सन्दीपलाई विदेशबाटै पक्राउ गर्न बाटो खुला

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको आग्रहअनुसार इन्टरपोलले लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो । नोटिस जारीपछि इन्टरपोल सदस्य रहेका राष्ट्रबाट उनलाई पक्राउ गर्न सहज हुनेछ । इन्टरपोलमा १ सय ९५ देश आबद्ध छन् ।

इन्टरपोलको ‘डिफ्युजन नोटिस’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले लामिछानेविरुद्ध इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी भएको जानकारी दिए । ‘लामिछानेमाथिको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेकै छ, उनी विदेशमा रहेका कारण प्रहरीको आग्रहमा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको हो,’ केन्द्रीय प्रहरी प्रवक्ता राईले राजधानीसँग भने ।

लामिछानेले आइतबार साँझ मात्रै सामाजिक सञ्जालमार्फत ‘आफू अस्वस्थ भएका कारण आइसोलेसनमा रहेको’ बताएका थिए । उनले पछिल्लो घटनाक्रमले ‘आफू शारीरिक र मानसिक रूपमा विक्षिप्त भएकाले उपचाररत रहेको र केही समयमै नेपाल फर्किएर बलात्कारविरुद्धको मुद्दाको प्रतिवाद गर्ने’ बताएका छन् ।

इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी भएपछि ती सदस्य देशका प्रहरीले लामिछानेको खोजी गर्न बाटो पाएका छन् भने उनलाई भेटेमा पक्राउ गरी स्वदेश पठाउन सहज हुनेछ ।

यसअघि, लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी पाइसकेको छ । तर, प्रहरीले विदेशमा रहेका लामिछानेलाई पक्राउ गर्न असहज भएपछि इन्टरपोलमार्फत प्रक्रिया अघि बढाएको हो ।

लामिछोनेविरुद्ध १७ वर्षीया नाबालिग किशोरीले गौशाला प्रहरी वृत्तमा गत ५ भदौ राति बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले घटना अनुसन्धान थालेको थियो ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट लामिछानेलाई पक्राउ गर्न अनुमतिसमेत लिएको थियो भने देशका सीमा नाका र अन्तर्राष्टिय विमानस्थल तथा अध्यागमन कार्यालयलाई समेत प्रहरीले लामिछानेमाथि निगरानी राख्न भनेको थियो ।

प्रहरीले नेपाल फर्किएको अवस्थामा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गर्नेगरी समेत तयारीमा बसेको थियो । यसका लागि काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँगसमेत समन्वय गर्दै आइरहेको थियो । उनी स्थलमार्गबाट आए भने पनि जुनसुकै स्थानमा पक्राउ गर्ने गरी प्रहरीले तयारी गरिरहेको थियो ।

प्रहरीको इन्टरपोल शाखाका एक उच्च तहका अधिकारीका अनुसार लामिछानेका विषयमा अनुसन्धान गरिरहेको निकायले इन्टरपोलमार्फत समन्वय गरेरसमेत उनलाई विदेशबाटै पक्राउ गर्न सहजीकरणका लागि आग्रह गरेको जानकारी दिए ।

‘अनुसन्धान गरिरहेको निकायले माग गरे इन्टरपोलले सहजीकरण गरेर विदेशबाट लामिछानेलाई पक्राउ गर्न सक्छ, प्रक्रिया सोहीअनुसार अघि बढेको हो,’ इन्टरपोलका एक प्रहरी अधिकारीले भने ।

प्रहरीले आरोपीविरुद्ध परेको जाहेरीका आधारमा ‘डिफ्युजन नोटिस’ जारी गरेर स्वदेश झिकाउने प्रक्रिया अघि बढाउन सक्छ ।

त्यस्तै, आरोप पुष्टि हुने यथेष्ट प्रमाण पुगेको अवस्थामा भने लामिछानेमाथि ‘रेड नोटिस’ पनि जारी हुन सक्छ । तर, ‘रेड नोटिस’ जारी गर्न भने प्रहरीले आवश्यक प्रमाण पु¥याउनैपर्छ ।

यसअघि, प्रहरीले घटना अनुसन्धान क्रममा लामिछाने पुगेको नगरकोटको होटल र उनले रात बिताएको भनिएको काठमाडौं पिंगलास्थानको एक होटलको सीसीटीभी फुटेज लिइसकेको छ ।

प्रहरीका अनुसार सन्दीप दुवै ठाउँका होटलमा पुगेको सीसीटिभीबाट पनि पुष्टि भइसकेको छ । उनी गत ५ भदौ राति होटलमा ३०५ नम्बरको कोठामा पसेको र बिहान त्यहाँबाट निस्किएको पनि फुटेजमा देखिएको प्रहरी अधिकारीको भनाइ छ ।

लामिछाने किशोरीसहित राति ११ बजेर ५५ मिनेट जाँदा होटलमा पुगेका थिए । उनीहरू बिहान साढे ६ बजेतिर त्यहाँबाट फर्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

बलात्कार आरोप लागेका लामिछाने क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न जमैकामा पुगेका थिए । केन्यामा पाँचवटा टी–२० क्रिकेट खेलेपछि उनी जमैका गएका थिए ।

लामिछानेले केन्या जानु अघिल्लो दिन आफूलाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेको र राति होटलमा लगेर दुईपटक बलात्कार गरेको किशोरीको आरोप छ । लामिछानेले मादकपदार्थ पनि सेवन गरेको पीडितको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी