सीटीईभीटीका तत्कालीन कामु निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सुर्खेतका तत्कालीन कामुनिर्देशक (कार्यालय प्रमुख) भीमकान्त लामिछानेसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित चामुण्डा माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि भनी फर्जी बिल बनाएर ३ करोड ४३ लाख रुपैयाँ अनियमितता गरेको अनुसन्धानमा खुलेपछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सरकारी सम्पत्ति हिनामिना गरेको अनुसन्धानबाट देखिएपछि कार्यालय प्रमुख लामिछानेसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

भण्डारीका अनुसार ११ जनाविरुद्ध जनही ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले लामिछानेसहित सोही कार्यालयका अर्का निमित्त कामु निर्देशक मोहनबहादुर कार्की, लेखा अधिकृत शिवराम रोकाया, चामुण्डा माध्यमिक विद्यालय दैलेखका प्रधानाध्यापक जयप्रसाद तिमिल्सेना, सोही विद्यालयका सहलेखापाल नरेशबहादुर शाही, विद्यालयका तत्कालीन अध्यक्ष नन्दबहादुर शाही, इलाइट इफ्रास्ट्रक्चरका सञ्चालक उपेन्द्रकुमार शाही, चामुण्डा–४ का स्थानीय धुपेन्द्रबहादुर शाही, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृत पदमबहादुर बुढा क्षत्री, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुर्खेतका तत्कालीन सहायक प्रशिक्षक गंगराज शाही र कर्णाली प्राविधिक शिक्षालय जुम्लाका तत्कालीन प्रशिक्षक हिराबहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको हो ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित चामुण्डा माध्यमिक विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकम अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सुर्खेतले बिनासूचना, बिनाप्रतिस्पर्धा एकैचोटि कार्यक्षेत्र, क्षमता, आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम सञ्चालनको अनुमति दिएको पाइएको थियो । चामुण्डा माविसँग सो सम्झौता गरिएको र विद्यालय आफैंले सञ्चालन गर्नुपर्ने तालिम इलाइट इन्फ्रास्ट्क्चर एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्ट प्रालिलाई दिई भ्रष्टाचार गरेको दाबी अख्तियारको छ ।

विद्यालय आफैंले अनुमति प्राप्त गर्नुपूर्व करारनामा गरी तालिम सञ्चालन गर्न दिएको भनी सम्झौता कागज तयार गरेको पाइएको छ । यसरी सम्झौता गर्दा कुनै सूचना प्रकाशन एवं प्रतिस्पर्धा नगरी सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् आर्थिक प्रशासनसम्बन्धी विनियमावली, २०६२ मा रहेका प्रावधानविपरीत बोलपत्रमार्फत् गर्नुपर्ने कार्य नगरी सिधै मिलेमतोमा तालिम सञ्चालन गर्न दिएको अख्तियारले जनाएको छ ।

छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुसार प्रशिक्षार्थी छनोट प्रक्रिया र तालिमका सहभागीको योग्यता तोकिएकोमा सो पालना नगरी सिधै निजी संस्थाले प्रशिक्षार्थी छनोट गरेको पनि अख्तियारले उल्लेख गरेको छ । छनोट कार्यविधिअनुसार मुख्य र सहायक प्रशिक्षक नतोकिएको देखिएको आयोगले जनाएको छ । तालिम सञ्चालनका लागि चाहिने सामान नै खरिद गरको नदेखिएकाले तालिम सञ्चालन गरेको भनी नक्कली तथा झुठ्ठा बिल भरपाइ कागजात पेस गरेर भ्रष्टाचार गरेको पाइएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो १ मतले विजयी भए…