टिकट एउटा पार्टीबाट, उम्मेदवारी अर्कैबाट

काठमाडौं । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट पाएका केही उम्मेदवारले भने टिकट पाइसकेपछि आफ्नै दललाई ‘धोका’ दिएका छन् । यसरी धोका दिनेको सूचीमा एमाले स्थायी कमिटी सदस्य प्रभु साह र जनता समाजवादी पार्टी (जसपा) का सहसराम यादव छन् । उनीहरूको धोकाकै कारण दुवै दलले अर्का उम्मेदवार उठाउन पनि पाएनन् ।

एमालेबाट रौतहट निर्वाचन क्षेत्र नम्बर–३ को टिकट पाएका प्रभु साहले उम्मेदवारी भने सो पार्टीबाट नदिई स्वतन्त्रबाट दिए । जसपासँग गठबन्धन गरेकाले एमाले अपवित्र भएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनले जसपामाथि विभिन्न आरोपसमेत लगाएका छन् ।

‘एमाले पार्टीले देशमा एकता, समृद्धि गर्ने सम्भावना बोकेको थियो भनेर लागेका थियौं । जसपाजस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएपछि हामी असन्तुष्ट भएका थियौं । हामीले निरन्तर भनिरहेका थियौं कि यसले मधेस र देशमा पार्टीलाई घाटा हुन्छ,’ उनले भने, ‘कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउनुहुन्न भन्दा पनि सुनुवाइ भएन । मधेसको अस्थिर, साम्प्रदायिक शक्तिसँग साँठगाँट गरेको एमालेको टिकटबाट लड्यो भने त त्यसको बचाउ गर्नुपर्छ । महान् पार्टी हो उपेन्द्रजीको भन्नुपर्छ । गठबन्धन बनाइसकेपछि एमाले स्वच्छ रहेन, अपवित्र रह्यो । त्यो अपवित्रतामा सँगै हिड्न सकिँदैन भनेर स्वतन्त्र उठेको हुँ ।’

राससका अनुसार साहले जसपासँग गठबन्धन गरेका ठाउँमा आफ्नो समूहबाट स्वतन्त्र उम्मेदवार बन्न लगाएको बताएका छन् । साह २०६३ सालमा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० सालमा रौतहट–३ बाट निर्वाचित उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट रौतहट ३ बाट निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहको सांसद पद खारेज भएको थियो । एमालेमा लागे पनि उनी पटक–पटक असन्तुष्टि जनाउँदै आएका थिए ।

उता, कपिलवस्तुमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिन दलबलसहित निर्वाचन अधिकृतको कार्यालय हिडेका उम्मेदवार सहसराम यादव नै कांग्रेस प्रवेश गरेका छन् । उनले कांग्रेस प्रवेश गरेर कांग्रेसबाटै उम्मेदवारी दिएपछि जसपाले अर्काे उम्मेदवार उठाउने मौका पनि पाएन । उनी लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री समेत हुन् ।

एमाले र जसपाबीच लुम्बिनीमा तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा एमालेलाई र दुई प्रदेशसभा जसपाले पाउने सहमति भएको थियो । सोहीअनुसार आइतबार बिहान दुवै दल मिलेरै मनोनयन दर्ता गर्ने तयारीमा थिए । तर, जसपाबाट प्रदेश सभाका उम्मेदवार बनेका यादवले एमाले–जसपा गठबन्धनलाई धोका मात्र दिएनन्, उनको धोकाकै कारण यहाँको राजनीतिक समीकरणसमेत बदलिएको छ ।

यादव कांग्रेसबाट उम्मेदवार बनेपछि सत्तारूढ गठबन्धनको एक घटक एकीकृत समाजवादीले भने आपत्ति जनाएको छ । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले सो क्षेत्र आफूले पाउनुपर्ने दाबी गर्दै आएको थियो । त्यहाँ समाजवादीले फैजल खानलाई उम्मेदवार बनाएको छ ।

जसपा उम्मेदवार यादव कांग्रेसको उम्मेदवार बनेपछि एमालेले भने गठबन्धन तोड्दै आफ्नो उम्मेदवार उठाएको छ ।

उता, नेपाली कांग्रेस र एमाले दुवै ठूला दलले उम्मेदवारी नदिएपछि मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेद्वारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई हाइसन्चो भएको छ । तर, माओवादी केन्द्रले भने उम्मेदवारी दिएको छ । सो क्षेत्रमा कर्मा दोर्जे लामाको स्वतन्त्र उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिने लामा एमाले निकट व्यक्ति हुन् । मनाङे गण्डकीका बहालवाला युवा तथा खेलकुदमन्त्री हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 921 times, 1 visits today)

epaper

ताजा समाचार

तीन बुद्धिचाल खेलाडी संयुक्त शीर्ष स्थानमा