जनकपुरधाम । वाल यौन दुव्र्यवहारका घटना न्युनिकरणका लागि जनकपुरधाममा जागरण अभियान संचालन गरिएको छ । जनकपुरधामको विभिन्न विद्यालयमा अध्ययन गरिरहेका छात्राहरुले वाल यौन दुव्र्यवहार सम्बन्धि अनुभव आदानप्रदान गरेका छन् । यस सम्बन्धी पैरवी र कानुनी परामर्शले सचेतना बृद्धि भएको छ ।
‘वाल यौन दूव्र्यवहारका घटना प्रायःजसो बाहिर आउँदैनन् । कतिको त आफनै घरमा पनि भएको छ । कतिको विद्यालयमा पनि भएको छ तर छोरीबेटीकै इज्जत जाने डरले प्रहरीसम्म रिपोर्ट नै गराउँदैनन् । केहीले गराएपनि मधेश प्रदेशमा यसको संख्या कम छैन ।’ जानकी महिला जागरण समाजद्वारा जनकपुरधाममा आयोजित वाल यौन दूराचारको विरुद्धमा अन्तरपुस्ता पैरवी सम्बाद कार्यक्रममा सहभागि किशोरीले भनिन् ।
छात्रा अपरजिता झा भन्छिन ‘हामीलाई आफनो समस्या भन्न लाज लाग्छ जसको गलत फाइदा दुव्र्यवहार गर्नेहरु उठाइरहेका छन् ।’
छात्रा काजल ठाकुरले आफ्नोे साथी मसाला पिसाउन जाँदा छिमेका अंकलले दूव्र्यवहार गर्ने प्रयास गरेको बताइन् ।
अर्की छात्रा अन्नु ठाकुरले घरबाट निस्किने वितिकै पुरुषहरुले गलत नजरले हेर्ने गरेको भन्दै पुरुष मानसिकता नै दोषी रहेको आरोप लगाइन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार गत ३ आर्थिक वर्षमा ८४ वटा प्रदेशभरीमा घटना भएको छ । २०७६÷०७७ मा ३२ वटा जसमध्ये सिराहमा २, धनुषामा १, महोत्तरीमा २, सर्लाहीमा ८, रौतहटमा ५, वारामा १०, पर्सामा ४ वटा घटना भएको छ । यसैगरी २०७७÷०७८ मा ३५ वटा घटना भएको छ । सप्तरीमा ६, सिरहामा ६, धनुषामा २, महोत्तरीमा ३, सर्लाहीमा ६, रौतहटमा २, वारामा ३ र पर्सामा ७ वटा घटना भएको छ । यसैगरी २०७८/०७९ मा १७ वटा घटना भएको छ । सप्तरीमा ३, सिरहामा १, धनुषामा ३, महोत्तरीमा २, सर्लाहीमा २, रौतहटमा ५, र पर्सामा १ वटा घटना भएको छ ।
घटना’bout बेलैमा उजुरी दिए प्रहरीले कारवाहीलाई प्राथमिकतामा राख्ने प्रदेश प्रहरीको भनाई छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले घरमा, बाहिर र विद्यालयमा पनि यसप्रकारको घटना भइरहेकाले यसलाई रोक्न प्रहरीले अभियान चलाइरहेको बताए ।
घटना हुने वितिकै अभिभावकलाइ जानकारी गराए यस्ता घटना न्युनिकरणमा मद्दत पुग्ने स्थानीयको भनाइ । जनकपुरधामको संकटमोचन माविमा अध्ययनरत छात्रा शोभा शर्माले आफूसंग पनि यौन दुव्र्यवहारको घटना घटेको र आफू तत्काल अभिभावकलाइ जानकारी दिएको बताइन ।
अधिकांश महिलाहरुले आफ्नो बाल्यकाल र किशोरी अवस्थामा कुनै न कुनै प्रकारका यौन दुर्व्यवहारको सामना गर्नु परेको अनुभव शेयर गरे । आफ्नै बाबु, काका, फुफा, दाजु, भिनाजु, भाइ, साथी, प्रेमि र नातामा कोही नपर्ने पुरुषहरुबाट हुने यौन हिंसाका कर्तुतहरुलाई डर, धम्की, त्रास र लालसा देखाई गुमसुम बनाइदै आईरहेको सहभागीको भनाई थियो ।
शारीरिक मानसिक रुपमा अपरिपक्क यो अवस्थामा प्रतिकार गर्ने न साहस उनीहरुमा विकसित भैसकेको हुन्छ, न ज्ञान नै हुन्छ । अक्सर साहस बटुलेर जब आफन्तलाई बताउँछन्, त्यतिबेला साथ पाउनुको सट्टा कर, बल र लोकलाजका डरले इज्जतको हवाला दिएर मौन बस्न बाध्य बनाइन्छ ।
कानून यवसायी नवलकिशोर मण्डल अनुसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार बाल यौन दुराचार गर्न गराउन नहुने र कसैले करणीका आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अंग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिने प्रावधान रहेको छ । यौन दुव्र्यहारका घटना हुन नदिन घर परिवारले पनि आफ्ना बालबालिका सचेत गराउनु पर्ने प्रहरीको भनाई छ ।






