, युद्धको मैदानमा त सपना र प्रताप लड्दैन ।
जंगबहादुरको भारदारी सभाले पनि निकै सपना देखेको थियो । विद्रोहीको पक्षमा सैनिक सहयोग गर्दै फिरंगी लखेटेर दक्षिण एसियाकै महाशक्ति बन्ने कल्पना आनन्ददायी थियो । सपना देख्नेहरूलाई बेलायती शक्तिको अनुमान थिएन । हिन्दूस्तानी रजौटाहरू कति लबस्तरा र अस्थिर छन् भन्ने थाहा थिएन । किन्तु, जंगबहादुर बेलायत भ्रमण गर्दा अंग्रेजी ताकतलाई आप्mनै हत्केलाले छामेर फर्केका थिए । उनी दिमागले सोचेर तर्कको आधारमा निर्णय गर्ने यथार्थवादी राष्ट्रवादमा विश्वास गर्थे । उनलाई थाहा थियो, हिन्दुस्तानी रजौटाहरूले बिचैमा धोका नदिएमा अंग्रेज शक्तिलाई छ महिनाका लागि निस्तेज पार्न सकिएला । तर, युरोपबाट थप शक्ति आएपछि टिक्न कठिन हुनेछ र हातमा भएको पनि गुमाउनुपर्नेछ । उनी बरु अंग्रेजलाई सहयोग गरेर सकेसम्म फाइदा उठाउने पक्षमा गए । १० डिसेम्बर १८५७ का दिन काठमाडौंबाट लखनउका लागि प्रस्थान गर्नुअघि उनले हृदयस्पर्शी भाषण गरेका थिए । उनको मूल उद्देश्य ढुंगो बचाउनु र बढाउनु थियो ।
अन्यत्रका विद्रोहहरू साम्य भएको भए तापनि लखनउ अझै पनि बहादुरीसाथ डटिरहेको थियो । बेगम हजरत महल हात्तीमाथि चढेर विद्रोहको नेतृत्व गरिरहेकी थिइन् । त्यसैबिचमा उनले नेपालका प्रधानमन्त्री जंगबहादुर राणा विद्रोह दमन गर्न ‘गोर्खा फौज’ लिएर आइरहेको खबर सुनिन् । प्रख्यात इतिहासकार रुद्रांशु मुखर्जी आप्mनो किताब ‘अवध इन रिभोल्ट’मा लेख्छन्, इस्ट इन्डिया कम्पनीले जंगबहादुर राणालाई विद्रोह दमन गर्न सहयोग गरेबापत लखनउ लुटको आधा हिस्सा र गोरखपुरलगायतका भूमि दिने कबुल गरेको थियो । त्यो कुरा थाहा पाएकी बेगम हजरत महलले जंगबहादुरलाई आजमगढ, आरा र वाराणसीसमेत दिने प्रस्ताव गर्दै पत्र पठाएकी थिइन् । दुर्भाग्यवश बेगमका पत्रबाहक दूतहरू अंग्रेज सिपाहीद्वारा समातिए (बीबीसी) । जंगबहादुरलाई रानीको प्रस्ताव थाहा नै भएन । नेपाली फौज अघि बढिरह्यो र छोटो प्रयासमै विद्रोह दमन ग-यो ।
इतिहासले पढाएका पाठ नबुझ्ने हामी भने भावावेशमा आएर कोही उत्तरको र कोही दक्षिणको प्रशंसा या निन्दामा लागिरहन्छौं
२५ मार्च १८५८ का दिन बेगम हजरत महल लखनउबाट भागेर नेपालको सिमाना नजिकै बहराइच पुगिन् । विद्रोहीहरू कोही भागे, कोही मारिए र कोही तितरबितर भए । रानीको साथमा बचेखुचेका केही विद्रोही र छोरा बिरिजिस कद्र मात्र थिए । पछि मराठा विद्रोही नेता नानासाहेब पनि त्यहीँ आइपुगे । केही उपाय नलाग्ने देखेपछि अन्ततः बेगमले नेपालमा शरण मागिन् । जंगबहादुरले उनलाई चुपचाप लागेर बस्ने शर्तमा शरण दिएका थिए । रानीलाई थापाथलीमा एउटा दरबारमा राखिएको थियो । पछि ब्रिटिस सरकारले उनलाई फर्केर आएमा पेन्सन दिने प्रस्ताव राखेको थियो । तर, बेगमले स्वीकार गरिनन् । बेगमको सन् १८७९ मा काठमाडौंमा मृत्यु भयो । नेपालमा आएर सायर (कवि) बनेका बेगमका छोरा बिरिजिस कद्र आमाको निधनपछि कलकत्ता गए ।
अब जिज्ञासा पैदा हुन्छ कि, बेगमको पत्र जंगबहादुरको हातमा पुगेको भए के हुन्थ्यो होला ? के जंगबहादुर रानीका तर्फबाट कम्पनीविरुद्ध लड्ने थिए होला ? कि चुपचाप आप्mनो फौज लिएर नेपालतिर फर्कन्थे ? अंग्रेज शक्तिलाई नजिकैबाट पहिचान गरेका जंगबहादुर न रानीको सहयोगमा उत्रने थिए, न त त्यसै फर्केने थिए । उनी विद्रोहको दमन गर्नमा नै सक्रिय हुने थिए । परन्तु, पत्र हातमा परेको भए उनको ‘बार्गेनिङ पावर’ बढ्ने थियो । जंगबहादुरले अंग्रेजलाई तर्साउन र घुक्र्याउन पाउने थिए । ‘यी हेर मलाई बेगमले पठाएको प्रस्ताव’ भनेर थप जमिन फर्काउन बाध्य पार्न पाउँथे ।
नेपाल–अंग्रेज युद्धको समयमा लखनउले कम्पनीलाई नेपालविरुद्ध आर्थिक र नैतिक सहयोग गरेको थियो । फलस्वरूप सुगौलीको सन्धिमा नेपालसँग खोसिएको धेरै जमिन नवाबले प्राप्त गरे । पत्र पाएको भए जंगबहादुरले अवश्य पनि गोरखपुरदेखि लखिमपुरसम्मको जमिनका लागि थप ‘बार्गेनिङ’ गर्नसक्ने अवस्था बन्ने थियो । उनी नयाँ मुलुक भनेर चिनिने हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर मात्र स्वीकार गर्न किमार्थ सहमत हुने थिएनन् । अंग्रेजहरू ती सबै जमिन दिन त अवश्य पनि राजी हुने थिएनन् । तथापि, गंगाको मैदानभन्दा उत्तरमा पर्ने तराईको उल्लेखनीय हिस्सा नेपालले प्राप्त गर्ने थियो ।






