इटहरी । इटहरीमा लागूऔषध र चोरीका सामानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार इटहरी २० तरहराबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धरान ११ बस्ने ३२ वर्षीय जोडन देवान र धरान १७ का १९ वर्षीय अशोक तामाङ रहेका छन् । चेकजाँचको क्रममा को ३२ प ५९२४ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको डीएसपी खड्काले बताए । उनका अनुसार मोटरसाइकलको सिटमा कालो प्लाष्टिकको झोलामा लुकाईछिपाई राखिएको अवस्थामा नाइट्रोसन १० लेखिएको ७८ पत्तामा ७८० ट्याबलेट बरामद गरिएको छ ।
अवैध लागूऔषधसहित पक्राउ परेका उनीहरूविरुद्व जिल्ला अदालत सुनसरीबाट लागूऔषध मुद्वामा म्याद थप भइ अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी उपमहानगरपालिका २० तरहराबाटै प्रहरीले चोरीका सामानसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी २० का किरण क्षेत्री र आशिष चौधरी रहेका छन् ।
क्षेत्रीले सञ्चालन गरेको कवाडी पसलमा चोरी गरेको ब्याट्रिसहित अन्य सामानहरूको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको डीएसपी खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार राठि कम्पनीको वाइरिङ तार बेच्दै गरेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको र उनले उक्त सामान चोरी गरेर बेच्न ल्याएको बताएसँगै यसअघिका सामान पनि चोरी गरेर बेचेको प्रहरीमा बयान दिएका थिए ।
सोही बयानका आधारमा अन्य सामानहरू कवाडी पसलमा बिक्री गरेको कवाडी पसल खानतलासी गरी सामान समेत बरामद गरिएको डीएसपी खड्काले जानकारी दिए । कवाडी पसलमा ब्याट्रि १४ थान, पानी तान्ने मोटर दुई थान, राठि कम्पनीका तार ८ प्याकेट लगायतका सामानहरू पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनामाथि जिल्ला अदालत सुनसरीबाट चोरी मुद्वामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।






