अझै घटेन परनिर्भरता

नेपालमा पारिवारिक परनिर्भताको समस्या अझै घटेको छैन । बरु बढ्दै पो जाने हो कि भन्ने समस्याले च्याप्दै लगेको छ । यसले देशको उत्पादन तथा आर्थिक विकासका ठूलो नकारात्मक असर त पारेकै छ, पारिवारिक रूपमा पनि जटिल समस्या थपिरहेको छ । रामेछाप मन्थली नगरपालिका–९ पुराना गाउँकी ४० वर्षीया चमेली मगरको दुवै आँखा बन्द हुँदा पनि उनको थाप्लोमाथि सात छोरीहरूको हेरचाह गर्ने जिम्मेवारी जस्ताको त्यस्तै छ । दलानमा मकैको खोस्टा र चाउचाउका प्लास्टिक खोल च्यात्दै चकटी बुनेर बिक्री गर्ने दिनचर्यामा भिन्नता आउन सकेको छैन । अरूले हेर्दा आँखा देखेजसरी हातको काम गरिरहेको देखिए पनि उनले आँखा देख्न छाडेको १५ वर्ष भइसकेको छ तथापि उनी सात छोरीको हेरचाहमा खटिरहेकी छन् । चमेली नेपाली समाजको प्रतिनिधि पात्र मात्र हुन् । यस्ता धेरै नेपाली अहिले पनि हाम्रो समाजमा छन्, जो आपूmले लिएको पारिवारिक कार्यभार बाध्यताले निर्वाह गरिरहेका छन् । चमेलीको पनि छोरीहरूलाई पढाउने, घरव्यवहार धान्ने सबै जिम्मा उनकै काँधमाथि छ ।

हामी नेपालीको सौभाग्य अन्य विकसित भनिने देशका नागरिकको भन्दा कता हो कता स्वर्णिम र सम्भावनायुक्त छ । तर, हामीमा क्षमता र इच्छाशक्तिको कमी छ । विकसित देशहरूमा नागरिकहरूको जीवन पुस्तौं भाडामा लिइएका कोठाहरूमा बितिरहेको छ । उनीहरूसँग जमिन छैन, घर छैन, वस्तुभाउ छैनन् साथै जमिनको लालपूर्जा पनि ! तर हरेक नेपालीको साथमा जमिन छ, घर छ, वस्तुभाउ छन्, स्वामित्व पनि छ । विदेशीहरू यस्तो कुरा सुन्दा छक्क पर्छन् र नेपालीको पीडा र व्यथा सुनेर उल्टै आश्चर्यमा पर्छन् । हामीकहाँ सिप छैन, ज्ञान छैन र हरेकको आआप्mनो पेसा वा रोजगारी छैन । यसैले नै पारिवारिक परनिर्भतालाई बढाइरहेको छ । सेवाका हिसाबले आँखा नदेख्ने चमेली मगरलाई सामाजिक सुरक्षा भत्ता सरकारले उपलब्ध गराएको छ । तर, त्यसले चमेलीको परिवारको त कुरै छाडौं, चमेलीको पनि गर्जो टर्दैन । आवश्यकता छ, सिप अभिवृद्धि गरेर गरिनुपर्ने श्रमको, तर बाध्यता छ बिनासिपको श्रम गराइको । यो असंगतिपूर्ण अवस्थालाई सरकारले अन्त्य गर्न पहल गर्नैपर्छ । सिपका लागि नागरिक पनि हुरुक्क हुनैपर्छ ।

हरेकलाई सिप र सिपअनुसारको रोजगार वा स्वरोजगार हुनसकेमा मात्र परनिर्भरताको समस्यामा कमी आउनेछ । यो समस्यामा कमी आएमा कोही कसैले पनि अरूलाई जीवनपर्यन्त बाँच्न र बचाउनका लागि जिम्मेवारी लिइरहनु पर्दैन । चमेलीको जीवनचर्या सबै नेपालीका लागि पाठ हो र यही कुरालाई पाठका रूपमा लिएर सरकारले रोजगारी र स्वरोजगारीको अवसर निर्माण गर्ने हो भने यो देशका आँखा नदेख्ने चमेलीहरूले सिंगो परिवारको पारिवारिक भरणपोषणको जिम्मा लिइराख्नुपर्ने थिएन । यो कुरालाई सरकारले समयमै बोध गर्नुपर्छ । परनिर्भरता घटाउने उपाय योभन्दा उत्तम अरू केही पनि हुनसक्ने देखिँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

एक्स्ट्रिम इनर्जी ड्रिङ्क र नेपाली क्रिकेट टोलीका ९ खेलाडीबीच सम्झौता